इजरायलमा नेपालीहरु र उनीहरुको अनुभव

असार , २०७३- इजरायल अन्य देशको तुलनामा राम्रो कमाइ हुने भएकाले आकर्षक गन्तव्यका रूपमा परिचित छ । कुनै बेला ६ लाखदेखि १० लाख रुपैयाँ एजेन्टलाई बुझाएर नेपाली कामदारहरू इजरायल पुग्थे । इजरायल र नेपालबीच हालै भएको श्रम सम्झौताका कारण अब करिब ६५ हजार रुपैयाँमै इजरायल पुग्न सकिन्छ ।
झन्डै पाँच वर्षदेखि नेपाली कामदार लान बन्द गरेको इजरायल सरकार अहिले नेपाली कामदार भित्र्याउन सकारात्मक छ । खास गरेर इजरायलले खेती (एग्रिकल्चर) र सुसारे (केयर गिभर) को क्षेत्रमा विदेशी कामदार भित्र्याउने गरेको छ । यहाँ सुसारे कामदारहरूको संख्या बढी छ र नेपालीहरू पनि धेरै जसो ‘सुसारेका’ रूपमै नै इजरायल भित्रिएका छन् । न्यून संख्यामा खेतीमा काम गर्नेहरू पनि छन् ।
इजरायलको कुल जनसंख्याको करिब २० प्रतिशत मुस्लिम छन् । नेपालसहित फिलिपिन्स, श्रीलंका, भारत, रोमानिया जस्ता देशका कामदारहरू यहाँ सुसारेका रूपमा काम गर्दैछन् । अपांग, अशक्त, मानसिक बिरामी एवं वृद्धवृद्धाको हेरविचार गर्नु सुसारेहरूको मुख्य काम हो ।
मध्यपूर्वमा रहेको इजरायल यहुदिहरूको देशका रूपमा चिनिन्छ । यहाँ आफ्नो तोकिएको काम सकेर कोठामा फर्कन पाइँदैन । जुन घरमा काम छ त्यही घरमा खाने, बस्ने, सुत्ने व्यवस्था हुन्छ । केयर गिभरको काम एक प्रकारले अस्पतालका नर्सहरूको जस्तै हो । घरको सरसफाइ गर्ने, खाना बनाउने, आफूले हेरविचार गरिरहेका व्यक्तिहरूलाई बिहान–बेलुका घर बाहिर घुमाउन लाने यी सामान्य कुरा केयर गिभरले गर्नुपर्ने काम हुन् । बिरामीको अवस्थामा उतारचढाव आए एम्बुलेन्स बोलाएर अस्पताल समेत लानुपर्ने हुन्छ । केयर गिभरलाई इजरायली भाषामा मेतापेल वा मेतापेलेत भनिन्छ जसको अर्थ हुन्छ काम गर्ने मान्छे । इजरायलीहरू मिजासिला र सहयोगी भावनाका हुन्छन् । आफूलाई काममा चित्त नबुझेको कुरा स्पस्ट भन्न पाइन्छ । आफूलाई अन्याय भएको छ, हेपाइ र पेलाइमा परिएको छ भने अदालतको ढोका ढक्ढक्याउन पाइन्छ ।
चित्त नबुझे काम छोडेर अर्कै काम गर्न सकिन्छ । प्राय: सबैजसो इजरायली शिक्षित, आधुनिक विचारधाराका हुन्छन् । कडा कानुन भएकाले त्यहाँ महिला हिंसाका कुराहरू सुनिँदैन । विगत ८ वर्षदेखि इजरायलमा काम गरिरहेका राम ढुंगाना अल्पमतका अनुसार त्यहाँ विदेशी कामदार भनेर हेपिँदैन । ‘कसैले कसैलाई दोस्रो दर्जाको नागरिकको व्यवहार गर्दैनन् ।’ ढुंगानाका अनुसार ‘कुनै पनि घरमा काम गर्दा परिवारका सदस्य सरह व्यवहार गर्छन्, माया गर्छन् । काम पनि सजिलो हुन्छ । कमाई पनि राम्रै हुन्छ ।’ यद्यपि यहाँ समस्या पनि उत्तिकै छन् । चौबीसै घण्टा घरमा बसिरहनु पर्ने दिक्दारी, भनेको समयमा छुट्टी नमिल्ने, दिमाग ठीक नभएकाहरूसँग संगत र उनीहरूको हेरविचार गरिरहनु पर्दा आफैंलाई डिप्रेसन हुने समस्या, राम्रोसँग काम गर्दा पनि इम्प्लोयरले जस नदिने, भाषाको समस्या आदि चाहिँ धेरैले बेहोर्नुपर्छ । यहाँ महिलाहरूको तुलनामा पुरुषहरूले काम पाउन गार्हो छ । हरेक साता कामदारहरूले २६ घण्टा छुट्टी पाउँछन् तर आवश्यकता पर्दा छुट्टी नमिल्न सक्छ । यद्यपि शुक्रबार र शनिबार बिदाको दिन काम गर्दा ओटी पाइन्छ भने अतिरिक्त खर्चका लागि भनेर प्रत्येक साता करिब २५ डलर दिइन्छ ।
काभ्रेपलान्चोकबाट ८ वर्षअघि इजरायल पुगेकी रमा थापाको अनुभवमा धेरै नेपाली महिला दिदी–बहिनीहरूलाई इजरायलले खुसी दिएको छ । ‘आर्थिक अबस्था सुध्रिएको छ । यो महत्वपुर्ण कुरा हो ।’ थापा भन्छिन्, ‘आजसम्म इजरायल आएर गल्ती गरेछु भन्ने कोही पनि भेटेकी छैन । चार वर्षको सम्झौता अबधिमा इजरायल आएर १० वर्षभन्दा बढी बसेका नेपाली थुप्रै छन् ।’ तुलनात्मक रूपमा इजरायलमा विदेशी कामदारका लागि बनाइएको अन्तर्राष्ट्रिय कानुन बलियो भएको बताउँछिन्, भगवती बस्नेत । ‘यो देश नियम कानुनमा चल्छ ।’ बस्नेत भन्छिन्, ‘कसैलाई अन्याय गरिँदैन । कामलाई ठूलो सानो भनिँदैन ।’ उनका अनुसार तलब सुविधामा केही गडबड भए मुद्दा लडेर पनि लिन सकिन्छ । मजदुरको मुद्दा नि:शुल्क हेर्ने निकाय छ ।
१० वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा इजरायलमै बसिरहेकी पर्वतकी दीपिका भुसाल आफूले सही गन्तव्य रोज्न सकेकोमा खुसी छिन् । यहाँको विकास र प्रगति देखेर उनी अचम्मित छिन् । यहाँ रहँदा सिकेका कुराहरू स्वदेश फर्किएपछि पछ्याउने विषयमा बेलाबखत साथीभाइहरूसँग कुरा गरिरहन्छिन् । भुसाल भन्छिन्, ‘हाम्रो जस्तो अल्पविकसित मुलुकका लागि इजरायल प्रेरणाको स्रोत हुनसक्छ ।’ रामेछापकी मुना ढकाल पनि दीपिकाको कुरामा सहमत छिन् । ढकालको अनुबमा इजरायलले प्रयोग गरिरहेको आधुनिक कृषि प्रविधि तथा आधुनिक तरिकाले खेती गर्ने तरिकाहरू सिकेर हामिले अपनाइराखेको जीविकामुखी परम्परागत कृषि प्रणालीलाई विस्थापित गरेर खेतीमा आधुनिककरण गर्न सकिन्छ ।
न्यूनतम तलब सामान्यत: १ लाख रुपैयाँभन्दा माथि नै हुन्छ । यदि शुक्रबार, शनिबार अतिरिक्त काम गर्ने हो भने २० देखि ३० हजार रुपैयाँ थप हुन्छ । ६ वर्षअघि इजरायलमा नेपाली कामदारहरूको संख्या झन्डै २० हजार थियो । यतिबेला करिब चार/पाँच हजारको संख्यामा मात्र छन् । अधिकांश नेपाली यतैबाट युरोप, अमेरिका तथा क्यानाडा छिर्छन् । भिसा सकिएपछि आफ्नै देश फर्किरहेकाहरू पनि थुप्रै छन् । छुट्टीमा साथीभाइहरूसँग रमाइलो गर्न, समय कटाउन तेलअभिव, जेरुसलेम, हाइफा, नारिया, तिबेरिया जस्ता मुख्य सहरहरूमा नेपालीहरूले छुट्टै अपार्टमेन्टहरू लिएका छन् ।
छुट्टीका बेला रमणीय ठाउँ घुम्न जाने, नेपाली चाडपर्वहरू मनाउने, बेला–बेला नेपालबाट कलाकारहरू बोलाएर सांस्कृतिक कार्यक्रम आयोजित गर्नु यहाँको नियमितता हो । सामान्यतया: यहाँ काम गर्न पाइने अवधि भनेको चार वर्ष तीन महिना मात्र हो । त्यो समय कटेपछि आफूले हेरविचार गर्दै आएको व्यक्ति बाँचुन्जेल र मालिकले आफूलाई मन पराएर राखुन्जेल जति पनि बस्न पाइन्छ । समग्रमा भन्नुपर्दा पुरुषहरूको तुलनामा महिलाहरूका लागि एकदमै राम्रो र भरपर्दो गन्तव्य हो– इजरायल ।
इजरायल विश्वको एकमात्र अघोषित यहुदी राष्ट्र हो । इजरायलले संसारको जुनसुकै कुनामा रहेका यहुदीहरू इजरायल आउन चाहे स्थायी बसोबासको बन्दोबस्तसहित इजरायली नागरिकता दिएर स्थापीत गराउँछ । आठ वर्षअघि काभ्रेपलान्चोकबाट कामको सिलसिलामा इजरायल पुगेका सुबास खरेल ‘सुबु’ को नजरमा देश बनाउने कि बिगार्ने भन्ने कुरामा जति राजनीतिज्ञहरूको हात हुन्छ, त्यत्ति नै जनताको पनि हात हुन्छ । ‘नेताहरूले देश बिगारे भनेर गाली मात्र गरिरहनुको सट्टा इमान्दार बन्न सिकौ ।’ खरेल भन्छन्, ‘एउटा असल नागरिकले राष्ट्रकाप्रति निभाउनु पर्ने भूमिका र कर्तव्य पूरा गर्न नचुकौं ।’
महिलाहरूका लागि सुरक्षित
-सिम्रन डिसी
कसरी इजरायल पुग्नुभयो ?
प्लस टु दिएर बसेको थिए । इजरायलमा केयर गिभरमा महिला कामदार माग गरिएको विज्ञापनमा आँखा पर्यो । नेपालमा पढाइ सकेर पनि जागिर नपाइने र पाए पनि जीवन धान्ने पैसा नहुने देखेर इजरायल जाने मनसाय बनाए । घरमा सल्लाह गरेर केयर गिभर भिसामा यता आइपुगें ।
काम गर्न कत्तिको गार्हो भयो ?
बिरानो देश, नयाँ परिवेश, यहाँको रहनसहनमा भिज्न धेरै गार्हो भयो । यद्यपि मैले काम गर्नुपर्ने घरबाट मैले छोरीको जस्तै माया पाए । पछि रमाउँदै गएँ ।
इजरालयको मन परेको पक्ष के हो ?
यहाँ महिलालाई सम्मान गरिन्छ । पुरुषहरूले पनि घरको काममा सघाउँछन् । यो महिला अधिकार राम्रो भएको देश हो । इजरायलमा शतप्रतिशत रोजगारी छ । यहाँ महिला हिंसा बलात्कार जस्ता घटना शून्य प्राय: छन् । इजरायलीहरू मिलनसार छन् । इमान्दारीताको कदर गर्छन् । मिलेर देश बनाएका छन् ।
त्यता आउन चाहनेहरूलाई कुनै सुझाव ?
इजरायल महिलाहरूका लागि सुरक्षित र आकर्षक गन्तव्य हो । त्यसैले यता आउन खोज्ने दिदी–बहिनीहरूले नडराइ आए हुन्छ । अहिले नेपालबाट कम लागतमा यता ल्याउने कुरा सुनिएको छ त्यसो हो भने अझ राम्रो ।
कमाई सन्तोषजनक छ
-राम ढुंगाना ‘अल्पमत’
इजरायल नेपालभन्दा धेरै सानो राष्ट्र हो । यो चारैतिरबाट दुश्मन देशहरूले घेरिएको छ । यस्तोमा यो देशले आफूलाई सुरक्षित राखी विकास र प्रविधिमा उत्कृष्टता हासिल गरेको छ । मेहनत र परिश्रमले मरुभूमिलाई हरियाली बनाएका छन् इजरायली जनताले । यहँँको आधुनिक कृषि प्रविधि विश्वमै अग्रस्थानमा छ ।
विगत ८ वर्षदेखि म इजरायलमा छु । सुरुका दिनमा मेरा लागि इजरायल निकै कठिन भयो । भनेजस्तो काम नपाएर करिब आठ महिना बेरोजगार भइयो । इजरायल बाहिरी दुनियाँले बुझेको भन्दा एकदम फरक छ । बाहिरी दुनियाँले इजरायलका बारेमा जति नकारात्मक सोच्छ इजरायलीहरू बास्तबमै त्यस्ता छैनन् । उनीहरू असल र राम्रा छन् ।
इजरायल बस्दा मैले सिकेको सबैभन्दा राम्रो कुरा कामको सम्मान नै हो । इजरायलीहरू आपसमा लडाइँ– झगडा गर्दैनन् र कानुनको अक्षरस पालना गर्छन् । परेको बेलामा देशका लागि एकजुट हुन्छन् । कमाइको हिसाबले पनि म सन्तुष्ट नै छु । यो देश सुरक्षित छ र यहाँ महिलाहरू हिंसा अनि शोषणमा पर्ने गरेका छैनन् । इजरायल आउन चाहने महिलाहरू निर्धक्क भएर आउँदा हुन्छ ।
हाम्रो देश नेपाल जहाँको उर्बर भूमिमा मेहनत र परिश्रम रोप्ने हो भने सुन फल्छ भन्ने कुरा इजरायलको कृषि क्षेत्रको घुमघामबाट मैले अनुभव गरे । इजरायलमा खासगरी अहिले पनि थुप्रै नेपाली कृषि प्रशिक्षार्थी कामदारका रूपमा विभिन्न किसिमका कृषि तालिम लिइरहेका छन् । इजरायलमा विशेष गरेर कृषि विषय पढ्न आउन चाहनेहरूका लागि राम्रो छ ।
– नरेन्द्र रौले/कान्तिपुर(साप्तहिक)