नेपाल–भारत प्रवुद्ध समुहको बैठक, १९५० को सन्धी पुनरावलोकन गर्नेबारे सकारात्मक

काठमाडौं—प्रवुद्ध समुहको बैठक अत्यन्तै फलदायी र सकारात्मक भएको बताइएको छ । समुहको काठमाडौंमा बसेको सोमबारदेखि बसेको दुई दिने बैठकका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बैठक निकै सकारात्मक र सौहाद्रपूर्ण वातावरणमा सम्पन्न भएको समूह सदस्यहरुले बताएका छन् ।
बैठकमा नेपाली टोलीका संयोजक भेषबहादुर थापाले नेपाल–भारत सम्बन्धलाई असर पार्ने सबै सन्धी सम्झौता पुनरावलोकन गर्ने विषयमा छलफल भएको बताए । ‘दुवै सरकारले तयार पारेको ‘टम्र्स अफ रिफ्रेन्स’भित्र रहेर १९५० देखिको सन्धि सम्झौताका बारेमा ब्यापक रुपमा स्पष्ट छलफल भएको छ’, उनले भने, ‘सम्बन्ध सुधारको पहल अनरुप ५ बुँदामा भएको छलफल सकरात्मक भएको छ ।’
त्यस्तै भारतीय पक्षका संयोजक भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोसियारीले विगतमा भएका सन्धि सम्झौतालाई समयअनुसार संसोधन गर्नुपर्ने आवश्यता रहेको भए गरौं भनेर भारतीय पक्षले प्रस्ताव गर्दै आएको भएपनि त्यो विषय प्रवुद्ध समुहको बैठक बसेपछि सार्थक भएको बताए ।
नेता कोसियारीले बीचमा सम्बन्धमा केही तिक्तता देखिएको भएपनि बैठकले सम्बन्धलाई पुनः मिठास दिलाएको बताए । ‘बीचमा केही असमझदारी भए, तर अहिलेको बैठक खाना पछिको मिठाई जस्तै भएको छ’, उनले भने ।
नेपालको तर्फबाट समूहका सदस्य तथा पूर्व राजदूत निलाम्बर आचार्यले सन्धी सम्झौताकै कारण दुई देशबीच देखापर्ने असमझदारी अन्त्य गर्ने विषयमा सकरात्मक सुरुवात भएको बताउँदै अन्य बैठकहरुबाट यस्ता विषयहरुको अध्ययन र छलफल गर्दै निक्र्यौल गरिने बताए ।
नेपालका लागि पूर्व राजदुत समेत रहेका भारतीय पक्षका अर्का सदस्य जयन्तप्रसादले बैठकमा सन् १९५० देखिको सन्धिदेखि विकास निर्माणमा साझेदारीसम्मका विषयमा छलफल भएको बताए । पछिल्लो समय विश्वासको वातावरण धमिलिएको छ नि भन्ने प्रश्नमा प्रसादले साझेदारीले नै विश्वासको वातावरण तय गर्ने बताए ।
बैठक अर्को तीन महिनाभित्र भारतको राजधानी नयाँदिल्लीमा बस्नेछ । समुहले दुई वर्षभित्र नेपाल–भारतबीच भएका सन्धी सम्झौता समायानकुल पुनरावलोकन गरी सुझाव प्रस्तुत गर्नेछ ।