नेपाली कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवा विरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेल आक्रोसित

काठमाण्डौ, २९ असार – नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी भएको सात बुँदे सहमति अनुमोदन गराउन बोलाईएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवा विरुद्ध बरिष्ठ नेता रामचन्द्र पौडेलले आक्रोसित भएको खबर छ ।
माओवादीसँग भएको सात बुँदे सहमतिलाई लिएर पौडेल देउवा विरुद्ध खनिएका हुन् बैठकमा सहभागी एक नेताले भने । गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाले यस्ता महत्वपूर्ण विषयमा पार्टीका प्रमुख नेताहरुसँग कम्तिमा छलफल गर्थे तर तपाईले त कसैसँग छलफल नगरी सात बुँदे सहमति गर्नु भयो, यो के गरेको भन्दा देउवा नाजवाफ भएका थिए उनले भने। कम्तिमा पदाधिकारीहरुसँग त छलफल गर्नु पर्दथ्यो, सशांकजी विरामी हुनुहुन्छ उहाँको बैठकमा कुरा सम्म उठाउनु भएन पौडेलले भने।
हिजोका दिनमा ’कोइरालाले एकलौटी गरेर निरकुंश भए भनेर विरोध गर्ने तपाई नै होईन ? अहिले तपाईले यो के गरेको ? तपाई त उनीहरु भन्दा पनि निरकुंश हुनु भयो नि’ भनेर आक्रोस समेत पौडेलले पोखेको स्रोतले बताएको छ ।
उनले सरकार ढाल्ने विषयमा आफुहरुको आपत्ति नभए पनि पार्टी संस्थागत रुपमा चलाउन नसकेको र पार्टीलाई एउटा पद्धति र विधीबाट सञ्चालन नगरेको आरोप पनि लगाए । जवाफमा देउवाले यस्तो कुरा बाहिर आउँदा सहमति हुन नसक्ने स्थिति भएकोले यसो भएको भनेका थिए।