तामाङहरुलाई प्राचीन भरिया र आधुनिक अपराधी मात्र देख्नेहरुको विपक्षमा

एउटा सुन्न लायक इतिहास छ कि पहाडी गोरेटोमा सन् १९५० सम्म साना गाडीहरु कसरी मानिसले बोकेर काठमाडौं ल्याउँथे र काठमाडौंका शासकहरु त्यसमा सयर हुन्थे । यसले नेपालको असामान्य रोचक घटनाबारे थप कुरा बोल्छ, जो गर्नका लागि हामी विवश छौं ।
तस्बिरमा देखिएका मानिसहरु जो त्यस्तै गाडी बोकिरहेका छन्, त्यसले यही कुरा बताउँछ ।
भर्खरै एउटा समाचारपत्रले समाचार लेख्यो– यी पाँच जना मजदुरले बोकेर भिमफेदीबाट थानकोटसम्म गाडी ल्याएका थिए, काठमाडौंका “बाबुसाहेब” ले उनीहरुलाई घरतिरै लखेटे ।
८०–९० वर्षका भिमफेदीका ती पाँच जना मानिसहरु थिए– धनबहादुर गोले, हिराबहादुर घलान, इमानसिं रुम्बा, जुक्तबहादुर वाइवा र पोटे गोले । यी मानिसहरु इतिहास हराएका कारणले मात्र एकअर्कासँग बाँधिएका छैनन्, बरु यी सबै तामाङ समुदायका भनेर पनि एकअर्कामा बाँधिएका छन् ।
यो कुनै आश्चर्यजनक कुरा होइन कि पहिले काठमाडौंवरिपरि तामाङहरुको देश भएकोले काठमाडौंका शासकहरुले मजदुरको रुपमा उनीहरुलाई यस्ता गाडी बोकाउँथे ।
उत्पीडितहरुमाथि नै आरोप
माथिको छोटो परिचयले वर्तमान नेपालको सामान्य चित्रण गर्दछ । केही समयअघि गएको भूकम्पले अरु कोहीभन्दा धेरै तामाङ समुदायका मानिसहरु प्रताडित भएको सत्य छलफलमा आयो । तर, जब उच्च सरकारी अधिकारीले, सायद जान्दाजान्दै र चाहेर, यसबारे द्वेषपूर्ण भनाइ सार्वजनिक गरे जसले परिस्थितिलाई अप्रिय बनायो ।
पहिलो भनाइ : ८० प्रतिशत आपराधिक घटनामा तामाङहरु संलग्न छन् ।
दोस्रो भनाइ : तामाङ समुदायमा छोरी जन्मिदा हर्षोल्लास हुन्छ किनकि जब उनी ठुली हुन्छिन्, यौनधन्दामा लाग्छिन् र परिवारलाई आर्थिक सहयोग गर्छिन् ।
तेस्रो भनाइ : तामाङहरुमा अपराध र यौनधन्दा सांस्कृतिक रुपमै आएको हुन्छ ।
उच्च कर्मचारीको रुपमा यदि यसरी प्रतिशत छुट्याएर आँकडा राखिएको छ भने सायद उनलाई यसबारेमा थाहा होला । तर, मलाई आपराधिक घटनाहरु यसरी जाति÷समुदायको आधारमा वर्गीकृत गरिएको छ भन्नेबारे गहिरो आशंका छ । यस्तो सूचना प्रवाह गरिरहँदा उनले यो चाहिँ बताइरहेका थिएनन् कि यस्तो भइरहेको छ भने वास्तवमा किन भइरहेको छ ?
निश्चय पनि हाम्रा सरकारी अधिकारीहरुलाई यो थाहा थिएन कि भिमफेदीका मेसर गोलेहरुलाई गेटपालेभन्दा अर्को काम गर्ने विकल्प थिएन । तामाङहरुलाई ब्रिटिस इन्डिया सेनामा भर्ती हुनसमेत वञ्चित गरिएको थियो किनकि काठमाडौंका शासकवर्गका लागि तामाङहरु भरपर्दा मजदुर थिए ।
सन् १९९२ मै पर्शुराम तामाङले लेखेका थिए– राणा शासन कालमा तामाङहरु कृषि मजदुरको रुपमा, निर्माण मजदुरको रुपमा, हुलाकीको रुपमा, काठ–दाउरा बोक्ने मजदुरको रुपमा, छाता ओढाइदिने मजदुरको रुपमा, हुक्का बनाइदिने, धाइआमाको रुपमा, सामानहरु बोक्ने भरियाको रुपमा आदिआदिमा प्रयोग हुन्थे ।
मानवशास्त्री डेभिड होल्मबर्ग र क्याथ्रिन मार्चका अनुसार राणा शासनकालमा प्रत्येक परिवारका तामाङहरुले शासकहरुका लागि वर्षको २५ दिन अनिवार्य तर निःशुल्क काम गर्नुपर्थ्यो । कहिले ३० दिनसम्म पनि काम गर्नुपर्थ्यो । काम गर्दा उनीहरुले आफ्नो खानासमेत आफै व्यवस्था गर्नुपर्थ्यो ।
नेपाली सेनामा तामाङहरुका लागि खोलिएको पद थियो पिपा । पिपा पदबाट उनीहरुको बढुवा हुँदैनथ्यो । तर, अहिले यस्ता बोझिलो र विभेदकारी नीतिहरुबाट देशले छुटकारा पाउँदै गएको छ ।
कुनै पनि समुदायलाई शताब्दीऔं तल पारेर राखिएको छ भने यसको प्रभाव पछिल्ला पुस्ताहरुमा पर्ने गर्छ । त्यसैकारण यो कुनै आश्चर्यजनक कुरा होइन कि त्रिभुवन विश्वविद्यालयको नेपाल सोसियल इन्क्लुजन सर्भे–२०१२ का अनुसार ६–२५ उमेर समूहका ४७ प्रतिशत तामाङ पुरुषहरुले मात्र कक्षा १–५ सम्मको शिक्षा लिएका छन् । त्यस्तै मात्रै १२ प्रतिशतले कक्षा ११ देखि माथि अध्ययन गरेका छन् । यो अन्य आदिवासी जनजाति मगर र थारु जो आफैमा पछाडि पारिएका समुदायहरु हुन्, उनीहरुको भन्दा आधा मात्र हो ।
प्रगतिका सबै ढोकाहरु बन्द गरिएको, तल्लो तहका मानिसहरुको रुपमा व्यवहार गरिने यी समुदायहरु अमेरिकाका कालाजस्तै, पूर्वी युरोपका रोमाहरुजस्तै नेपालमा माथि जान असफल रहँदै आएका छन् ।
बालिका अपहरण
यौन व्यापारबारे काठमाडौंनजिकका केही गाउँसँग जोडिएर बन्ने कथाहरु हामी बारम्बार सुन्ने गर्छौं । तर के कसैले विश्वास गर्न सक्छ कि कुनै निश्चित कारण नभई ती समुदायका मानिसहरु आफ्ना छोरीहरु त्यस्ता नारकीय कामका लागि बेच्न तयार हुन्छन् ?
पर्शुराम तामाङ लेख्छन्, ‘राणा शासनको बेला केटी बस्ने प्रथाअन्तरगत राणाहरुको दरबारमा तामाङ महिलाहरु काम गर्न जानुपर्थ्यो । कतिपय महिलाहरु राणाहरुको रखौटीको रुपमा बस्न बाध्य भए । यही कारणले गरिबीले सताइएका तामाङ समुदायका महिलाहरु यौन व्यवसायमा लाग्न बाध्य भए ।’ तर, यो कसैले भुल्नु हुँदैन कि उनीहरुको गरिबीको कारण राणाहरु नै थिए ।
राज्यले तामाङहरुप्रति कस्तो व्यवहार गरेको छ भन्ने कुरा होल्मबर्ग र मार्चको तलको भनाइले प्रस्ट पार्छ, ‘ठूलो पर्वको रातमा राजदरबारका भरौटेहरुले एउटा केटीलाई जबरजस्ती समात्छ र लैजान्छ । उनी कसैकी श्रीमती भए पनि केही भन्न सक्दैन । यदि कुनै गोठालोले दण्डविहिनताको उपभोग गर्छ भने जो कसैले कल्पना गर्न सक्छ काठमाडौंको राजदरबारले कति गर्छ ?’
होचोको मुख घोचो गाड्नेहरु
हाम्रा काठमाडौंबासी सरकारी अधिकारी जसले जीवनभरि तामाङ र उनीहरुको अवस्थाबारे देखेका छन्, उनको अज्ञानताबारे सायद मैले यहीं अन्त्य गर्नुपर्छ । यस्तो पद र शक्तिमा रहेका अधिकारी जो यो देशमा तामाङहरुमाथि भइरहेको संरचनागत विभेद जसको कारणले तामाङहरुको विकासमा अवरोध पुगिरहेको छ, त्यसबारे अन्धो छ भने यहींबाट हाम्रो राज्य र राज्य संचालकहरुका सम्बन्धमा धेरै कुरा भन्न सकिन्छ ।
हजारौं तामाङहरुको ज्यान जाने गरी भएको विनाशकारी प्रकोपबाट हामी पुनःनिर्माणको चरणमा प्रवेश गरेका छौं । यो प्रकोपले तामाङ समुदायले वर्षौंदेखि खेप्दै आएका विभेद देख्ने मौका पाएका छौं ।
यदि सही प्रकारले व्यवस्थापन गर्ने हो भने कवि प्रताप बल तामाङको कविता ‘अस्याङ, तिमी आफ्नैबारेमा सोच !’ भन्नुभन्दा अन्य कुनै शब्दको जरुरी छैन ।
कविताले भन्छ– “तिमी पनि अरुजस्तै यो देशको नागरिक हौ । यो देश तिम्रो पनि हो । यो ब्रम्हाण्ड तिम्रो पनि हो । तिम्रो पनि अधिकार छ यहाँ ।”
जो कसैले पुनःनिर्माणको नेतृत्व लिओस्, उसले यो सत्य बोध गर्नुपर्छ ।
(दिपक थापाको द काठमान्डु पोस्ट (july 1, 2015) मा प्रकाशित ‘द कन्ट्री इज योर्स’ लेखको प्रकाश राईले गरेको अनुवाद)
पुर्नपोस्ट / साभार: esamata.com