नयाँ शक्तिको नेता परशुराम तामाङ माथि मिडियामा आएको समाचार सम्बन्धि घेदुङको बिज्ञप्ति

आषाढ – २० | नयाँ शक्ति पार्टी नेपालका राष्ट्रिय मामिला संयन्त्र संयोजक परशुराम तामाङ माथि तामाङ समुदायको संस्था नेपाल तामाङ घेदुङमा महासचिव / अध्यक्ष पदमा हुँदा करोडौ रकम हिनामिना /भ्रष्टचार गरेको समाचार अनलाइन मिडियाहरुमा आएको सम्बन्धमा भ्रष्टचार गरेको भनिएको संस्था नेपाल तामाङ घेदुङले ध्यानाषर्कण सहित प्रेस बिज्ञप्ति जारि गरेको छ |
घेदुङका महासचिव महितकुमार तामाङको हस्ताक्षर सहित जारी बिज्ञप्तिमा नेपाल तामाङ घेदुङलाई बिदेशी संघसंस्थाको सहयोगमा २० करोड बराबरको कुनै कार्यक्रम संचालन नै नभएको अवस्थामा यति ठुलो रकम भ्रष्टचार गरेको भनि समाचार प्रकाशित हुनु आफैमा आपत्तीजनक खेदजनक छ भनिएको छ |
प्रेस विज्ञप्तिको पूर्ण अंश –
नेपाल तामाङ घेदूङ
प्रेस बिज्ञप्ति
नेपाल तामाङ् घेदुङका पुर्व अध्क्षय तथा हाल नयाँ शक्ति नामको राजनितिक दलका नेता परशुराम तामाङले घेदुङको अध्क्षय भएको बखत कार्यक्रम सञ्चालनका लागि युरोपेली मुलुकहरु द्वारा पठाईएको २० करोड रकम भ्रष्टचार गरिएको भनि केहि अनलाइन र सामाजिक सञ्जालहरुमा समाचार प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
तामाङको कार्यकालमा बिभिन्न विदेशी संघ-संस्थाको सहयोगमा २० करोड बराबरको कुनै कार्यक्रम सञ्चालन नै नभएको अवस्थामा उहाँले यति ठुलो रकम भ्रष्टचार गरेको भनी समाचार प्रकाशित हुनु आफैमा आपत्तीजनक, खेदजनक छ। उक्त समाचारमा कुनै सत्यता नरहेको हामी प्रष्ट पार्न चाहन्छौ। नेपाल तामाङ घेदुङ जस्तो तामाङ समुदायको राष्ट्रिय सामाजिक संगठन जुन अढाई दशक देखि लोकतान्त्रिक मान्यता, बिधि र आर्थिक पारदर्शिताको प्रक्रियाबाट चलिरहेको छ र यसले हालै आठौ राष्ट्रिय महाधिवेशन समेत सम्पन्न गरेको छ। त्यस्तो समुदायमा आधारित विशुद्ध सामाजिक संगठनलाई जोडेर कपोकल्पित, भ्रामक समाचार प्रकाशित गर्नु घेदुङको बदनाम गराउने, घेदुङको अग्रजहरुको व्यक्तिगत चरित्र हत्या गर्ने र अन्तत समग्र तामाङ आन्दोलनलाई कमजोर गराउने भन्दा अरु कुनै उद्धेश्य देखिदैन।
तसर्थ, यस्ता गलत र भ्रामक समाचारमा विश्वास नगर्न र घेदुङ जस्तो सामाजिक संगठन संग जोडीएका बिषयमा सम्बन्धित निकायलाई सोधपुछ गरेर सत्यतथ्य समाचार मात्र सम्प्रेषण गर्न पत्रकार तथा आम सबैमा हार्दिक आग्रह गर्दछौ।
महितकुमार तामाङ
(महासचिव)