श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक श्रीमानलाई प्रहरीले पक्राउ

साउन ११, सप्तरीमा श्रीमतीलाई बलात्कार गरेको आरोपमा एक श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।
सप्तरीको कुशहा गाविस ७ बस्ने २५ वर्षका एक पुरुष श्रीमतीको इच्छा विपरीत यौन सम्पर्क गरेको आरोपमा पक्राउ परेका हुन् । पीडित पक्षले बलात्कार गरेको उजुरी दिएपछि आरोपित मंगलबार पक्राउ परेका हुन् ।
प्रहरी उपरीषक भीम प्रसाद ढकालले उनलाई सप्तरी जिल्ला अदालतबाट म्याद थप गराई जबरजस्ती करणी मुद्दा अन्तर्गत कारवाही प्रक्रिया अघि बढाइएको जनाएका छन् ।
प्राप्त घटना विवरण अनुसार गएको असार २५ गते राति ८ बजेतिर पंसेरा गाविस स्थित माइतमा रहेकी १८ वर्षकी पत्नीलाई रक्सीले मातेर आएका पतिले असहमतिका बाबजुद टेलिभिजनमा सिडिमार्फत अश्लिल फिल्म लगाई मानसिक र शारीरिक यातना दिँदै बलात्कार गरेका थिए ।
पीडित महिलाले रोई कराई गर्दै घटनाबारे अभिभावकलाई जानकारी गराएकी थिइन् । श्रीमानले पटक–पटक यस्तो घटना दोहोर्याउन थालेपछि पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गराएका थिए ।
प्रहरी टोलीले आरोपितलाई गाउँमै लुकेको अवस्थामा पक्राउ गरेको हो । सहज ढंगले ब्यवहार नगरी सहमति विपरित रक्सीले मातेर आउने र राक्षसी ब्यवहार देखाउँदै बलात्कार गर्ने गरेकाले बाध्य भई प्रहरीमा जानु परेको पीडित महिलाले बताएकी छन् ।