डा. गोविन्द केसीको अनशनप्रति नयाँ शक्ति नेपालको ऐक्यवद्धता

३० असार २०७३ , काठमाडौं । चिकित्सा शिक्षाको क्षेत्रमा भएको विकृति, विसंगतिविरुद्ध प्रा.डा. गोविन्द केसीको अनशनप्रति नयाँ शक्ति नेपालले ऐक्यवद्धता जनाएको छ । संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति नेपालको टोली अनशनस्थल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर डा. केसीलाई भेटी उहाँको मागप्रति ऐक्यवद्धता जनाएको हो । डा. केसीलाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै संयोजक भट्टराईले चिकित्सा शिक्षाको क्षेत्रमा रहेको विकृति, विसंगति हट्नुपर्ने र माथेमा आयोगको प्रतिवेदनको सिफारिशहरुलाई कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
संयोजक भट्टराईले अहिले वर्तमान सरकारप्रति अविश्वास प्रस्ताव दर्ता भइसकेको र नयाँ सरकार नबनिसकेको अवस्थामा कसैले पनि जिम्मा नलिने खतरा रहेकोले डा. केसीको जीवनरक्षाका लागि सहज तरिका अपनाउनुपर्ने धारणा पनि उहाँले राख्नुभयो । डा. केसीले आफ्नो माग पूरा नभएसम्म अनशन नतोड्ने पनि बताउनुभएको थियो ।
नयाँ शक्ति नेपालको टोलीमा सहसंयोजक महेश कर्मोचा, रामचन्द्र झा, प्रवक्ता खिमलाल देवकोटा लगायत हुनुहुन्थ्यो ।