केपी ओलीलाई ३ वटा प्रश्न

माननीय कमरेड केपी ओलीजी,
आज सिंगो देश प्रश्नको खातमा उभिएको छ । खै कुन्नि तपाईं ती प्रश्नहरूमा कत्तिको पो चासो राख्नुहुन्छ । तपाईंले चासो राखे पनि नराखे पनि इतिहासको यस घडी उठेका प्रश्नहरूले तपाईंलाई चासोको तराजुमा भने अवश्य राखेका छन् । किनभने तपाईं त्यो पार्टीको अध्यक्ष र संसदीय दलको नेता हुनुहुन्छ, जो अहिले संविधान निर्माणको मामिलामा निणर्ायक भूमिकामा छ र सरकारमा पनि । कान्तिपुरमा आइतबार प्रकाशित अन्तर्वार्तामा उल्लेख गर्नुभएको धारणालाई समेत दृष्टिगत गरी यहाँ म तपाईंलाई केही आधारभूत प्रश्नसँग भेट गराउने धृष्टता गर्दैछु ।
पहिलो प्रश्न: किन भए विद्रोह र आन्दोलन ?
पछिल्लो बीस वर्षमा यो देशमा केही महत्त्वपूर्ण विद्रोह र आन्दोलन भए । माओवादी जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी/जनजाति आन्दोलन आदि । मलाई थाहा छ, तपाईं यी कुनै विद्रोह र आन्दोलनमा हुनुहुन्नथ्यो । तपाईंका निम्ति माओवादी सुरुमा गुलेली खेलाउन रहर लागेका ‘केटाहरू’ थिए र पछि ‘आतंककारी’ भए । दोस्रो जनआन्दोलनमा गणतन्त्रको नारा लगाउने जनता ‘गोरुगाडा चढेर अमेरिका जान खोज्ने’ मूर्खहरू थिए । मधेसीहरू व्यर्थै मधेस ‘आन्तरिक उपनिवेश’को सिकार भयो भन्छन् । आदिवासी/जनजाति त ‘जातिवादी’ भैहाले । पुरुष बराबर पैतृक सम्पत्ति र परिवारमा अधिकार माग गर्ने महिलालाई भन्नुहोला- रुखका हाँगामा चढ्यो भन्दैमा बाँदरले चराजस्तो उड्न खोजेर हुन्छ ? देशको शासनमै ठाउँ खोज्ने दलितलाई भन्नुहोला- उप|mेर कुर्सीमा चढ्यो भन्दैमा भ्यागुता प्रधानमन्त्री हुनसक्छ ?
तपाईंका टुक्कामै त छन्, तपाईंका विचार पनि । म पनि तपाईंका टुक्काको फ्यान हुँ । तर कमरेड, इतिहास पनि कम दिलचस्प हुँदैन । झापा आन्दोलनमा तपाईं पनि हुनुहुन्थ्यो । सायद थुप्रै राजवंशी र सन्थालका घरमा ‘सेल्टर’ पनि लिनुभएको थियो । तपाईंसँगै आन्दोलनमा लागेका डिकेन्द्र राजवंशीले बल्खुस्थित पार्टी मुख्यालयमै आएर आत्महत्या गर्दा तपाईंलाई एउटा विस्मृत कमरेड मरेजस्तो लाग्यो कि एक आदिवासी ? झापाकै कवि लीला उदासीको एउटा कविता छ- यो झापा हो । तपाईंले पढ्नुभएको छ ? हो, त्यही कवितामा झापाका आदिवासीलाई जालझेल र किर्ते गरेर भूमिहीन/कंगाल पारिएका प्रसंगहरू पनि छन् । उदासी लेख्नुहुन्छ ः
जो आए, जेसुकै पाए
पापा पाए/चाचा पाए
वरदान पाए/मान पाए/सम्मान पाए
हो, आउनेले नै झापा खाए ।
आदिवासीका यी दर्दनाक कहानीकै बीचबाट तपाईं आउनुभएको होइन र ? यो त इतिहासवाला ठूलो ‘थाङ्का-चित्र’को एउटा दृश्यमात्र हो । पञ्चायती भूमिसुधारको असली कहानी के थियो भन्ने कुरा तपाईंजस्ता गाउँ-गाउँ डुलेका तत्कालीन ‘क्रान्तिकारी’लाई पक्कै थाहा होला । राणाकालमा मात्र होइन, पञ्चायततन्त्र र बहुदलतन्त्रमा पनि मधेसका आदिवासी र वास्तविक किसानको जग्गा खोसेर तरल पैसामा रूपान्तरण गर्नेहरू नै बलिया भइरहेको तथ्यसँग तपाईं कुन्नि कसरी अपरिचित हुनुहुन्छ ?
पश्चिमका थारु जनतालाई सोध्नुहोस्- जीउमा सत्ताको नङ्ग्राले कोपरेका दाग बोकिहिँड्ने वृद्धवृद्धा अझै भेट्न सक्नुहुन्छ । थारु समुदायलाई त पुख्र्यौली जमिनबाट विस्थापितमात्र गरिएन, दास नै बनाइयो । मधेसमा जताततै त्यो क्रूर इतिहासको दाग बोकेका सन्तती नयाँ इतिहासको झलक देख्न आतुर छन् । अनि तपाईंलाई हिजोआज लाग्छ- मधेसलाई उपनिवेश बनाइयो भन्नेहरू वाहियात हुन् । त्यसैले काठमाडौंको सम्भ्रान्त सत्ताप्रति सारा आदिवासी, मधेसी, जनजाति, दलित, मुस्लिम लगायत उत्पीडित समुदायका जनता किन आक्रोशित भएका होलान् भन्ने आँंकलनसम्म तपाईं गर्न सक्नुहुन्न ।
गजब कुरा त के भने- तपाईं पर्गेल्नै सक्नुहुन्न, तपाईंको तृप्त आँखा अघिल्तिर यत्तिका विद्रोह र आन्दोलन किन भएका होलान् ? लीला गर्नुहुन्छ तपाईं !
दोस्रो प्रश्न: नयाँ संविधान नै किन ?
सत्य कुरा यो पनि हो- जनयुद्ध त परैको कुरा, दोस्रो जनआन्दोलनलाई पनि तपाईंले समर्थन गर्नुभएन । संविधानसभा किन चाहिएको हो, त्यो तपाईंलाई अझै विचित्र लाग्छ । अनि प्रा.लोकराज बरालले संसदीय व्यवस्थाले ल्याएको अव्यवस्थालाई बदल्न प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था नयाँ संविधानमा गर्नुपर्छ भन्दा तपाईं छक्क पर्नुहुन्छ । कस्तो यो ‘माओवादीको जस्तो उट्पट्याङ’ कुरा गरेको होला ! राजनीतिशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, अर्थशास्त्री सबै प्रकारका विद्वानले बहुजातीय र बहुभाषिक मुलुकको राज्य पुनर्संरचना गर्दा पहिचान महत्त्वपूर्ण कुरा हुन्छ भन्दा तपाईं रनभुल्ल पर्नुहुन्छ ।
तपाईंले पक्कै बिर्सनुभो- २०५४ सालको स्थानीय निर्वाचनमा तपाईंकै पार्टीले सबै जातजाति र भाषाभाषीको पक्षमा कुरा उठाउने एजेन्डामा चुनाव जितेको थियो । लगत्तै काठमाडौं महानगरपालिकाले नेपाल भाषा, राजविराज नगरपालिका र धनुषा जिविसले मैथिली भाषालाई पनि ‘नेपाली’ भाषासँगै कामकाजी भाषाको रूपमा प्रयोग गर्न थाले । त्यसपछि दाहाल यज्ञनिधि लगायतले यसरी मातृभाषाहरू प्रयोग गर्दा देश विखण्डन हुन्छ भन्दै सर्वोच्च अदालतमा मुद्दा हाले । सर्वोच्चले अन्तरिम आदेश जारी गरेर मातृभाषा प्रयोगमा रोक लगायो । सर्वोच्चको त्यो आदेश विरुद्धमा आन्दोलन भयो र त्यो आन्दोलनमा तपाईंको पार्टीले पनि ऐक्यबद्धता जनाएको थियो । यस्ता पहिचानमुखी आन्दोलनहरू इतिहासभरि किन भएका होलान् त माननीय कमरेड ओली ?
तपाईं त चन्द्रशमशेरको पालामा सुतेर अचानक एउटा यस्तो नयाँ समयमा व्युँझिनुभयो कि समयले कोल्टो फेरिसकेको थियो । त्यसैले पपगीतमा नाच्न थालेको नातिलाई देखेर पनि क्रुद्ध हुनुभयो, आत्मसम्मान खोजिरहेकी महिला देखेर तिल्मिलाउनुभयो, झन् अधिकारका लागि सडकमा उत्रिएको मधेसी/जनजाति आदिलाई देखेर त जंगेज्वार नै उठ्यो, तपाईंको छातीमा । अनि संघीयतालाई बुझ्नुभयो- जग्गादलालले गरिरहेझैं फगत ‘प्लटिङ’ । फेरि एकपटक पञ्चायतकालमा सुत्नुभयो र उठेर भन्नुभयो- जलविद्युत पहाडमा मात्रै बन्छ, धान मधेसमै धेरै फल्छ, संघीयतामा यिनलाई अलग पारेर हुन्छ ?
संघीयता तपाईंले भनेजस्तै भौगोलिक विभाजनकै मात्र कुरा भए पञ्चायतले कोरेको पाँच विकास क्षेत्रको खाका छँदैछ नि । किन चाहियो नयाँ संविधान ? तपाईंले हजारौंपटक दोहोर्याउनुभएको शब्द हो- जनता । त्यो जनताको स्वाभिमान उठ्न दिएन सत्ताले, जातीय भेदभावको माखेसाङ्लोमा बेरेर । त्यही जनताको उत्पादकत्व -आर्थिक/बौद्धिक/सिर्जनात्मक) सर्वनाश गरिदियो, परम्परागत सत्ताले । बिहे गर्ने बेला जातपातको कुरो, छिमेकीसँग कुनै उत्पादनको सहकार्य गर्ने बेला ठूलो/सानोको कुरो, चाडबाड मनाउने बेला उँच/निचको कुरो, स्कुलको कक्षामा माथिल्लो/तल्लोको विभाजन, मन्दिर परिसरमा छुवाछूतको रन्को, घरभित्र महिला र पुरुषको भेदभाव, आँगनमा छोराछोरीको भेद, जताततै विभाजनका हजारौं घेराभित्र बाँच्नु परेपछि न त्यो समाज सिर्जनशील हुन्छ, न एउटा व्यक्ति कहिल्यै स्वतन्त्र हुन्छ । न त्यस्तो समाजमा वैज्ञानिक जन्मिन्छ, न आविष्कारक, न आलोचनात्मक चेत भएको झरिलो नयाँ पुस्ता, न प्रश्न गर्ने विद्यार्थी जन्मिन्छ, न विद्यार्थीको प्रश्नमा भविष्यको झिल्को देख्ने शिक्षक ।
यही माखेसाङ्लोबाट समाजलाई मुक्त गर्न तल पारिएका, उत्पीडन र अपमान भोगेका जनताको पहिचान राज्यसत्तामै स्थापित गर्नुपर्छ भन्ने मेरो तर्क छ । सत्ताका संरचनाले नै यस्तो विभेद संस्थागत गरेको हो र सत्ताकै चरित्र बदलेर यो विभेद मेट्नुपर्छ । जातिवाद त जात र रंगभेदका आधारमा शासन गर्ने पद्धति हो । उत्पीडनमा परेका समुदायको पहिचान र आत्मसम्मान स्थापित गर्नु भनेको जातिवाद होइन । हरेक समुदाय र व्यक्तिले आफ्नो भिन्नतासहित सम्मानपूर्वक बाँच्न पाउनुपर्छ भन्ने तर्क जातिवाद हो कि जातिवादका आधारमा चलेको परम्परागत सत्ता र समाज व्यवस्था जिउँकातिउँ राख्नुपर्छ भन्ने तपाईंको तर्क जातिवाद हो ?
तेस्रो प्रश्न: संविधान जारी गर्न किन हतार ?
यथार्थ तपाईं तुरुन्त संविधान जारी गर्न चाहनुहुन्छ । कमरेड, गुह्य कुरा बुझिन्छ । तपाईंले पनि लुकाउनुभएको छैन । हो, तपाईंलाई प्रधानमन्त्री बन्ने हतार छ । बन्नुहोस्, मेरो शुभकामना छ । तर मेरो पुस्ताको चिन्ता छ- तपाईं ‘संविधान’मात्र जारी गर्न हतार गर्दै हुनुहुन्छ, ‘नयाँ संविधान’ बनाउन होइन ।
अर्थविद् डा. देवेन्द्रराज पाण्डेले ०४९ सालमै तथ्यांक केलाएर लेख्नुभएको रहेछ- आजको दिनसम्म पनि भावी पिढीको शैक्षिक स्वरूप बाहुन, क्षत्री, नेवारकै बाहुल्यबाट ग्रसित हुने हो भने हाम्रो बहुराष्ट्रिय, बहुजातीय, बहुभाषीय नेपाल राष्ट्रको दिगो सुसंगठन कहिले, कसरी, कुन नेतृत्वले गर्ने -हेर्नुहोस् ः नेपाली अर्थराजनीति:चुनौती र विकल्प) ? डा. पाण्डेले भन्नुभएको नयाँ पिढी मेरै पिढी हो । मेरो पिढीलाई आफ्नै देशको समाज चिन्न नदिने शिक्षा प्रणाली तपाईंहरूले संस्थागत गर्नुभयो, पञ्चायतपछि बदल्नुभएन । बरु शिक्षा र स्वास्थ्यको यस्तो व्यापारीकरण गर्नुभयो कि अहिले बहुसंख्यक जनता उपचार गर्न र बच्चा पढाउन नसक्ने अवस्थामा आइपुगे । राणाहरूले लाहुरे बनाएर जनताका छोराछोरी निर्यात गरे, तपाईंहरूले मजदुर बनाएर अरब र अमेरिका निर्यात गर्नुभयो । म्यानपावर कम्पनीबाट कसले कमाए र कसले सन्तान गुमाए भन्ने तथ्यांक त पक्कै तपाईंसँग होला ।
एकजना डनको नाममा तपाईं हुंकार गर्न सक्नुहुन्छ, तर निर्यात गरिएका जनताका छोराछोरीबारे तपाईंले कहिल्यै कतै आवाज उठाउनुभएको थाहा भएन । यो के भएको कमरेड ? मैले नबुझेको कि तपाईंले बुझाउन नसक्नुभएको ? अनि तपाईं भन्नुहुन्छ- संघीयताको कुरा फगत जातिवाद हो । पानीढलो मिलाएर देशको प्लटिङ गर्न चाहनुहुन्छ, तपाईं संघीयताको नाममा । मैले बुझेको देश त जनता हो । जनताको उत्पादकत्व र सिर्जनशीलता बढाउनका लागि पो चाहिएको हो, संघीयता । जात र धर्मका साँघुरा विचारको चंगुलमा व्यर्थै खेर गैरहेका हाम्रा उत्कृष्ट दिमागहरूलाई तिखार्ने वातावरण बनाउन चाहिएको हो नि संघीयता । प्रा. कमलप्रकाश मल्लले भन्नुभएझैं देशका हरेक कर्णधारलाई स्कुलको कक्षादेखि नै सिक्ने अवसर उपलब्ध गराएर एकसेएक वैज्ञानिक र विचारक जन्माउन हो, संघीयता चाहिएको । बेलायती भाषाशास्त्री डा. क्लिन्टन रबिन्सन र प्रा. मल्लको विद्वताले भन्छ- बहुभाषिकता एउटा अवसर हो । बहुभाषिक देशले सबै बालबालिकालाई मातृभाषाबाट सुरु गराएर उत्कृष्ट मानव संसाधनको उत्पादन गर्न सक्छन् । यो उद्देश्य त पहिचानसहित संघीयतामार्फत स्रोतसाधनलाई जनतासम्म पुर्याएर मात्र हासिल गर्न सकिन्छ ।
हो, मेरो पुस्ताले आफ्नो समाजको चरित्रबारे गम्भीर अध्ययन गरिरहेको छ । पाठ्यपुस्तकबाट त तपाईंहरूले भ्रममात्र पढाउनुभयो । अब खोजी सुरु गरेको छ, मेरो पुस्ताले । हामीलाई एउटा सार्क सम्मेलनमा अघोषित कफ्र्यु लगाउनुपर्ने अव्यवस्थित काठमाडौं चाहिएको छैन । सारा धन केही दरबारहरूमा एकोहोरिने केन्द्रीकृत शासन चाहिएको छैन । सारा शक्ति केही हातहरूमा केन्दि्रत हुने कथित प्रजातन्त्र चाहिएको छैन । विलक्षण प्रतिभालाई जन्मनुभन्दा पहिल्यै अनेक उँचनिचको जञ्जालमा अल्झाएर मार्ने समाज व्यवस्था चाहिएको छैन ।
कमरेड ओली,
नयाँ पुस्ता इतिहासको विष परेर छट्पटाइरहेको छ । तर नयाँ इतिहास लेख्न तयार छ । त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा भलै विद्यार्थी नहुन्, तपाईंले लीला गरिरहेको इतिहासको मूल्यांकन गर्न नयाँ पिंढीले नयाँ सीप सिकिसकेको छ । यति विचार गर्नुहोला । धन्यवाद ।
(इकान्तिपुरमा छापिएको पुरानै लेख , पुन साभार गरी पोस्ट गरिएको )