नयाँ शक्तिले कार्यकारी राष्ट्रप्रमुखका लागि अभियान चलाउँछ : डा.भट्टराई

विरेन्द्रनगर । नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुखका लागि केन्द्रदेखि नै अभियान चलाउने बताउनुभएको छ ।
पार्टीको ६ नं. प्रदेशको बैठक तथा राष्ट्रिय भेलाको सम्प्रेषण तथा प्रशिक्षण कार्यक्रममा संयोजक भट्टराईले भन्नुभयो, ‘हामी प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुख र पूर्ण समानुपातिक व्यवस्थापिका संसदका लागि केन्द्रदेखि नै अभियान चलाउँछौं ।’ उहाँले पुराना शक्तिहरु सरकार बनाउने र गिराउने पुरानै खेलमा लागिरहेको भन्दै यसले मुलुक र जनताको जीवनस्तरमा कुनै तात्विक परिवर्तन ल्याउन नसक्ने बताउनुभयो ।
‘ओली नेतृत्वको सरकार ढल्यो, अब प्रचण्डको नेतृत्वमा सरकार बन्ला,’ उहाँले भन्नुभयो, ‘यसपछि शेरबहादुर आउलान्, त्यसपछि अर्का बहादुर आउलान् तर जनताको जीवनमा यो व्यवस्थाले केही परिवर्तन ल्याउन सक्दैन ।’
संयोजक भट्टराईले नयाँ शक्तिलाई जिउँदो माछासँग तुलना गर्नुभयो । ‘मरेको माछा पानीको बहावतिर मात्र बग्छ,’ उहाँले भन्नुभयो, ‘तर जिउँदो माछा आफ्नो इच्छा र आवश्यकता अनुसार पानीको बहावविरुद्ध पनि पौडन सक्छ ।’
नयाँ शक्तिप्रति विभिन्न कोणबाट हुने गरेका झूटा आरोपप्रति लक्षित गर्दै भट्टराईले भन्नुभयो, ‘बाटो हिंड्दा किनारामा कुकुरहरु भुक्छन्, हामीले ढुंगा हानेर समय बर्बाद नगरौं ।’ उहाँले नयाँ शक्तिले नयाँ विचारको विकास गर्न लागेकोले नयाँ कुरा सुरुमा सबैलाई अप्रिय र अनौठो लाग्न सक्ने धारणा राख्नुभयो ।
‘हामीलाई विचारविहिन भन्ने गरिएको छ,’ उहाँले भन्नुभयो, ‘हामीसँग दर्शन छ, त्यो भनेको सबै उन्नत ज्ञान, विज्ञान र दर्शनबाट पाठ सिकेर त्यो भन्दा उन्नत बनाउने लक्ष्यमा अगाडि बढ्नु हो ।’ उहाँले नयाँ शक्ति कुनै एक दर्शन र वादको सिमित घेरामा नअल्झने र यसलाई महाधिवेशनसम्म बहसमा लगेर एउटा निष्कर्षमा पुग्ने बताउनुभयो ।
नयाँ शक्तिले प्रत्यक्ष लोकतन्त्रको अभ्यास गर्दै हरेक नेतृत्व पार्टी सदस्यबाट प्रत्यक्ष निर्वाचित हुने व्यवस्था, गल्ती गर्नेलाई प्रत्याह्वानको व्यवस्थालगायतका केही नयाँ अभ्यास सुरु गर्ने बताउनुभयो । ‘अहिले को केन्द्रीय नेतृत्वमा पर्यो, को परेन भनेर चिन्ता नलिनुहोस्,’ उहाँले भन्नुभयो, ‘निर्वाचनमा गएपछि अहिले परेका मानिस भोलि नआउन पनि सक्छन् ।’ उहाँले जनता र कार्यकर्ताको मन जित्न मेहनतका साथ पार्टी काममा खटिन निर्देशन दिनुभयो ।
संयोजक भट्टराईले डेढ वर्षभित्र जसरी पनि निर्वाचन गर्नैपर्ने बताउनु हुँदै त्यसमा हजारौं पदहरु सिर्जना हुने भएकोले सबैलाई त्यसका निम्ति तयार हुन निर्देशन दिनुभयो । ‘जनतालाई संगठित गर्न लाग्नुहोस्, स्थानीय मुद्दाहरु उठाउनुहोस्, असल र सामाजिक मान्छेहरुलाई वैकल्पिक राजनीतिमा लाग्ने वातावरण बनाउनुहोस्,’ उहाँले नेता कार्यकर्तालाई प्रशिक्षित गर्दै भन्नुभयो, ‘सम्पूर्णरुपले निर्वाचनका लागि आफूलाई तयारी अवस्थामा राख्नबाट नचुक्नुहोस् ।’
कार्यक्रममा सहसंयोजकहरु रामचन्द्र झाले मधेस र राज्य पुनर्संरचना, दुर्गा सोबले महिला र सामाजिक संघसंस्थाबारे प्रशिक्षण दिनुभएको थियो भने संगठन विभाग प्रमुख देवेन्द्र पौडेल र विधान र संगठनबारे र परशुराम तामाङले राष्ट्रिय संयन्त्रबारे प्रशिक्षण दिनुभएको थियो ।