अफगानिस्तानमा बालयौन दुराचारमा अनुसन्धान

अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले प्रहरी सेवाका केही विभागमा बालकहरुमाथि संस्थागत रुपमा यौन दुर्व्यवहार हुने गरेको भन्ने आरोपमाथि अनुसन्धान गर्ने आदेश दिएका छन्।
दक्षिणी प्रान्त उरुज्गनमा प्रहरीले ठुलो संख्यामा बालकहरुलाई यौन दासका रुपमा प्रयोग गर्ने गरेको खबर पत्रकारहरुले प्रकाशित गरेपछि गनीले दुर्व्यवहार गर्नेहरुमाथि मुद्दा चलाउने वताएका हुन्।
राष्ट्रपति गनीले उक्त निकायमा बालकहरुको यौन दुर्व्यवहारका लागि कुनै ठाउँ नभएको भन्दै दोषीहरुमाथि मुद्दा चलाउनका लागि सबथोक गरिने बताएका छन्।
‘बच्चा बाजी’ अर्थात सुरक्षा फौजका सदस्यहरुको यौन साथीका रुपमा बालकहरुलाई प्रयोग गर्ने चलन अफगानिस्तानका केही क्षेत्रमा व्याप्त रहेको प्रशस्त प्रमाणहरु छन्।
फ्रान्सको समाचार संस्था एएफपीको पछिल्लो समाचारमा तालेवानले प्रहरी भित्र घुसपैठ गर्ने, ती पीडित बालकहरुलाई भर्ती गर्ने र प्रहरीमाथि आक्रमण गर्नका लागि ती बालकलाई प्रयोग गर्ने गरेको बताएको छ।
त्यस्ता आक्रमणले सयौं प्रहरीको ज्यान लिईसकेको छ।यो समाचारपछि संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय जगतबाट चिन्ता व्यक्त गरिएको छ।