इतिहासको तराजुमा डा. बाबुराम भट्टराई

-विशाल पुन मगर
असार २०, २०७३- नेपालीको जीवनलाई सर्वथा नयाँमा परिणत गर्ने उद्घोष गर्दै बाबुराम भट्टराईको नेतृत्वमा नयाँ शक्ति घोषणा भएको छ । ६३ वर्ष पुगेका भट्टराईको अनुहारमा उत्साहको चमक देख्दा भट्टराई नयाँ शक्ति वर्तमान राजनीतिको निर्विकल्प वैकल्पिक शक्ति बनाउन पूर्णरूपले विश्वस्त छन् भन्ने देखिन्छ । हो, ६० को दशकमा पुग्दा भट्टराई जीवनकै प्रसन्न मुद्रामा देखिन्छन् । तर उनी बाहिरी आवरणमा जति हँसिलो देखिन्छन्, त्यति नै गम्भीर जोखिमहरूको सामना पनि गर्दैछन् ।
२०२६ सालको एसएलसीमा नेपाल प्रथम भट्टराईले पढाइमा आफूलाई सधैं अब्बल सावित त गरे नै, दस वर्षसम्म चलेको जनयुद्धको एक प्रमुख नेता बन्दै गणतन्त्र नेपालको प्रधानमन्त्रीसम्म बने । संविधानसभाको चुनावमा सबैभन्दा बढी जनमत पाएका भट्टराईले नयाँ नेपाल निर्माणको निम्ति लडिएको जनयुद्धको मूल प्रश्नलाई अनुत्तरित छाडेर निर्माण गरेको नयाँ शक्तिले के नेपाल राष्ट्रलाई चलायमान बनाउन सक्ला ? या नेपालको अस्तित्वमा रहेका पार्टीहरूमा सिर्जना हुने असन्तुष्ट व्यक्तिहरूको हुलमात्र बन्ला भन्ने जिज्ञासाको केन्द्र बनेको नयाँ शक्तिका संयोजक डा. भट्टराई इतिहासको संवेदनशील कठघरामा उभिएका छन् ।
नेपाली समाज
दसवर्षे जनयुद्ध, दोस्रो जनआन्दोलन र मधेस आन्दोलनका कारणले प्राप्त भएको नेपालको लोकतन्त्र दुर्भाग्यपूर्ण रूपमा संसदीय सत्ता राजनीतिमा पँmसेको छ, जहाँ संख्या गन्तीले मान्यता पाउँछ । यस खालको राजनीतिले अन्तर्राष्ट्रिय रूपमा नेपालको वैदेशिक नीतिमा व्यवधान ल्याइरहेको छ, जसका कारण नेपाल आज इच्छित मित्रहरूको मित्रताबाट बञ्चित हुने अवस्था सिर्जना भएको छ । र राष्ट्रिय रूपमा राजनीतिको विषाक्त हावाले नेपालीको दिमागमा गलत चिजहरू घुसाइरहेको छ, जसले स्वार्थको बाटोमात्र देखाउने गरेको छ ।
राष्ट्रियताको डमरु जति बजाए पनि कुनै पनि तरिकाद्वारा पैसा कमाउन सकेमात्र शक्ति आर्जन गर्न सकिन्छ भन्ने सन्देश वर्तमान राजनीतिले नेपालीहरूको दिमाग भरिरहेको छ । त्यसकारण भट्टराईको नयाँ शक्तिले आफूलाई यस खालको प्रवृत्तिबाट अछुतो राख्न सक्ला ? नेपाली समाजमा जेजस्ता संस्कारहरू विकास भइरहेका छन्, ती संस्कारको सानो भाग नै पार्टीमा समावेश हुने त हो ।
विरोधाभासपूर्ण व्यक्तित्व
समृद्ध नेपालको सुन्दर सपना त नेपालीहरूले वर्षाै अघिदेखि नै देख्दै आएका हुन् । ती सपनाहरूलाई व्यक्त गर्ने प्रवक्ता नयाँ शक्ति हो भन्ने दाबी भट्टराईले गरेका छन् । तर नयाँ शक्ति निर्माण गर्दै गर्दाको पृष्ठभागमा रहेको उत्प्रेरक शक्ति नयाँ शक्तिको प्रमुख स्रोत हो या होइन ? भट्टराईले स्पष्ट पार्न आवश्यक छ ।
अथवा नेपाली जनताको ह्दयमा उद्वेलित भावनाहरूको प्रस्ट बुझाइ यो छ कि नेपालमा दौडिरहेको राजनीतिक शृंखलामा विद्रोही शक्तिको तर्फबाट उभिएको प्रमुख व्यक्ति भट्टराई नै हुन् । बुझाइ यस्तो बन्दैछ कि प्रजातान्त्रिक शक्तिहरूले भट्टराईलाई ‘रगतले अपवित्र बनेको’ व्यक्ति भनेर प्रहार गर्नेछन् र माओवादी पक्षधरले नयाँ शक्ति विकासको संकल्प हो भने जनयुद्धको संकल्प के हो ? भन्ने प्रश्न खडा गर्दै विश्वासघातको आरोप लगाउने छन् । यसरी देशको दुई पक्षबाट विश्वास गुमाएको व्यक्तिलाई के नेपाली जनताले सामुहिक इच्छा हस्तान्तरण गर्लान् ?
सम्भावित चुनौती
भट्टराईले जेजति जाने, जेजति राष्ट्रको लागि योगदान गरे, अन्तिममा उनको ज्ञानको कठोरता स्वयम्ले आफूमाथि अनर्थ त वर्षाइरहेका छैनन् ? जतिबेला नेपालीहरूले ६५ वर्षअघि देखेको सपना प्राप्तिको खुसियाली (संघीय संविधान निर्माणको) मनाउँदै थिए, ठिक त्यतिबेलै भट्टराईले यति मुढी भएर आश्चर्यजनक निर्णय लिए कि कतै छिमेकी शक्तिको चलखेल त होइन ? भन्ने शंका नेपालीहरूको मनमा पस्यो ।
हो, यो संविधान पूर्ण र सन्तोषजनक छैन, तर पनि आम नेपालीको स्वीकारोक्तिबिना नयाँ संविधानले जीवन पाउँदैन । जब मधेस, लिम्बुवान र मगरातमा असन्तुष्टिका आवाजहरूले नेपाली आकाश घन्काउनेवाला थिए, दुर्भाग्य भट्टराईको निर्णयले झन् अन्योल पैदा गर्यो । अझ विरोधाभाषपूर्ण कुरा त यो छ कि जुन समुदाय र वर्गलाई नयाँ संविधानले समेट्न सकेन, ती जनताहरू डा. भट्टराईको राजनीतिमा प्राथमिक स्थान राख्दैनन् ।
डा. भट्टराईको नयाँ शक्तिले त ती वर्ग र समुदायलाई प्राथमिक स्थानमा राखेको छ, जसले नयाँ संविधानको खुसियालीमा भोजभतेर गर्दै खुसी मनाएका थिए । आफैं नयाँ संविधान निर्माण गर्दा संवाद समितिको सभापतिजस्तो जिम्मेवारी पदमा बसेर नयाँ संविधानप्रति असन्तुष्टि जनाउनु भनेको आफैं बोक्सी आफैं धामी बनेजस्तै हो, जुन कदम दूरदर्शी राजनेताको गुणभित्र अटाउन सक्दैन ।
राजनीतिक संक्रमणकालको कारक
आर्थिक समृद्धिको नीति कुनै जादुमन्त्र होइन, यो त जनताको हृदयमा उत्पन्न जितित प्यास हो । लाखौं नेपालीहरू वर्तमान अवस्थामा परिवर्तन चाहन्छन्, जुन कुरा उनीहरूको राजनीतिप्रतिको घृणा र असन्तुष्टिबाट थाहा हुन्छ । तर नयाँ शक्तिले तत्कालै ती लाखौं जनताको मनमा विश्वासको हावाहुरी ल्याउने पनि देखिँदैन, किनकि जुन जोगी आए पनि कानै चिरिएका भन्ने अविश्वासले नेपालीहरूको मनमा राज गरिसकेको छ ।
हुन पनि व्यक्तिगत स्वार्थका प्याला बोकेका प्रतिशोधी र राजनीतिका अतिवादीहरू नयाँ शक्तिमा प्रवेश गर्दैनन् भन्ने के ग्यारेन्टी ? उडन्ते बुद्धिजीवी र गलत व्यक्तिहरूको संक्रमणबाट भट्टराईको नयाँ शक्ति कसरी अछुतो रहन सक्ला र ? यस आधारमा भन्न सकिन्छ कि नयाँ शक्ति एक सरदर राष्ट्रिय पार्टी र नेपाली राजनीतिको थप नयाँ समीकरण मात्र बन्नेछ । वर्तमान र भविष्यमा राजनीतिक संक्रमणकालको एक प्रमुख कारण नयाँ शक्ति नेपाल बन्नेछ ।
पहिले राजनीतिक विकास अनि आर्थिक
विकास र समृद्धि त्यहाँ अगाडि बढ्न सक्छ, जहाँ राजनीतिक बाधा र अवरोधहरू कम हुन्छन् । विकासको नारालाई नराम्रो भन्न त मिल्दैन, तैपनि राजनीतिक निकास भएमा विकासको रथ त प्रत्येक क्षण बग्न तयार छ । नेपालमा संघीय संविधान कार्यान्यवनको दिशा अगाडि नबढ्दै विकासको नारा घन्काउनु भनेको जग्गा पासको प्रक्रिया पुरा नगरी घर ठड्याउने अपरिपक्व दाबी गर्नुझैं हो ।
ठिक त्यसरी नै राजनीतिक निकासबिना विकासको एकमात्र उद्देश्य बोक्नु भनेको बिरामीले थला परेको व्यक्तिलाई सुन्दर भविष्यको आशिर्वाद दिनुझैं हो । राजनीतिक निकासलाई जोड दिने र आर्थिक विकासलाई ध्यान दिने नीति नै वर्तमान समयको आवश्यकता हो । राजनीतिक निकासद्वारा राष्ट्रप्रेमको भावना नजगाएसम्म सर्वोत्तम विकासको विचार पनि निरर्थक सिद्ध हुन्छ । नेपाल विचारको अभावले पछि परेको हैन, विचार कार्यान्वयनको अभावले पछि परेको हो । यो पृष्ठभूमिमा एकातिर डा. भट्टराईको नयाँ शक्ति असफल हुने र अर्कोतिर माओवादी आन्दोलन पतनोन्मुख भयो भने के होला ? त्यसैले भट्टराई इतिहासको तराजुमा जोखिँदैछन् ।