अमेरिका समक्ष सैन्य कू को आरोप लागेका गुलेनलाई फिर्ता पठाउन टर्कीको माग

२ साउन, काठमाडौं । टर्कीका राष्ट्रपति रेतप तैयप एर्दोआनले अमेरिकामा बस्दै आएका ७५ वर्षे धर्म प्रचारक फतहुल्लाह गुलेनलाई सुम्पन माग गरेका छन् ।
सैन्य कूको प्रयास असफल भएको २४ घन्टाभित्रै संसदको विशेष सत्र चल्यो र संसदबाहिर एर्दोआनले आफ्नो समर्थकहरुलाई सम्बोधन गरे । इस्तानबुलका विभिन्न ठाउँमा ठूलो संख्यामा राष्ट्रपतिका समर्थकहरु जम्मा भएका थिए । र, कूको प्रयास गर्नेहरुलाई फाँसी दिन माग गरिरहेका थिए ।
टर्कीको सरकारले गुलेनमाथि समानान्तर व्यवस्था स्थापनाको प्रयास गरेको आरोप लगाएको छ । अमेरिकाले भले यदि धर्म प्रचारक गुलेनविरुद्ध कुनै प्रमाण भए दिन टर्कीलाई आग्रह गरेको छ ।
अमेरिकामा बस्दै आएका ईस्लाम धर्म प्रचारक गुलेनले भने कूको प्रयास गरेको आरोप अस्वीकार गरेका छन् ।
सैन्य कूको प्रयास असफल भएपछि कयौं वरिष्ठ अधिकारीसहित २८३९ सैनिक गिरफ्तार भएका छन् । सरकारी सञ्चार माध्यममा आएको रिपोर्ट अनुसार २७४५ न्यायाधीशलाई पनि हटाइएको छ, जसमा उच्च अदालतका न्यायाधीश पनि छन् ।
टर्कीका प्रधानमन्त्री बिनाली यिल्दिरिमले सैन्य कूको प्रयास टर्कीको लोकतन्त्रिक इतिहासमा कालो धब्बा भएको बताएका छन् ।