हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

वैकल्पिक राजनीतिक सिद्धान्त र यसको दिशा

-गनेस पौडेल

सन् १९३० को महामन्दीलाई निकासको गोरेटो दिने अर्थशास्त्री जेएम किन्स भन्छन्- ‘नयाँ विचारको विकास गर्नु जति सजिलो छ त्यो भन्दा कठिन छ पुरानो विचारबाट मुक्त हुनु ।’ निर्दिक्षा (अनलर्निङ)का कुरा बेलाबेलामा महापुरुषहरुले गर्छन् । बुद्ध, महावीरदेखि ओशोसम्मका धर्मगुरु मात्रै होइनन् विज्ञान, विचार र विश्वासको नवनिर्माणमा घोत्लिने जो कोहीले गर्ने पहिलो काम निर्दिक्षा हो । पुरानै गतिमा पुरानै बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न सकिन्न । नयाँ गन्तव्यका लागि कि नयाँ दिशा चाहिन्छ कि नयाँ गति । जीवनको शिक्षा, संस्कार, शैली सिक्नु जति गाह्रो छ सिकेको शिक्षा, संस्कार र शैलीलाई मस्तिष्कबाटै मेटिदिनु झन् कठिन हुन्छ । कतिपयका लागि असंभव नै हुन्छ । तर युगले विकल्पको माग गरेका बेला युग पुरुषले गर्ने भनेकै अस्वीकार हो । आफ्नै विगतलाई अस्वीकार नगर्नेले नयाँ दिन सक्दैनन् ।

संसारले सार्वभौम मानेका राजनीतिक मूल्यहरु फरक-फरक आन्दोलनले स्थापित गरेका हुन् । आत्मनिर्णयको अधिकारलाई अमेरिकी Ganesh-Poudelस्वतन्त्रता संग्रामले स्थापित गर्‍यो भने स्वतन्त्रता, समानता र भातृत्वलाई फ्रान्सको राज्य क्रान्तिले स्थापित गर्‍यो । उता रुसको अक्टोबर क्रान्तिले सामाजिक न्यायको अवधारणालाई बहसमा ल्यायो । यसरी राजनीतिका मूल्यहरू फरक-फरक आन्दोलनबाट स्थापित भएका छन् । यदि यी मूल्य सार्वभौमिक हुन् भने यिनमा आधारित राजनीति पनि सार्वभौमिक हुनु पर्ने हो । तर संसारमा कुन त्यस्तो राजनीतिक अभ्यास र राजनीतिक दल छ जसले सबै राजनीतिक मूल्यलाई सार्वभौम स्थापना गर्न सकेको छ ? वैकल्पिक राजनीतिको विचार यसकै रिक्तताको जराबाट पलाएको हो ।

गनेस पौडेल
गनेस पौडेल
राणाकालको अन्त्यदेखि गणतन्त्र वहालीसम्म भएको सात दशकको परिवर्तनका अवधिमा नेपालमा विभिन्न व्यवस्था परिवर्तन भएको भनिए पनि देशको खास राजनीतिक, आर्थिक र सामाजिक स्वभाव ज्यूँका त्यूँ भयो । संविधानसभामार्फन नयाँ संविधान बनेर राजनीतिक अधिकारप्राप्तिको एउटा श्रृङ्खला सकिएको परिप्रेक्ष्यमा देशले नयाँ अध्यायको माग गरिरहेको छ । यो अवस्थामा पनि हाम्रा दलहरूको राजनीतिक स्वभाव उस्तै छ । व्यवस्था चलाउने सरकारले हो । सरकार चलाउने दलहरुले हो । दल चलाउने नेता कार्यकर्ताले हो । नेता कार्यकर्ता चलाउने राजनीतिक चरित्र र स्वभावले हो । यसैले नेपालमा जति व्यवस्था फेरिए पनि, सरकार फेरिए पनि, नयाँ दल बन्ने, टुक्रिने र जोडिने क्रम चले पनि राजनीतिको आम चरित्र र स्वभाव फेरिन सकेन । व्यवस्था र सरकार फेरिए पनि राजनीति गर्नेको चरित्र र स्वभाव नफेरिएको हुनाले हामीले हाम्रो भविष्य फेर्न सकेनौँ । हामीले सपना त देख्न पायौँ तर सपनाको रुपान्तरण गर्न पाएनौंँ ।

वैकल्पिक राजनीतिको सैद्धान्तिक आधार
संसारभर जुनजुन देशमा लोकतन्त्र स्थापित भए तिनले निजी स्वतन्त्रताको मुख्य मूल्यलाई वकालत गरेर संविधान बनाए । निजी स्वतन्त्रताको त्यही मूल्यमा टेकेर राजनीतिले व्यक्तिका आर्थिक–सामाजिक लगायतका निजी मामलामा हस्तक्षेप गर्नु अलोकतान्त्रिक ठान्यो । अझ जतिसुकै असमान भए पनि व्यक्तिको सम्पत्तिको अधिकारलाई सुरक्षा दिनु राज्यले आफ्नो प्रमुख कर्तव्य ठान्यो । निजी स्वतन्त्रताको अर्थ विद्यमान असमानतालाई निरन्तरता दिइराख्ने अर्थबाट बुझ्दा जे समस्या देखापर्नु पर्थ्यो त्यसले त अहिले विकराल रुप लिन थालिसकेको छ । लोकतन्त्रको उद्देश्य अवश्य पनि आर्थिक असमानता र व्यक्तिका निहित स्वार्थको रक्षा गर्नु हुनुहुन्नथ्यो ।

हाम्रो हकमा सोच्दा गणतन्त्र, धर्म निरपेक्षता र संघियता प्राप्तिको उद्देश्य सामाजिक, आर्थिक, साँस्कृतिक, न्यायिक वितरणको स्थिति जस्ताको तस्तै राख्नु हुनसक्दैन । यदि समानताको झल्को अधिकार प्राप्तिमा देखिनु हो भने पूँजी र आयको समानतम वितरण लोकतन्त्रको अभिष्ट अधिकार हुनुपर्छ । यस्तो लोकतन्त्रको के काम जसले समान राजनीतिक अधिकार त दिन्छ तर आर्थिक र सामाजिक स्तरमा गहिरो खाडल निर्माण गर्छ ? दल खोल्ने, विचार राख्ने र भोट हाल्ने जस्तो राजनीतिक अधिकारको समानता र त्यसैको बलमा आय र पूँजीमाथि भएको केही व्यक्तिको वर्चश्व सुरक्षा गर्नु नै के लोकतन्त्रको खास काम हो ? भोको पेटले हालेको मत कत्तिको बलियो हुन्छ ? बलियाभन्दा बलिया लोकतन्त्र मानिएका देशमा पनि आय र पुँजीको केन्द्रियता चिन्ताको प्रश्न भएको छ । अभ्यासमा के देखिन थालेको छ भने कुनै पनि देशको राजनीतिक सत्ता सामाजिक र आर्थिक सत्ताले सञ्चालन गर्ने गर्छ । तर के हामीले खोजेको लोकतन्त्र यही हो त ? यिनै प्रश्नको समाधान नै अहिलेको संसारको टाउको दुखाई हो । यो टाउटो दुखाईको लागि खोजी गरिने एस्पिरिनबाट नै वैकल्पिक राजनीतिको सैद्धान्तिक आधार तयार हुन्छ ।

राजनीतिक विकल्प होइन वैकल्पिक राजनीति

जब हामी ‘विकल्प’लाई राजनीतिसँग जोडेर हेर्छौं त्यसले दुइटा शब्दावली बनाउँछ । एक : वैकल्पिक राजनीति । दुई : राजनीतिक विकल्प ।
विद्यमान राजनीतिक दलबाटै राजनीतिमा कुनै विकल्पको खोजी भएमा त्यो राजनीतिक विकल्प हो । पुरै राजनीतिक चरित्र र स्वभावमैं परिवर्तन गरी नयाँ कुनै दलबाट विकल्पको खोजी सुरु गरियो भने त्यो वैकल्पिक राजनीति हो । हामीले खासमा खोजेको परिवर्तन राजनीति गर्ने तरिकामा परिवर्तन हो । वैकल्पिक राजनीतिको मूल्य यसैबाट स्थापित हुन्छ ।

pokhara-youth-program

नेपालमा अहिलेसम्म भएका राजनीतिक उपलब्धीहरू राजनीतिक विकल्पको अभ्यासबाट प्राप्त भएका हुन् । परम्परागत दलहरूले लिने विकल्पको लाइनबाटै हालसम्मका राजनीतिक परिवर्तन भएका हुन् । संवैधानिका राजतन्त्रको हिमायती नेपाली काँग्रेसले गणतन्त्रको मागमा दोस्रो जनआन्दोलनको नेतृत्व नै गरेकै हो ।

तर अब हामीलाई त्यस्तो राजनीतिक विकल्पले हुँदैन । हामी राजनीति गर्ने आम स्वभाव र चरित्रमा नै परिवर्तन गरी समृद्धिको आकांक्षालाई पूरा गर्न चाहन्छौं भने वैकल्पिक राजनीतिको उद्घाटन हुनैपर्छ । नयाँ वैकल्पिक राजनीति भन्ने बित्तिकै सिद्धान्त, विचार, नीति, विधि, प्रक्रिया, पद्दति, योजना, कार्यक्रम, पार्टी संरचना, ढाँचा, कार्यशैली, संस्कार, संस्कृति, सौन्दर्यजस्ता समग्र आयाममा वैकल्पिकताको खोजी हो ।

मुलधारभन्दा फरक :

वैकल्पिक शक्ति भन्ने बित्तिकै ‘मुलधार अथवा संस्थापन’ शक्तिको अस्तित्व स्विकार गर्नुपर्ने हुन्छ । यो पनि स्वीकार गर्नुपर्छ कि कुनै पनि नदीको मुलधारमा धेरै पानी बगेको हुन्छ । वैकल्पिक राजनीतिक शक्ति समाज रुपान्तरणको विशिष्ट अवस्था देखापर्छ र यो शक्ति पनि कालखण्डमा मुलधारमा स्थापित हुने हो । यसैले पनि अहिले नै विकल्पलाई कमजोर शक्तिको रुपमा बुझ्नु परिवर्तनलाई आत्मसात गर्न नसक्नु हो । मूलधारमा जे प्रकारको राजनीति चलिरहेको छ त्यो भन्दा फरक र अझ राम्रो गर्नु पर्ने आवश्यकता र त्यस्तो आवश्यकताबोधले सृजना गर्ने दायित्व, चाहना नै वैकल्पिक राजनीति हो ।

साना काममा विश्वास :

व्यवस्थापन परामर्शदाता जोसेफ युरानले इटालियन अर्थशास्त्री भिलफ्रेडो परेटोको नाममा ‘परेटो प्रिन्सिपल’ सिद्धान्तको वकालत गरे जसले के भन्छ भने प्राकृतिक रुपमा संसारका ८० प्रतिशत असरहरू २० प्रतिशत कारणहरूबाट निर्देशित हुन्छ । भनाईको खास मतलव के हो भने हाम्रा १०० सामाजिक समस्यामा सबैभन्दा सजिला कुनै २० समस्यालाई हल गर्ने हो भने बाँकी ८० प्रतिशत समस्या त्यसैको असरस्वरुप आफैं समाधान हुन्छन् ।

वैकल्पिक राजनीतिले ठुल्ठुला असाध्य काम र कुरा गर्दैन । बरु स-साना कामबाट ठूलो असर सिर्जना गर्ने प्रयास गर्छ । हुन पनि कामभन्दा प्रभाव ठुलो भए मात्र समाजलाई आर्थिक विकासको विश्वास जगाउन र त्यसकालागि अग्रसर हुन उत्प्रेरित गर्न सकिन्छ ।

विचारको दास होइन, मालिक

संसारका सबै समस्याको हल कुनै एक मात्र विचार, विश्वास वा विधिले हल हुन्छन् भनेर सोच्नु मूर्खता मात्रै हो । त्यसैले वैकल्पिक राजनीतिले कुनै एउटा विचारलाई मात्रै सर्वोच्च विचार मान्न सक्दैन । संसारका जति पनि विचारहरु छन्, हामी त्यसको वकालत गर्न जन्मेका होइनौँ । खासमा हामी कुनै पनि विचारका दास होइनौँ बरु मालिक हौँ । समय, सन्दर्भ र समस्याअनुसार सबै विचारको समुचित प्रयोगबाट मात्रै मानवजातिको उच्चतम भलाई हुन सक्छ भन्ने विश्वास वैकल्पिक राजनीतिको विश्वास हो । बहुविचार, बहुविश्वास र बहुविधिको मुद्दाअनुकुल प्रयोग यसको निजत्व हो । विचार, नीति, योजना, कार्यक्रम, कार्यशैलीमा एकरुपता हुनु भनेको विविधतालाई अस्वीकार गर्नु हो । विविधताको स्विकारोक्ति र त्यसको सौन्दर्यको खोज वैकल्पिक कलाको मार्गदर्शक सिद्धान्त हो ।

खुसीवाद :

टमस जेफर्सनले ‘डिक्लेरेसन अफ् इनडिपेन्डेन्स’ एउटा शब्दाबली लेखे- लाइफ लिवर्टी एण्ड पर्सुट अफ् ह्याप्पिनेस’ । जीवन, स्वतन्त्रता र खुसीको खोज । खासमा मान्छे भएर बाँच्नु अनुभूति यिनै तीन कुरामा अड्केको सार्वभौम अनुभूति हो । खुसी भएर बाँच्न पाउने अधिकारले सबै अधिकारको एक साथ सम्बोधन गर्छ । सुकरातका चेला एरिस्टिपस मात्रै होइनन त्यसपछिका जिरमी बेन्थम जस्ता दार्शनिकहरूले सुख र दुःखलाई समग्र चेतना र क्रियात्मकताको दुई रुप मानेका छन् । सुखको खोज मान्छेको आदिम ईच्छा हो । यसैको प्रवर्द्धन नै खासको उद्देश्य हुनुपर्छ भन्ने कुरामा वैकल्पिक राजनीति सचेत हुनुपर्छ । खुसीवादीहरू सोच्छन् कि राजनीतिले समग्र मान्छेको खुसीलाई विशेष ध्यान दिनुपर्छ । मान्छेको अहम् र आत्मसम्मानमा कसरी ठेस लाग्दैन भन्ने बारेमा सचेत हुनु वैकल्पिक राजनीतिको वैशिष्ठ हो ।

हाम्रो युवा पुस्ता राजनीतिदेखि उदासिन छ । राजनीतिलाई फोहोरी खेल मान्छ । राजनीतिकर्मीलाई भ्रष्ट मान्छ । यसमा लाग्नु भनेको समाजसेवा गर्नु होइन बरु दादागिरी गर्नु हो भनेर बुझ्छ । यो बुझाईलाई गलत बनाउनु नयाँ शक्तिको चुनौति हो । राजनीतिलाई एउटा स्वच्छ समाजसेवाको रुपमा स्थापित गर्नु र ‘राजनीति गर्नु त रमाइलो र मानवीय काम पो हो !’ भनेर विश्वास जगाउनु आवश्यकता भएको छ ।

लेफ्ट – डेमोक्र्याटिक अर्थात् फ्रन्टिस्ट :

बाबुराम भट्टराई भन्छन्- लेफ्टिस्ट वा राइटिस्ट हुनु भनेको हामी कुन दृष्टिकोणबाट संसारलाई हेर्छौं भन्ने पनि कुरा हो । डेमोक्र्याटिक हुनु भनेको एकखाले नवउदारवादी चिन्तन लिनु हो । यसले व्यक्ति र उसको निजत्वलाई विशिष्ठ मान्छ । लेफ्टिस्ट हुनु भनेको समाजवादी चिन्तन राख्नु हो । यसले व्यक्तिलाई नभई समाजलाई र सामूहितालाई प्रधान मान्ने गर्छ । निजत्व र सामूहिकताको महत्ता दर्शाउने यी दुई दृष्टिकोणबीच चिन्तनबीच राजनीति मात्रै नभई समाजशास्त्र, अर्थशास्त्र, संस्कृति, सौन्दर्यशात्र सबै क्षेत्रमा बहस र प्रतिस्पर्धा पनि छ ।

वैकल्पिक राजनीति न वामपन्थी (लेफ्ट) मात्र हुन्छ, न लोकतान्त्रिक (डेमोक्र्याटिक) मात्र हुन्छ । बरु यो एकसाथ लेफ्ट–डेमोक्र्याटिक हुन्छ । संसारभर उभारमा रहेको वैकल्पिक राजनीति मुद्दा, रुझान र एजेण्डामा वामपन्थी गुण देखाउँछ भने विधि, पद्दति र व्यवहारमा लोकतान्त्रिक चरित्र प्रदर्शन गर्छ ।

उता डम्बर खतिवडाका विचारमा वैकल्पिक राजनीतिले देब्रे वा दाहिने खुट्टामा एकखुट्टे भएर हिँड्दैन । देब्रेतिर वा दाहिनेतिर ढल्किएर गन्तव्य बनाउँदैन । बरु दुबै खुट्टाको गतिशील सन्तुलनमा आागडि (फ्रन्ट)तिर हिँड्छ । यसलाई ‘फ्रन्टिस्ट’ भन्न सकिन्छ ।

विगत होइन जीवनकालिन आगत :

अंग्रेजीमा एउटा भनाई छ- देअर इज नो फ्युचर इन द पास्ट । अतित अर्थात् इतिहासको व्याख्या वा पुनर्व्याख्या प्राज्ञिक बहसका विषय हुन सक्लान् तर यसैको निर्देशनमा वर्तमान र भविष्यको राजनीतिको रेखा कोर्नु युवा पुस्ता र भावी पुस्तामाथि खेलवाड मात्रै हुन जान्छ । विगत आफ्नै विशिष्ट अवस्थाबाट गुज्रेको हुन्छ । वर्तमान र भविष्यको समाज र तिनको आवश्यकतालाई सम्बोधन गर्ने गरी र विगतलाई सम्मान गर्ने गरी राजनीतिक कार्यदिशा तय गर्नु नै वैकल्पिक राजनीति गर्नु हो । इतिहासको व्याख्या गरेर राजनीतिको नारा बनाउने र त्यही नारा भजाएर जनतालाई उद्वेलित गर्ने पुरानो राजनीतिलाई बन्द गरेर पूर्णतया वर्तमान र जीवनकालिन भविष्यबाट निर्देशित भएर काम गर्नु नै वैकल्पिक राजनीति हो । अतित अर्थात् इतिहासको व्याख्या/पुनर्व्याख्या प्राज्ञिक मर्यादाको विषय हुनुपर्छ, राजनीतिक बिषय होइन । सुदूर इतिहासको व्याख्याले अहिलेले राजनीति र समाजक विकासलाई प्रभावित गर्ने हो भने हामी कहीँ पुग्न सक्दैनौं ।

विगत मात्रै होइन, आगतमा पनि अति लामो कुरा गर्नु फट्याँई मात्रै हो । स्वर्ग, रामराज्य, साम्यवाद जस्ता अति सुदूर भविस्यका कुरा गरेर अहिलेको राजनीति हुँदैन । हामी हाम्रै जीवनकालमा समृद्धि प्राप्त गर्न चाहन्छौं र यो नै हाम्रो वैकल्पिक राजनीतिको मुल मुद्दा हो ।

नारा होइन काम :

परम्परागत राजनीतिको महत्वपूर्ण काम नै नारा पहिल्याउनु हुन्छ । समाजको समस्यालाई उत्खनन् गर्ने त्यसमा लोकतन्त्रको लेपन लगाइदिने र नारा उत्पादन गर्ने त्यही नाराको बलमा जनतालाई उकास्ने र आन्दोलन गर्न प्रेरित गरी आफ्नो अभिष्ट पुरा गर्ने चलल अब पुरानो भयो । अब नारा बनेछ भने पनि विग्रहको आन्दोलनका लागि होइन विकासको उत्प्रेरणाका लागि बन्छ । तर नाराभन्दा ज्यादा अब काम हुनुपर्छ । कामबाट दिइने सन्देश हजारौं पटक रटान गरिएको नाराभन्दा शक्तिशाली हुन्छ, हुनुपर्छ ।

सकारात्मक सोच :

वैकल्पिक राजनीतिले मुलधारका अर्थात् संस्थापन राजनीतिले पूरापूरा खत्तम गर्यो भनेर सत्तोसराप गर्दैन । समाजको रुपान्तरणका लागि इतिहासदेखि अहिलेसम्म भएका परिवर्तनका खातिर तिनीहरूले ठुलो गुन लगाएका छन् । त्यो गुनका लागि उनीहरूलाई धन्यवाद दिनुपर्छ । व्यक्ति र पार्टीभन्दा माथि उठेर मुद्दा विशेषमा केन्द्रित भएर गरिने स्वच्छ र व्यावसायिक आलोचना गर्ने बानीको विकासले नयाँ शक्तिलाई सकारात्मक सोचयुक्त पार्टी बनाउन योगदान गर्छ । राजनीतिलाई सेवा बनाउने, धर्म र विज्ञान दुवैबाट प्रमाणित योग–ध्यान आदि गर्न जनतलाई उत्साहित गर्ने आदि कामले पनि नयाँ शक्तिको सकरात्मक सोचको प्रवर्द्धन गर्ने विश्वास गर्न सकिन्छ ।

मेरिटोक्रेसीबाट परिणाममुखी राजनीति :

देशको राजनीति कुनै निश्चित परिवारको पुख्यौली पेशा वा परिचायक हुने अभ्यासबाट हामी धेरै लामो समय गुज्रियौँ । राजनीति गर्नु भनेको कुनै विशेष वर्गको, जातिको वा धर्मको काम हो भन्ने अन्धविश्वासमा नेपाले लामो इतिहास खर्च गरिसकेको छ । अब राजनीतिको बागडोर त्यसको हातमा हुनुपर्छ जो सक्षम छ, जोसँग भिजन छ, विचार छ । विद्युत कुन एकाईमा नापिन्छ ? भन्ने सामान्य ज्ञान नजान्ने उर्जा मन्त्री, ‘खरको हाँगा मात्रै काट्नू रुख नमास्नू’ भन्ने वनमन्त्री, साँवा अक्षर नचिन्ने सभासद आदिबाट देशको राजनीतिले कस्तो समृद्धिको खाका कोर्न सक्छ ?
‘राजनीतिमा यति बर्ष लागेँ, यति जेल खाएँ, घाइते भए, अपाङ्ग भए त्यसैले मलाई यो पद चाहिन्छ’ भनेर राजनीतिबाट पेशागत सुरक्षा खोज्नेबाट नयाँ शक्ति जोगिनु पर्छ । विज्ञता, विशिष्टता, कौशलताको आधारमा जिम्मेदारी बाँडफाँड गरेर मात्रै परिणाममुखी राजनीतिको शुभारम्भ हुनसक्छ ।

पेशा होइन सेवा :

हामीकहाँ विद्यार्थीकालबाटै युवालाई राजनीतिमा घिसार्ने र यसरी घिर्सिएको व्यक्तिले पुरै जीवनकाल राजनीतिलाई दिनुपर्ने अभ्यास छ । यसले गर्दा राजनीतिमा लागेको किशोर वा युवा कहिल्यै उत्पादनमुखी हुन नखोज्ने र राजनीतिलाई नै पेशाको रुपमा लिने काम हुनु स्वभाविक हुन जान्छ । कुन उमेरबाट कुन उमेरसम्म मात्र राजनीति गर्ने, कसरी गर्ने ? भन्ने स्पष्ट नीति बनाएर लागू गर्न सकेमा राजनीतिबाट बाहिर निस्कँदा पनि मान्छेले आफ्नो भविष्य सुरक्षित नै महशुस गर्छ । राजनीतिलाई जसले पुरै समय दिएको छ, त्यो भ्रष्ट हो भनेर बुझिहाल्नु पर्छ । त्यसले राजनीतिको प्रयोग गरेर भ्रष्ट कामबाटै परिवार पालेको छ भनेर बुझ्नु पर्ने हुन्छ ।

अन्य प्रकारका समाजसेवा जस्तै राजनीति पनि एउटा समाजसेवा हो भन्ने मान्यतालाई स्थापित गर्नु र त्यसबाटै परिचालित हुनु वैकल्पिक राजनीतिको विशेषता हो ।

मूल नारा आर्थिक समृद्धि :

आधुनिक कार्ल मार्क्स भनिने अर्थशास्त्री टमस पिकेटी आफ्नो पुस्तक ‘क्यापिटल इन द ट्वेन्टीफ्रस्ट सेन्चुरी’मा भन्दछन् कि यदि आन्तरिक लगानी प्रतिफल दर (Return on Investment, r) आर्थिक वृद्धिदर (Economic Growth Rate, g) भन्दा ज्यादा भयो भने त्यसले राष्ट्रिय सम्पत्ति निश्चित व्यक्तिहरुमा मात्रै केन्द्रीकृत गर्दछ । यी दुई बीचको फरक जति धेरै भयो त्यत्ति नै पुँजीको असमान वितरण हुने हो ।

आयको असमान वितरण र केन्द्रियतालाई रोक्न हामी लगानी प्रतिफल दरलाई रोक्न सक्दैनौँ । लगानीको प्रतिफललाई रोक्ने खोज्ने हो भने त्यसले निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्छ भएको अर्थतन्त्र पनि धरासायी हुन्छ । हामीले गर्न सक्न भनेकै तिव्रतर आर्थिक वृद्धि नै हो । लगानी प्रतिफल दरकै अनुपातमा आर्थिक वृद्धिदर हासिल गर्न सकेनौँ भने त्यसले धनी र गरिबबीचको खाडल झन ठूलो मात्रै बनाउने छ ।

बलिदान होइन, योगदान :

धर्मका नाममा, राष्ट्रियताका नाममा, विचारका नाममा, आन्दोलनका नाममा राजनीतिले मान्छेलाई बलिदान गर्न उक्सायो । सहिद हुन उत्तेजित गर्‍यो । आम मान्छेहरु सहिद भए, बाठाहरु नेता भए । अब सहिदीकरणको राजनीति अन्त्य हुनु पर्छ । मरेर होइन बाँचेर, जीवनलाई प्रेम गरेर मात्रै आफू, परिवार, समाज र राष्ट्रलाई खुसी दिन सकिन्छ भनेर हरेक नयाँ शक्तिका अभियन्ताहरुले बुझ्नु जरुरी छ । राजनीति एउटा सेवा हो भने यो बलिदानबाट होइन योगदानबाट पुरा हुन्छ भन्ने मान्यता राख्नु वैकल्पिक राजनीति हो । अब जीवन दिएर होइन, जतिसक्यो सक्षमतापूर्वक बाँचेर योगदान दिने राजनीति गरिनुपर्छ ।

सर्वव्यापी र सर्वकालीन विचार होइन समकालीन मुद्दा केन्द्रित :

जब हामी कुनै एक विचारको सर्वोच्चतालाई अस्विकार गर्छौ तब हामी समाजको खास समस्यामा प्रवेश गर्ने साहस राख्छौं भनेर बुझ्नुपर्छ । अबको राजनीतिमा कुनै एक अमुक विचारको सर्वव्यापकतालाई स्विकार गर्न सकिन्न । भोकोलाई चन्द्रमा देखाएजस्तो न कुनै आदर्श राज्य, साम्यवाद वा स्वर्गको चन्द्रमा देखाएर अवको राजनीति हुँदैन । अबको राजनीति अनुसन्धानमा विश्वास गर्ने हुनुपर्छ । विगतका अनुभव होइन वर्तमानका प्रमाणका आधारमा समाजका वर्तमान समस्या समाधानमा केन्द्रित भएर राजनीति हुनुपर्छ । के नयाँ शक्तिले लिएको क्लस्टरमा आधारित समानुपातिक सहभागितामूलक राजनीति र मेरिटोक्रेसीको अभ्यास एउटै विचारबाट लागू गर्न सकिन्छ ? सकिन्न । त्यसैले वैकल्पिक राजनीतिले विचारको सेवा गर्दैन, समकालिन समाजिक समस्याको समाधानका लागि जुन विधि र विचार ठिक छ त्यही लिन्छ ।

प्राकृतिक स्रोत–साधनको जतिसक्दो कम प्रयोग :

वैकल्पिक राजनीति हरित राजनीति हो । हाम्रो विकास र व्यवहार पर्यावरण मैत्री हुन सकेन भने त्यो वैकल्पिक राजनीति हुनै सक्दैन । नयाँ शक्तिका हरेक कार्यक्रमका दौरान फोहोरको समुचित व्यवस्थापन गर्ने अभ्यास यसको उदाहरण हो । आर्थिक विकासका लागि प्राकृतिक स्रोत र साधनको अधिकतम प्रयोग गर्ने भन्ने सिद्धान्त परम्परागत सिद्धान्त हो । हामीले आर्थिक विकास त तिव्र रुपमा नै गर्नुपर्छ, तर पर्यावरणलाई असर पुग्ने गरी गर्नु हुँदैन । प्राकृतिक स्रोत साधनको कमभन्दा कम प्रयोग हुने प्रकारका आर्थिक क्रियाकलापमा जोड दिनु नै हरित राजनीति हो ।

रोल मोडल जस्तो नेतृत्व :

हामीले कस्तो समाजको निर्माण गरेका छौ भनेर मूल्याङ्कन गरौँ । इमान्दार, सदाचार र चाकरीमा होइन कर्ममा विश्वास गर्ने व्यक्ति बाँच्नै नसक्ने अवस्थामा पुगिसकेको छ । हामी यस्तो मुलुकमा छौं जहाँ भ्रष्ट भएर बाँच्नु सजिलो छ, इमान्दार भएर बाँच्न गाह्रो । काम नगरी खान र कमाउन सजिलो र काम गरेर खान कठिन छ ।

वैकल्पिक राजनीतिमा लाग्ने नेतृत्व रोल मोडल जस्तो हुनुपर्छ । यस्तो हुनु पर्छ कि आम चुनावमा जनताले राम्राहरूमध्ये एउटालाई चुन्न पाउन् । नराम्रामध्येको सापेक्षिक राम्रोलाई होइन, राम्रै राम्रामध्ये झन राम्रोलाई भोट हाल्न पाउन् ।

नयाँ शक्तिका निर्माणकै क्रममा भएको हुनाले यसमा अवसरको खोजी गर्दै भ्रष्ट, बेइमान र नैतिकहलाल मान्छेहरु पनि प्रवेश गरेको कुरा अनुमान गर्न सकिन्छ । यस्ता व्यक्तिको पहिचान गरी तिनीहरुलाई रुपान्तरण गर्ने जोखिम उठाएर होइन जतिसक्दो चाँडो विदाई गरेर पार्टीलाई सदाचारीहरुको दल बनाउन जरुरी छ । ‘यो मेरो नेता हो’ भनेर गर्वसाथ भन्न सकिने मान्छे छैन भने त्यसले नेतृत्व लिएर के काम ?

संघियता अकाट्य भैसकेको वर्तमान परिप्रेक्ष्यमा नेतृत्वको वितरण पनि वैकल्पिक राजनीतिको मुख्य पाटो हो । हाम्रा रोल मोडल नेतृत्वको विकास काठमाडौमा होइन हरेक प्रदेशहरुमा हुनुपर्छ ।

आंशिक सत्यमा विश्वास :

वैकल्पिक राजनीतिले कुनै एक सत्यलाई अन्तिम सत्य मान्दैन । कुनै एक केन्द्रलाई अन्तिम केन्द्र मान्दैन । जब हामी मानिसको विचार, रुचि, क्षमता, ज्ञान, परिवेश, संस्कृति, परम्परा, धर्मको विविधतालाई स्वीकार गर्छौँ भने तिनका आ–आफ्ना सत्यलाई पनि स्वीकार गर्नुपर्ने हुन्छ । हामीले जे-जे कुरालाई सत्य मानेका छौँ खासमा ती आंशिक सत्य मात्रै हुन । तर जब धेरै आंशिक सत्यहरु एक ठाउँमा हुन्छन् हामी सत्यको नजिक पुग्न सक्छौँ । सत्य पहिचानको यही विधि नै अनुसन्धानको उपयुक्त विधि हो । यसबाट मात्रै हामी समाजका समस्यालाई सम्मानपूर्वक सम्बोधन गर्न सक्छौं भन्ने विश्वास वैकल्पिक राजनीतिकर्मीमा हुनुपर्छ ।

पार्टी होइन एजेण्डा :

कतिपयले सोध्ने गर्छन् नयाँ शक्ति सत्ता पुग्दै पुगेन भने आर्थिक समृद्धिको नारा कता जान्छ ? तर वैकल्पिक राजनीतिमा विश्वास गर्नेले पार्टीमा होइन खासमा एजेण्डामा विश्वास गर्नु पर्छ । हामीले राखेका परिवर्तनका एजेण्डा विद्यमान परम्परागत पार्टीहरुले नै उठाए भने त्यसलाई इमान्दारीपूर्वक सहयोग र समर्थन गर्नु पर्छ । खासमा नयाँ शक्तिका एजेण्डाहरू नेपालका सबै पार्टीले उठाउन थाले भने हामीले खोजेको हाम्रै जीवनकालको समृद्धि झन चाँडो सम्भव हुनजान्छ । अन्य समाजिक समस्याको समाधान पनि झन् चाँडो हुन जान्छ ।

‘मैले गरे मात्रै त्यो काम हो, अन्यथा होइन’ भन्ने अहम् पाल्ने मान्छे वैकल्पिक राजनीतिको स्पिरिट बुझेको मान्छे होइन ।

सुशासन र विकास :

सुशासनबिना विकासको परिकल्पना गर्न सकिँदैन । राज्यका संयन्त्रहरूमाथि घटिया राजनीति गरेको कारणले सुशासन कतै छैन । शिक्षा क्षेत्रमा भागबण्डा छ, प्राध्यापकहरू अनुसन्धान र अध्यापनमा होइन चाकरीमा दिमाग खियाउँछन् । सरकारी कर्मचारी जतनाको अगाडि मालिकको व्यवहार गर्छन् तर राजनीतिक दलको नेताको अगाडि लम्पसार पर्छन् । विकासका लागि छुट्टिएको २० प्रतिशत बजेट पनि खर्च गर्न सक्ने हैसियत ब्यूरोक्रेसीसँग छैन । गरेको खर्चमा पनि चरम भ्रष्टाचार छ ।

सुशासन नहुनुको प्रमुख कारण चरम राजनीतिकरण हो भन्ने विश्वासमा नयाँ शक्तिले सरकारी कर्मचारी, शिक्षक र प्राध्यापकलाई आफ्नो राजनीतिमा नसेमट्ने निर्णय गरेको हो । यो युगान्तकारी राजनीति हो जसले सबै परम्परागत राजनीतिक दललाई पनि ठूलो दवाव दिएको छ ।

व्यक्तिमा होइन समुहमा विश्वास :

परम्परागत दलहरूमा सिमित नेताको एकाधिकार छ । जीवनपर्यन्त राजनीतिमा सक्रिय रहने र नेतृत्व तहमा बस्ने बुढो नेतृत्वले परिवर्तनलाई स्वीकार गर्न सक्दैन । संसार कता पुगिसक्यो र समाजको आकांक्षा कुन तहमा छ भनेर मूल्याङ्कन गर्न समेत नसक्ने बुढाहरूलाई समृद्धिको खास चासो हुन्छ भनेर कसरी विश्वास गर्ने ?

वैकल्पिक शक्तिले कुनै एक व्यक्तिको देवत्वकरण गर्दैन । उसको हिरोगिरीमा विश्वास गर्दैन । कुनै एक नेताको महान विचारमा पार्टीको जन्म भयो भन्ने मान्यता यसले राख्दैन । नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईको विचारले जन्मेको पार्टी होइन । यसका एक लाख ज्यादा संस्थापक छन् भन्ने कुरा हामीले बिर्सनु हुँदैन । कुनै स्थापित विचार वा सिद्धान्तले नभई सामूहिक निर्णयले कुनै पनि मुद्दाको व्याख्या र समस्या समाधान गर्ने विधि अपनाउने विधि नै वैकल्पिक राजनीतिक विधि हो ।

पारदर्शिता :

नेपालका परम्परागत दल चल्ने आर्थिका स्रोत के हो ? किन समाजले डन, माफिया, भ्रष्ट भनेर प्रश्न गरेका व्यक्तिहरूलाई छानी छानी सभासद र मन्त्री बनाउन नेपालका सबै दलहरू रिले दौडमा हिँड्छन् ? नेपालका राजनीतिकर्मीको घर गृहस्थी चल्ने आर्थिक स्रोत के हो ? कुन चाँहि राजनीतिक दलले बर्षेनी अडिट गर्छन् र त्यही आम्दानी र खर्च अनुसारले खासमा पार्टी पनि चलेको हुन्छ ? हजारौं पूर्णकालीन कार्यकर्ताहरू पेशा, व्यवसाय र ब्यापारबिना नै कसरी खर्चको जोहो गरिरहेका छन् ?

उत्तर सपाट छ । विद्यमान राजनीतिक दल भ्रष्ट छन् । पारदर्शी छैनन् । नयाँ शक्तिको मुख्य एजेण्डामध्ये एक पारिदर्शिता हुनुपर्छ ।

विधिको शासन :

नेपालका परम्परागत सबै पार्टीहरूले एक प्रकारको भ्रष्ट पद्दति बसालिसकेका छन् । नेपालको सन्दर्भमा विधिको शासन भन्ने कुरा सुन्दै हाँसो उठ्छ कतिपयलाई । पद्दति भन्ने कुरा बसिसकेपछि त्यसलाई परिवर्तन गर्न लगभग असम्भव जस्तै हुन्छ । विद्यमान राजनीतिक दल र तिनको जस्तै राजनीतिक अभ्यासबाट बिग्रेको पद्दति सही बाटोमा ल्याउनेका काम त पूरै असंभव हो । उता पद्दतिको विकासबिना समृद्धिको सपना देख्नु हाँस्यास्पद कुरा मात्रै हुन्छ । यस अर्थमा पनि हामीलाई नयाँ संस्कारसहितको नयाँ दल चाहिएको हो । नयाँ शक्तिको एउटा मुख्य गुण पद्दतिको विकासमा केन्द्रित हुनु हो ।

पेशा होइन स्वयम्सेवा :

राजनीतिलाई पेशा होइन स्वयम्सेवा मान्नेबित्तिकै भ्रष्टाचार, पारदर्शितालयागतका समस्याहरु एकसाथ समाधान हुन्छन् । मान्छेलेले स्वयम्सेवा जीवनभर गरिरहन सक्दैन । आफ्नो जीवन धान्ने पेशा, व्यवसाय, जागिर वा उद्यमबाट उब्रेको समयलाई राष्ट्रिय हितमा प्रयोग गर्ने काम नै स्वयम् सेवाको राजनीति हो । राजनीतिमा कति समय खट्छ ? कहिलेदेखि राजनीति गर्‍यो भन्ने मूल्याङ्ककनका आधारले स्वयम्सेवाको भावनालाई समेट्न सक्दैन । राजनीतिक योगदानको कदर खटनका आधारमा होइन, कार्यक्षमताका आधारमा हुनेगरी व्यवस्था हुनु जरुरी छ ।

प्रत्यक्ष लोकतन्त्र :

संसारभर गरिएका पुँजीवादी लोकतन्त्रको अभ्यास अप्रत्यक्ष लोकतन्त्रको अभ्यास हो । प्रतिनिधिमुलक लोकतन्त्र हो । जनताले आफ्नो नेता आफैँ चुन्न नपाउने र जनता र नेताको बीचमा रिटेलर व्यापारी जस्तो प्रतिनिधि रहने यस्तो व्यवस्थाले गर्दा सारको सार्वभौमिकता जनतामा निहित हुन सकेन । जनतालाई प्रतिनिधित्व गर्ने पार्टीहरू हुने विश्वास गरिए पनि खासमा पार्टी प्रतिनिधिहरु भने नेताहरु हुन पुगे । जनताको अधिकारसिमित पार्टीले लिने र पार्टीका कमान केही सिमित नेताहरुले लिने भए ।

नेपालको सन्दर्भमा हेर्यौं भने प्रधानमन्त्रीको औसत कार्यकाल १ बर्षभन्दा पनि कम छ । अस्थिर सरकारबाट विकास र समृद्धिको सपना देख्न सकिन्न । त्यसैले पनि नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था हुने गरी संविधान संशोधन गर्नु पर्ने माग गरेको हो । यस्तै प्रत्यक्ष निर्वाचित नेतृत्व हुने गरी आफ्नो विधान पनि निर्माण गरेर नयाँ शक्तिले नेतृत्वलाई सिमित प्रतिनिधिप्रति होइन पूरा जनताप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था गरेको छ ।

प्रत्यक्ष निर्वाचित नेतृत्वको अर्को विशेषता भनेको राजनीतिभित्र गढेको सिण्डिकेटलाई तोड्नु पनि हो । परम्परागत पार्टीमा एकपटकको नेता सधैँको नेता भैरहने परिपाटी छ । उनीहरूले पार्टीको नेतृत्वमा अरु कुनै क्षमतावान व्यक्ति आउनसक्ने व्यवस्थालाई लगभल बन्द गरेको हुनाले यस्तो हुन गएको हो । जब हामी प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चुन्ने व्यवस्था गर्छौ स्थापित भनिएका तर जनताले नपत्याएका नेताहरुले अवकाश लिनु पर्ने हुन्छ भने जनताले विश्वास मानेका इमान्दार, उर्जावान र युवा नेतृत्व स्थापित हुने अवसर आउँछ ।

अन्त्यमा,
एउटा निश्चित तहसम्म सफ्टवेयर अपग्रेड गरेर कम्प्युटरलाई चुस्त राख्न सकिन्छ । तर जब सफ्टवेयरले अपग्रेड हुने तह नाघ्छ तब हार्डवयर नै फेर्नु पर्ने हुन्छ । सफ्टवेयर मात्रै होइन, हार्डवयरमा पनि नयाँ हुन जरुरी छ । सफ्टवयर अपग्रेड विकल्प हुन सक्दैन । तर नयाँ हार्डवयरका नामका पुरानै पाटपुर्जा जोडेर बन्ने एउटा एसेम्बल्ड कम्प्युटर हामीलाई मान्य छैन ।

हरेक चिजमा चुनौति र संभावना दुवै हुन्छन् । वैकल्पिक राजनीतिक दल स्थापना चुनौतिविहिन आन्दोलन होइन । तर यो आन्दोलन त्यस्तो अप्ठ्यारो अवस्थामा पनि छैन । राष्ट्रिय भेलापछि यसले जुन मोमेन्टम लिएको छ त्यो उत्साहजनक छ । आउने एकबर्षभित्र ५ लाख पार्टी सदस्य बनाउने र महाधिवेशनमा जाने नयाँ शक्तिको लक्ष्य नजिक गरी देखिन थालेको छ ।

तर नयाँ शक्तिमा केही व्यवस्थापकीय कमजोरी पनि देखिन थालेका छन् । हुन त जन्मनेबित्तिकै सबै व्यवस्थापन हुन्छन् भनेर बुझ्नु पनि हुँदैन । पार्टीभित्रको व्यवस्थापनको विरोध गरिहाल्ने बेला नभएको पनि हुनसक्छ । तर नयाँ शक्तिका नेतृत्वले पनि परम्परागत पार्टीकै नेताको जस्तो स्वभाव र व्यवहार देखाउन थाल्नु चिन्ताजनक छ ।

वैकल्पिक राजनीति भनेको इतिहासको खास समयमा हुने एउटा तरङ्ग हो । वैकल्पिक राजनीतिको तरङ्गले देशभर जुन विश्वासको उभार ल्याएको छ त्यसलाई सकुशल संगठित गर्न चुक्यौँ भने यो इतिहासप्रतिको घोर बेइमानी हुन्छ । नयाँ शक्ति वैकल्पिक राजनीतिको जन्म हो कि गर्भपतन हो भन्ने कुरा प्रमाणित भैसकेको छैन । त्यसलाई केको रुपमा प्रमाणित गर्ने त्यसको जिम्मा हाम्रो काँधमा छ । गाउँ/नगर पालिका र वडासम्मको संगठन निर्माण गरी पार्टी स्कुलिङ गर्ने र राष्ट्रव्यापि वहसको थालनी गरेर हामीले नयाँ शक्तिलाई साँच्चैको वैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापित गर्न सक्छौँ ।

आदिवासी र जनजातीप्रतिको मामलामा माओवादी समकक्ष व्यवहार; अनि पहिचानवादी आन्दोलनबाट स्थापित भएका आदिवासी जनजाति नेताहरूको सहभागिताले नयाँ शक्ति कतै पहिचानवादी पार्टी बन्ने त होइन ? भन्ने प्रश्न पनि जन्माएको छ । नयाँ शक्तिको देशव्यापि वहस र संगठनको प्रारमम्भिक चरणको बिस्तारमा संयोजक डा. भट्टराईले आफू समर्थित पूर्व माओवादी सञ्जालको व्यापक प्रयोग गर्नुभएको थियो । पहिलो चरणमा पार्टी पङ्क्तिमा उभिनेको लिस्ट पूर्व माओवादी साथीहरूको बाहुल्य देखेर प्रश्न उब्जेको पनि थियो, ‘कतै हामी माओवादीको अस्तिपञ्जरमा वैकल्पिक राजनीतिको सौन्दर्य थपिरहेका त छैनौं ?’

हामीले स्पष्ट बुझ्न जरुरी के छ भने विकास र समृद्धिको मुद्दा बोक्ने पार्टीको मुल स्पिरिट पहिचान हुन सक्दैन । मेरिटोक्रेसी हुन्छ । न कुनै अमुक दलको अस्तिपञ्जरमा मासु र छाला टाँसेर विकल्पको राजनीति असम्भव छ । नयाँ शक्तिले यी प्रश्नमा आफूलाई खरो उतार्दै लगेको आभाष गर्न सकिन्छ ।

महान चिन्तक भिक्टर ह्युगोको तलको भनाई सम्झेर आफ्ना कुराको बिट मार्छु । ‘संसारका सबै सिपाहीभन्दा पनि शक्तिशाली त्यो विचार हुन्छ जसको समय आएको हुन्छ ।’ विद्यमान दल र तिनको राजनीति गर्ने तरिकाबाटै समृद्धिको सपना साकार हुन सक्दैन । यसैले राजनीतिक विकल्पको विचार आएको छ भनेर बुझ्नुपर्छ ।

(नयाँ शक्ति निर्माणमा युवाको भूमिका राष्ट्रिय परिसंवाद कार्यक्रम, पोखरामा पौडेलले प्रस्तुत गर्नुभएको कार्यपत्र)






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution