प्रधानमन्त्रीको लागि मधेशी मोर्चाले प्रचण्डलाई भोट नहाल्ने संकेत

बिहान भएको मौखिक सहमतिमा दुई चरणमा मधेस मुद्धा सम्बोधन गर्ने विषयमा तीनै पक्ष, माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशवादी दलका तर्फबाट कार्यदलमा सम्मेलित सदस्यहरुकाबीच भद्र सहमति भएको थियो । सोही सहमतिअनुसार उपेन्द्र यादव लगायतका नेताहरु प्रचण्डको उमेद्वारी दर्तामा समर्थक सम्म बस्न गएका थिए ।
तर मस्यौदा तयार पार्न गठित कार्यदलमा नेताहरुबीच सिमांकनको विषयमा सहमति नजुटेपछि अन्तत मधेशी मोर्चाले प्रचण्डलाई भोट नहाल्ने मनस्थितीमा पुगेको हो ।
सहमतिको बुँदालाई अन्तिम रुप दिन बसेको कार्यदलको बैठकमा गठबन्धनका प्रतिनीधिले सीमांकनको लागि अहिले नै पहिचान र सामथ्र्य किटान गरेर सीमांकन गर्नुपर्ने उल्लेख गर्न माग गरेपछि गरेपछि गठबन्धनले सहमति गर्न सकेन । तीनै पक्षका शीर्ष नेतृत्व समेत सहभागि भएर सहमतिको बिन्दु खोज्ने प्रयास गरेपनि सार्थक हुन नसकेको हो ।
बैठकमा कांग्रेस र माओवादीतर्फका सदस्यहरुले भने सीमांकनको लागि राजनीतिक संयन्त्रमार्फत नै सहमति खोजिनुपर्ने बताएका थिए ।
संघीय समाजवादी फोरमका अध्यक्ष एवं संघीय गठबन्धनका अध्यक्ष उपेन्द्र यादवले माओवादी कांग्रेस पहिचान मान्न तयार नै नभएका कारण सहमति हुन नसकेको बताए । उनले भने, ‘संसारमा पहिचान नभएका मानिस कहिंपनि हुँदैनन्, तर उहाँहरु पहिचान भन्ने शब्द सुन्नै चहानुहुन्न ।’
नेता यादवले आन्दोलनको मुख्य मर्म नै सम्बोधन नहुने भए सरकारलाई समर्थन नगर्ने स्पष्ट पारे । उनले भने, ‘बुधबार बिहानको बैठकमा केही भयो भने भैहाल्यो, नत्र अहिलेकै अवस्थामा प्रचण्डलाई समर्थन गर्न सकिंदैन ।’
मंगलबार सहमतिहुन नसकेपछि बैठक बुधबार बिहान पुनः ८ बजे बस्नेगरी नेताहरु छुट्टिएका छन् ।