हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

नेवारभित्र दलित–गैरदलित: बोलीमा छैन, व्यवहारमा अझै बाँकी छ

असार १९, २०७३- , काठमाडौं | घटना १ : ललितपुर ठेचोका एक माली (नेवार) युवाले महर्जन युवतीसँग प्रेम विवाह गरे । तर, विवाहको १० वर्षसम्म पनि केटी पक्षले ज्वाइँलाई घरमा भित्र्याएको छैन । यसैले ससुरालीको देवाली गुठीमा ज्वाइँले प्रवेश पाएका छैनन् । केटाको घरमा महर्जन युवतीलाई बुहारीका रूपमा भित्र्याइए पनि दम्पतीबाट जन्मिएको छोरालाई भने माली गुठीले गुठीयारका रूपमा स्वीकारेको छैन । गुठीमा भित्र्याए गुठी देवता ‘गु: द्य:’ रिसाउने र सम्पूर्ण गुठीयारलाई नराम्रो हुने अन्धविश्वासका कारण उनलाई गुठीयार नबनाइएको हो ।

घटना २ : लगनखेल क्षेत्रका एक वज्राचार्य युवाले केही वर्षअघि देउला कुलकी केटीसँग विवाह गरे । तर, जब उनले दुलही घरमा भित्र्याउन खोजे, परिवारले मानेन । यसले झगडाकै रूप लियो । अदालतमा मुद्दा पर्‍यो । यो मुद्दा अझै टुंगिएको छैन । घरमा भित्रिन नदिएपछि उनीहरू बाहिर डेरा लिएर बसे । अहिले पनि यो दम्पती आफ्ना छोराछोरीसहित डेरामै बस्छन् । गुभाजूको गुठीमा नभित्र्याएपछि उनीहरूले धर्मसमेत परिवर्तन गरिसकेको स्थानीय बताउँछन् ।

घटना ३ : नेवार बस्तीहरूमा ‘नेवा: खाजा घर’ प्रचलित छन् । तर, बस्तीमाझका यस्ता खाजाघरमा ‘तल्लो’ मानिने नेवारले खाजा खान आए उसले खाएको भाँडा आफैं माझ्नुपर्छ । यस्तो खाजाघर ‘तल्लो जातका’ मानिनेले खोले त्यसमा ‘माथिल्लो जातका’ खान आउन हच्किन्छन् ।

घटना ४ : नेवार समुदायका महिलाले नाक छेडदैनन् र फुली पनि लगाउँदैनन् । तर, समुदायमा हेपिने वर्गमा परेपछि देउला समाजका महिलाले नाक छेडेर गहना लगाउने गरेको पाइन्छ । त्यसको एक उदाहरण हुन्– लगनखेल थटिटोलकी मीना देउला ।

सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये नेवार आर्थिक हिसाबले उन्नत समूहमा पर्छ । व्यापार व्यवसायमा अब्बल मानिने यो जातिमा पनि लिच्छविकालदेखि सुरु भएको जात र वर्ण व्यवस्थाको प्रभाव पाइन्छ । कतिसम्म भने यो जाति भित्रै ब्राह्मण, क्षत्री, वैश्य र शुद्रजस्तै ४ तहमा विभाजन गरेको पाइन्छ । नेवार समुदायमै रहेका देउला, पुजारी, जलारी, कुचीकार, च्याम्खललाई भने दलितको सूचीमा राखिएको छ । राष्ट्रिय दलित आयोगले नै यिनलाई दलित मानेको छ ।

नेवारको छाता संस्थाका रूपमा नेवा: देय दबू छ । यो संस्थाअन्तर्गत नेवार जातिभित्रका २८ जातीय संस्था र संगठन सदस्य छन् । दबूका महासचिव माइलाबाबु देउला नेवार जातिभित्र दलित नभएको तर जातीय विभेद भने रहेको बताउँछन् ।

‘समाजमा छैन भने पनि टोलछिमेकमा विभेद अझै बाँकी छ,’ देउला समाजका केन्द्रीय अध्यक्षसमेत रहेका माइलाबाबु भन्छन्, ‘दबूको माध्यमबाट सामाजिक विभेद न्यूनीकरण गर्ने काम भइरहेको । समतामूलक समाज निर्माणमा हामी आफैं संघर्ष गर्दै छौं ।’

दबूका सचिव जितेन्द्रविलास वज्राचार्यको भनाइ पनि उस्तै छ । नेवार समाजभित्रै विभेद रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘रोटीबेटी चलेको छैन । सार्वजनिक भोज सँगै चल्छ, तर गुठीको भोजमा अरू सहभागी हुन पाउँदैनन्, बिहेवारी पनि चल्दैन ।’ दबूका अध्यक्ष नरेश ताम्राकार दबूको पहलमै विभेद अन्त्यको घोषणा भएको बताउँछन् ।

‘पुरानो बस्तीमा विभेद अलि अलि बाँकी छ,’ उनले भने, ‘जयस्थिति मल्लको विभेदकारी व्यवस्था र शब्द हामीलाई स्वीकार्य छैन । त्यसैले नेवारभित्रको जातीय विभेद अन्त्य भएको सार्वजनिक घोषणा गरिसकेका छौं । आपसमा अन्तरघुलन बढेको छ ।’

अधिकारकर्मी मल्ल के सुन्दर इतिहासमा विभेद गरिए पनि अहिलेको विश्वपरिवेशमा मानवअधिकारविरोधी विभेद कुनै पनि जातिमा हुन नहुने बताउँछन् ।

‘जो विभेदमा परे उनीहरू स्वयंले हामी नेवार समुदायको उपजाति हौं, हामी आदिवासी जनजाति हौं तर दलित होइनौं भनेर राष्ट्रिय सम्मेलन गरेर घोषणापत्र जारी गरिसकेका छन्,’ सामाजिक सुधारभन्दा पनि व्यक्तिगत लाभमा आरक्षण रणनीति घुसेको उल्लेख गर्दै उनी भन्छन्, ‘तर, सीमित व्यक्तिले दलितको कोटामा सुविधा लिने र राजनीतिक दलहरूले समेत त्यसलाई प्राथमिकता दिने प्रवृत्तिले नेवार दलित भनेर खण्डित गर्ने काम भइरहेको छ ।’

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकले नेपालमा नेवारको संख्या १३ लाख २१ हजार ९ सय ३३ देखाएको छ । जुन कुल जनसंख्याको ४ दशमलव ९ प्रतिशत हो । नेवारहरूले संघीय प्रदेश बन्दा ‘नेपालमण्डल’ लाई ‘नेवा: राज्य’ बनाइनुपर्ने माग राख्दै आएका छन् ।

नेवारको प्रमुख पहिचान गुठी परम्परालाई मानिन्छ । सामाजिक, धार्मिक, आर्थिक, पारिवारिक सम्बन्धहरू गुठीअन्तर्गत सञ्चालन हुन्छन् । वंश र परम्पराको निरन्तरताको टुंगो पनि गुठी र त्यसका प्रमुख थकालीबाट हुने गर्छ । गुठीका सदस्यलाई गुठीयार भनिन्छ । गुठीयारको घर परिवारमा हुने देवाली, व्रतबन्ध, विवाहदेखि मृत्यु संस्कारसम्मका क्रियाकलाप गुठीले गर्छ ।

विभेदको जरो
नेवारलाई बहुधर्मावलम्बी जाति मानिन्छ । नेवारभित्र हिन्दु र बौद्ध धर्म मान्नेका अलावा मुस्लिम र क्रिस्चियनसमेत छन् । नेवार महिलाले धेरै थरी गरगहना पहिरिए पनि नाक छेडदैनन् । तर सामाजिक भेदका कारण नाक छेड्ने महिला भेटिन्छन् । विशेषगरी ‘दलित’ मानिने समुदायमा यो चलन बढेको छ । विभेदबाट मुक्ति पाउन केहीले धर्म परिवर्तन गर्ने गरेको पनि बताइन्छ ।

कतिपय उपल्लो जातका युवाले कथित तल्लो जातिकी युवतीसँग विवाह गरे समाजबाट बहिष्कृत हुने, बुहारीलाई कुलमा सामेल नगरिने गरेको पाइन्छ । यस्तै, कथित तल्लो जातिमा आफ्नी छोरीचेलीले विवाह गरे माइती पक्षले सधैंका लागि त्याग्ने गरेका पनि छन् । नेवारभित्रकै तल्लो जाति भनिनेमा विवाह गर्दा जस्तो विभेद गरिन्छ त्यस्तै विभेद विजातीय बिहेमा बरु नहुने जानकारहरू बताउँछन् ।
ब्राह्मण, राई वा क्षत्रीजस्ता अन्य जातिमा विवाह गर्नेलाई प्रत्यक्ष भेदभाव गरेको खासै नभेटिने उनीहरू बताउँछन् ।

पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जन बोलीमा विभेद नभए पनि व्यवहारिक रूपमा छुवाछूत रहेको बताउँछन् । सामाजिक विभेदलाई नयाँ पुस्ताले बेवास्ता गर्ने गरे पनि अभिभावकको आज्ञा वा भावनालाई चिरेर अगाडि बढ्न नसकेको उनको कथन छ । समाज परिवर्तन हुने क्रम देखिएको उल्लेख गर्दै महर्जन भन्छन्, ‘नयाँ पुस्ताले प्रयास गरेका छन् भने कुनै गुठीले कट्टरपनलाई खुकुलो पारेको पनि भेटिन्छ ।’ समाजमा सकारात्मक परिवर्तन आउनेमा उनी आशावादी छन् ।

विभेद अन्त्यको घोषणा
नेवार समुदायभित्र विभेद हुनुहुँदैन भन्ने सर्वत्र आवाज उठदै आएको छ । त्यही विभेद अन्त्य गर्न विभिन्न ६५ थरी नेवारभित्रका जातीय संस्थाका प्रमुखले एक साथ २०६६ पुसमा ललितपुरको पुल्चोकमा नेवार जातिबीच भेदभाव, छुवाछूत छैन, भए अन्त्य भएको मौखिक प्रतिबद्धता उद्घोष गरेका थिए । त्यही समुदायका प्रमुखले २०६८ पुसमै काठमाडौंको वसन्तपुरस्थित महादेव–पार्वती डबलीअघि लिखित रूपमै विभेद अन्त्य भएको घोषणापत्र सार्वजनिक गरेका थिए ।

इतिहासमा वर्ण व्यवस्था
इतिहास तथा संस्कृतिविद् प्राध्यापक डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार पुरातात्त्विक प्रमाणका आधारमा पाँचौं शताब्दीदेखि वर्ण र जाति व्यवस्था सुरु भएको देखिन्छ । लिच्छविकालमा ब्राह्मण, क्षत्री, वैश्य र शुद्र गरी ४ वर्ण र १८ जात भनेर सुरु भएको थियो । ‘मानदेवका नाति वसन्तदेवको थानकोटको अभिलेखमा चार वर्ण, १८ जातका मान्छेलाई कुशल मंगल सोधेर सरकारी आज्ञा जारी गरेको पाइएको छ,’ उनी भन्छन् ।

१४ औं शताब्दीमा जयस्थिति मल्लले ४ वर्ण र ३६ जातलाई थप व्यवस्थित गरेको इतिहासविद् श्रेष्ठ सुनाउँछन् । ‘जयस्थिति मल्लले जातीय व्यवस्था सुरु गरेको नभई व्यवस्थित मात्र गरेका थिए,’ त्यसबखतको आँखाले सही उत्तर आउने उल्लेख गर्दै उनले भने, ‘समाजको मेरुदण्ड सामाजिक वर्ण व्यवस्थामा आधारित थियो । त्यही वर्णले जात छुट्टियो । जातअनुसार पेसा
निर्धारण भयो ।’

गणेश राई/प्रशान्त माली @ इकान्तिपुर |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution