अनुगमनमा गएका मन्त्रीको टोलीमाथि बल्खु तरकारी बजारका व्यापारीद्वारा आक्रमण

आषाढ – २१ काठमाडौं |बल्खु तरकारी बजार अनुगमन गर्न गएका आपूर्ति मन्त्रालयको अनुगमन टोली र व्यापारीबीच झडप भएको छ । तरकारी बजारमा रहेका अधिकांश ढक तराजु गुणस्तर नापतौल विभागले प्रमाणित नगरेको पाइएपछि अनुगमन टोली अनुगमनको लागि गएको हो ।
अनुगमन गर्न गएका टोलीले नापतौल विभागबाट प्रमाणित नगरिएका ढक तराजु उठाएपछि व्यापारीहरुले आक्रमण गरेका हुन् । आफूहरुलाई जानकारी नै नदिइ अनुगमनमा आएको भन्दै टोली माथि आक्रमण गरेका गरेको आपूर्ति मन्त्री गणेशमान पुनका स्वकीय सचिव अर्जुनकुमार पाठकले बताएका छन् ।
प्रमाणित नभएका अधिकांश ढकतराजु पाइएपछि कारबाही गर्न लाग्दा व्यापारीहरुले तरकारी र पानीको बोत्तलले अनुगमन टोलीलाई हिर्काएका थिए । प्रहरीको थप उपस्थिति बढेपछि दुबै पक्षवीच अहिले छलफल भइरहेको छ । अहिले अनुगमन टोली र व्यापारीहरुवीच वार्ता भइरहेको छ ।
उनीहरुले यसअघि ढक तराजुमा नापतौल विभागले प्रमाणित गर्नुपर्छ भन्ने थाहा नभएको बताएका छन् । व्यापारीहरुले एक हप्ताभित्र नापतौल विभागबाट प्रमाणित गराउने भन्दै ढकरतराजु जफत नगर्न समेत आग्रह गरेका छन् ।
तरकारीमा उपभोक्ता ठगिएको, बजारमा विषाक्त तरकारी आएको गुनासो बढेपछि आपूर्ति मन्त्री गणेशमान पुन सहितको टोलीले आज तरकारी बजार अनुगमन गरिरहेको छ ।