गतिरोधको समाधान खोज्न प्रमुख तीन दल ‘सहमत’

प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि संसदमा छलफल शुरु हुनुअघि नै नयाँ सरकारसम्बन्धी संवैधानिक अन्योल र बजेट अनुमोदन लगायत पछिल्ला राजनीतिक विवाद समाधानका लागि सहमति खोज्न प्रमुख तीन दल तयार भएका छन्।
अविश्वास प्रस्ताव दर्ता भएयता पहिलोपटक सोमबार एकसाथ छलफलमा बसेका कांग्रेस, एमाले र माओवादी केन्द्रहरुका शीर्षस्थ नेताहरुले केही दिनयताको संवादहीनता तोड्दै गतिरोध अन्त्यको प्रयास थालेका हुन्।
तर परस्परविरोधी अडानमा रहेका प्रमुख दलहरुबीच सहमति जुटाउन बिहीबार बिहानसम्मको मात्रै समय उपलब्ध छ, जुन दिन अविश्वासको प्रस्तावमाथि छलफल थाल्ने पूर्वयोजना छ।
संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमा छलफल शुरु गर्नका लागि संसद सचिवालयले बनाएको कार्यतालिका अनुरुपको दिन नजिकिदै जाँदा सोमबार प्रधानमन्त्री केपी ओलीले उक्त प्रस्ताव दर्ता गराउने दुई प्रमुख दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन्।
आग्रह
छलफलमा अविश्वासको प्रस्ताव दर्ता भए लगत्तै संसदमा प्रक्रिया अघि बढाइएकोमा असन्तुष्टि व्यक्त गरेका प्रधानमन्त्री ओलीलाई प्रचण्ड र देउवाले राजीनामा दिएर बाटो खोलिदिन आग्रह गरेको बताइएको छ।
अविश्वासको प्रस्ताव र राजीनामा एकसाथ जान नसक्ने प्रतिक्रिया दिएका प्रधानमन्त्री ओलीले सहमतिबाट निकास खोज्न आफू तयार रहेको धारणा राखेको उनलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले बताए।
उनले भने, “प्रधानमन्त्रीले दुबैजना नेतालाई राजीनामा र अविश्वास सँगसँगै जाँदैन, राजीनामा भनेको समझदारीमा हुने कुरा हो जबरजस्ती हुने कुरा होइन। अविश्वास भनेको कुरा बिग्रेको बेला गर्ने हो, तपाईंहरु दुईवटामध्ये कुन बाटो जान चाहेको भन्ने स्पष्ट पार्नुपर्यो भन्ने कुरा गर्नुभयो।”
प्रधानमन्त्रीले राजीनामा दिए बजेटसम्बन्धी बाँकी तीनवटा विधेयक पारित हुने र अन्य पूर्वसहमति पनि लागू हुने धारणा प्रचण्ड र देउवाले राखेको तर प्रधानमन्त्री ओलीले समझदारी नभए अविश्वास प्रस्तावको सामना गर्ने बताएको जनाइएको छ।
नयाँ सरकार गठनका लागि संवैधानिक जटिलताको प्रसंग पनि प्रधानमन्त्रीले दुई शीर्षस्थ नेताहरुसँग राखेको बताइएको छ।
समझदारी
बैठकपछि सञ्चारकर्मीहरुसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, “अविश्वास प्रस्ताव प्रस्तुत भएको सन्दर्भमा कसरी राजनीतिक दलहरुबीच समझदारी बनाएर जाने भन्ने विषयमा नै बढी केन्द्रित भएर छलफल भयो। अझै तीन दिन समय बाँकी छ, छलफल गर्दै राखौँ भन्ने भयो।”
बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै काँग्रेस सभापति देउवाले बैठकमा राम्रो कुरा भएको बताए।संसद सचिवालयले संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्नका लागि ६ गतेको समय तोकेको छ।यद्यपि अहिलेसम्म दलहरु आआफ्नो अडानबाट पछि हटने पक्षमा देखिएका छैनन्।
सोमबारको बालुवाटार बैठकले केही दिनयताको संवादहीनता तोडेर सहमतिको सम्भावनालाई जगाइदिएको विश्वास गरिएको छ, तर प्रमुख दलहरुले कति छिटो मिलनविन्दु खोज्छन्, त्यसले नै अहिलेको राजनीतिक गतिरोधको आयु निर्धारण गर्ने ठानिएको छ।