भोटेकोशीमा बाढी : मध्यभोटेकोशी हाइड्रोको बेलिब्रिज बगायो, दोलालघाटसम्म ‘हाइ अलर्ट’

काठमाडौँ : मंगलबार राति भोटेकोशीमा पानीको सतह एक्कासी बढेपछि बाढी पूर्वानुमान शाखाले राति १० बजे भोटेकोशी र सुनकोशी नदीको छेउछाउमा बस्ने दोलालघाटसम्मका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन भनेको छ।
बाढी पूर्वानुमान शाखाका अनुसार राति १० बजे बाह्रबिसेमा भोटकोशी नदीमा पानीको सतह सामान्य भइसके पनि बढ्ने क्रममा रहेकोले उच्च सतर्कता अपनाउन भनिएको हो।
मध्यरात साढे १२ बजे यो समाचार तयार पार्दासम्म बाह्रबिसेमा भोटेकोशी नदीको पानीको सतह खतराको संकेतभन्दा तल नै छ तर सतह बढ्ने क्रम भने जारी छ।
बाढीको हल्लाका कारण बाह्रबिसे, खाडीचौर लगायतका बजारमा आतंक मच्चिएको थियो। प्रहरीले नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान खबर गरेको छ।
मध्य भोटेकोशी जलविद्युत कम्पनीका कन्सट्रक्सन डिभिजन चिफ इन्जिनियर शिवराम केसीका अनुसार जलविद्युतको डाइभर्सन टनेल एक्सेसका लागि बनाइएको चाखुस्थित बेली ब्रिज बाढीले बगाएको छ। राति अबेर भएकोले तातोपानी लगायतका क्षेत्रबाट थप क्षतिको विवरण प्राप्त हुन सकेको छैन। @ पहिलोपोस्ट |