माओवादी आक्रमणमा १० सुरक्षाकर्मी मारिए

श्रावण ५, २०७३- भारत विहारको औरंगावाद जिल्लामा सोमबार राति माओवादी लडाकु समूहले थापेको विद्युतीय धरापमा परी अर्धसैनिक बलका १० जवान मारिएका छन् ।
अर्धसैनिक बल सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) को जवाफी कारबाहीमा तीन लडाकु पनि मारिएका छन् । विहारका अपर प्रहरी महानिर्देशक सुनील कुमारका अनुसार माओवादीविरुद्ध कारबाहीमा रहेको सीआरपीएफको कोबरा बटालियन (कम्ब्याट बटालियन फर रिजोलुट एक्सन) को टोली विद्युतीय धरापमा परेको हो ।
उक्त घटना डुमरी गाउँनजिक सोन्दाहाको जंगलमा भएको हो । घटनास्थल विहारको राजधानी पटनाबाट एक सय ७० किलोमिटर दक्षिणमा पर्छ । घाइते जवानहरूलाई हेलिकप्टरबाट उद्धार गरेर अस्पताल पुर्याइएको छ ।
सीआरपीएफका सहायक कमान्डेन्ट सञ्जीव चौधरीका अनुसार गम्भीर घाइते तीन जवानलाई पटना ल्याइएको छ । अन्य दुईको उपचार गयामा भइरहेको छ ।
प्रहरीका अनुसार माओवादीले सीआरपीएफ टोलीलाई लक्षित गर्दै बारुदी सुरुङ थापेका थिए । त्यसमा परेका सुरक्षाकर्मीलाई घेरेर गोली बर्साएका थिए । केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले विहारका मुख्यमन्त्री नीतीशकुमारलाई फोन गरेर घटनाबारे जानकारी लिएका छन् ।
राज्यसत्ताविरुद्ध सशस्त्र विद्रोह घोषणा गरेको भारतीय माओवादीले उत्तर, पूर्वी र मध्य क्षेत्रका राज्यहरूमा बलियो प्रभाव बनाएको छ । उक्त पार्टीले कम्युनिस्ट सत्ता स्थापना, आदिवासीलाई अत्यधिक अधिकार र ग्रामीण गरिब जनसंख्याको जीवनस्तर उकास्ने आफ्नो सशस्त्र विद्रोहको उद्देश्य बताउने गरेको छ ।
सन् १९६० मा पश्चिम बंगालको नक्सलवारी इलाकाबाट सुरु भएको सशस्त्र कम्युनिस्ट विद्रोह भारतको मुख्य आन्तरिक सुरक्षा चुनौती बनेको छ । हालको भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले ठूलो क्षेत्रलाई ‘लाल करिडोर’ घोषणा गरेको छ, जसमा उत्तर, पूर्व र मध्य भारतका राज्यहरू पर्छन् । – बीबीसी