क्यानाडामा नेपाली पहिचान झल्किने झाँकी प्रदर्शन

प्रत्येक बर्षको जुलाई महिनामा क्यानाडाको क्यालगरी सहरमा आयोजना गरिने स्टम्पिडमा यसपटक स्थानीय नेपाली समुदायले नेपाली परम्परा र पहिचान झल्किने खालको झाँकी सहित बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर आफ्नो सहभागिता जनाएको छ । नेपालका विविध संस्कृति र बेशभुषा झल्कने गरी विभिन्न पोशाकमा सजिएर समुदायका सदस्यहरू झाँकीमा उपस्थित भएका थिए भने स्थानीय कलाकारहरूले नेपालीको बीरता झल्काउने खुकुरी नृत्य लगायतका आकर्षक नृत्यहरू प्रदर्शन गरेका थिए ।
नेपाली प्रदर्शनीलाइ परेडमा उपस्थित बहुसांस्कृतिक समुदायले विशेष रुचिका साथ अवलोकन गरेको कुरा एन सी एस सीका अध्यक्ष ध्रुब राइले बताउनुभयो । दुइसय बर्षभन्दा लामो इतिहास बोकेको क्यालगरी स्टम्पिड दस दिनसम्म रोडियो, परेड, संस्कृतिक झाँकी, र नाचगान गरी मनाइन्छ ।
क्यालगरी स्टम्पिड संसारकै सबभन्दा ठुलो आउट डोर सो मानिन्छ जसमा संसारभरका झन्डै दश लाख मानिस सहभागी हुन्छन । क्यानाडामा भिजिबल माइनोरिटीको रुपमा रहेको नेपाली समुदायका तर्फबाट पहिलो पटक सहभागिता जनाउन पाउँदा नेपालीको सांस्कृतिक पहिचानलाई क्यानाडामा स्थापित गराउन थप मदत पुगेको र यसले नेपालको पर्यटन प्रवर्धनमा समेत अप्रत्यक्ष रुपमा टेवा पुर्याउने विश्वास गर्दै सी एन सी ए का अध्यक्ष दिव्य प्रधानले आगामी बर्षहरूमा पनि नेपाली समुदायको सहभागितालाई निरन्तरता दिने बताउनुभयो ।