औँला गुमाउने शेर्पालाई सहयोग
ताप्लेजुङ, असार २२ गते । ताप्लेजुङको एक फर्निचरमा काठ चिरानी गर्ने क्रममा मेसिनमा परेर हातको औँला गुमाएका आनन्द शेर्पाको उपचारका लागि मजदुर ट्रेड युनियन ताप्लेजुङले सहयोग सङ्कलन गरी उनको खातामा जम्मा गरिदिएको छ ।
सदरमुकाम फुङ्लिङमा आर्थिक सहयोग सङ्कलन गरी कुल ६८ हजार २०० रुपैयाँ पीडितको खाता रहेको कञ्चनजङ्घा सहकारी संस्थामा जम्मा गरिदिएको युनियनका अध्यक्ष निमा शेर्पाले जानकारी दिएका छन् । युनियनले सङ्कलन गरेको सो रकम फावाखोला फर्निचर उद्योगका चन्द्र यवागुले सहकारीमा जम्मा गरिदिएका हुन् ।
शेर्पाको गत असार ११ गते सदरमुकाम फुङ्लिङस्थित फावाखोला फर्निचर उद्योगमा काठ चिरानीका क्रममा मेसिनमा हात परेर हातको औँलासहित केही भाग गुमाएका थिए । अहिले उनको बी एन्ड सी हस्पिटल झापामा उपचार भइरहेको छ । रासस