मलेसियाका नेपाली राजदूतलाई फिर्ता बोलाउन माग, यस्ता छन् आरोप

काठमाडौं, असार १६ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाका लागि नेपालका राजदूत निरञ्जन बस्न्यातलाई फिर्ता बोलाउन माग गरेको छ ।
विहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विमल ढकालले भिएलएन, बायोमेट्रिक, माइग्राम, आइसीएसजस्ता संस्थासँग राजदूत बस्न्यातले साँठगाँठ गरी रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारलाई बढी आर्थिकभार बोकाउनेकार्य गरेको आरोप लगाए ।
उनले ती संस्था अवैध ढंगले सन्चालनमा आएको जनाउँदै बन्द गर्न प्रधानमन्त्री, परराष्ट्रमन्त्री र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत सबै निकायलाई अनुरोधसमेत गरे ।
यही असार १३ गतेदेखि भएको श्रम तथा रोजगारमन्त्रीको मलेसिया भ्रमणकाक्रममा सहभागी भएको संघको टोलीलाई मलेसियाका श्रममन्त्रीसँग भेटघाट गर्न राजदूत बस्न्यातले रोकेको संघले आरोप लगाएको छ ।
संघले मलेसिया गएका कामदारको प्रवेशाज्ञा रोजगारदाता कम्पनीले हरेक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्थाविपरीत प्रवेशाज्ञा नवीकरण नगर्ने कम्पनीलाई कारबाही नगरी उल्टै कामदारलाई कारागार चलान गर्ने कार्य भइरहेको भन्दै त्यसलाई रोक्न माग गरेको छ ।
कामदारमाथिको शारीरिक तथा मानसिक यातना दिने कार्य तत्काल बन्द गरी नेपाली कामदारको हक–हितको सुनिश्चिततासहित तीन महिनाभित्र मलेसियासँग श्रम सम्झौता गर्नुपर्ने संघको भनाइ छ ।
मलेसियाका रोजगारदाता कम्पनीले समयमा प्रवेशाज्ञा नवीकरण नगर्ने र करार समाप्त भएपछि समयमा नेपाल फिर्ता नगर्ने कम्पनीलाई मलेसिया सरकारले कारबाही गर्नुपर्ने पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उल्लेख छ । रासस