समिर लामा तामाङको प्रश्न – डाक्टरसा’ब तपाईं सक्कली कि नक्कली ? –

डा. समिर लामा तामाङ
हिजोआज म बिरामी र उनका आफन्त भएर सोचिरहेको छु । उनीहरुको दुविधा महशुस गरिरहेको छु । जब सीआइबी प्रमुख डिआइजी नवराज सिलवालले ‘१७ हजार डाक्टरमा करिब २ हजार नक्कली प्रमाणपत्रधारी वा नक्कली डाक्टरहरु छन्’ भनेर सञ्चारमाध्यमबाट भनिदिनुभयो । सबै मिडियाले यसलाई प्राथमिकताका साथ प्रस्तुत गरे ।
‘नक्कली डाक्टरहरु जसले बिरामीको ज्यानसँग खेलबाड गर्छन् । अप्रेसन गर्ने बेलामा पेटभित्र कैंची छोड्छन् । पाठेघरको अप्रेसन गर्ने बेलामा घाँटीको गर्दिन्छन् । बिरामीलाई छलेर ढाँटेर सुकुम्बासी बनुन्जेलसम्म लुट्छन् । मेडिकल इथिक्स बिर्सेर पैसाको लागि काम गर्छन् । यस्ता डाक्टरहरुबाट बच्नुहोस् अथवा सीआइबी र नेपाल मेडिकल काउन्सिलको ‘अप्रेसन क्वाक’ले यस्ता डाक्टरहरुलाई समातेर नेपालको मेडिकल क्षेत्रलाई सफा बनाउने छ ।’ हिजोआजका समाचारका आशय यस्तै हुन्छन् ।
समस्या जनता विचराहरुलाई छ !
२ हजार जना नक्कली भन्छन् । नाम चलेका नि समातिएका छन् । बकाइदा लाइसेन्स लिएको नम्बर भएका नि नक्कली भन्दै भकाभक समातिएका छन् । यी नक्कलीहरुले त लापरवाही गर्छन् । जीउज्यानसँग खेलबाड गर्छन् भन्छन् । अब कसरी चिन्नु यिनलाई ? सक्कली डाक्टर भनेर कसरी थाहा पाउनु ? के को आधारमा कुनै डाक्टरलाई सक्कली वा नक्कली मान्नु ? वर्षौंदेखी आफूले देखाएको डाक्टरले नि एमबीबीएस कहाँ पढेको, एमडी कहाँ गरेको त थाहा होल ? तर, उसको स्कुल कहाँ’थ्यो, आइएस्सी, प्लसटु कहाँबाट गरेको’थ्यो कसरी थाहा पाउन ?
ल, डिआइजी साबले भन्याझैं सिधै डाक्टरलाई नि सोध्यौं रे, कुनै पनि डाक्टरले आँफैले “म नक्कली हो” वा “मेरो प्रमाणपत्र नक्कली छ” भन्ला र ? यसो भन्नु भनेको होटलको साहुजीलाई ‘खाना बासी हो कि ताजा हो ?’ भनेर सोधेको जस्तो भएन र ? कसैले ‘मेरो होटलको खाना बासी हो नखानुस्’ भन्छ र ? कसैले ‘सक्कली हुँ” भनेर भन्यो भने पनि के आधारमा पत्याउने ? विदेशमा पढेकालाई नक्कली भनौं भने नेपालमै पढेका नि परेका छन् । मेडिकल काउन्सिलले दिएको लाइसेन्स नम्बरलाई मात्र त झन् पत्याउन मिल्ने कुरै भएन । अनुहार हेरेर, को कत्तिको सिनियर डाक्टर हो भनेर पनि सक्कली नक्कली छुट्टाउन नमिल्ने भो । सिनियर डाक्टरहरु पनि परेका छन् ।
मेडिकल काउन्सिलले दिएको लाइसेन्स नम्बरको पनि भर नभएपछी अब जनताले सक्कली नक्कली आफंैले छुट्टाउनु पर्ने भो । यसको सजिलो उपाय भनेको बिरामी निको भए डाक्टर सक्कली, निको नभए डाक्टर नक्कली ! जुन उपाय एकदमै गलत हो, किनकी सक्कली डाक्टरले नि सबै बिरामी बचाउन सक्दैनन् र नक्कली भनिएका डाक्टरले पनि बिरामी निको पार्छन् । सक्कली डाक्टरले नि अप्रेसन गर्दा टालो छोड्न सक्छन्, नक्कली भनिएका तर एमबीबीएस एमडी, एमएस गरेका डाक्टरले नि राम्रै अप्रेसन गर्न सक्छन् ।
यो भनेर मैले दुइटा कुरा भन्न खोजेको हैन । एउटा, तर्साउन खोजेको हैन तर मेडिकल क्षेत्रमा गल्ती, लापरवाही नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा मात्र हुने हैन । विश्वका हरेक विकसित देशमा पनि यस्ता खाले मेडिकल ‘इरर’ र ‘नेग्लिजेन्स’ भएका छन् र हुन्छन् नै । अमेरिका, बेलायत जस्ता देशहरुमा यो सबै सक्कली डाक्टरहरुले नै गरेका हुन् । बरु यस्ता दुर्घटनाहरुलाई सकेसम्म कम गर्न सिस्टमलाई सुधार गर्ने काम भने नियमित भइरहनुपर्छ ।
दोस्रो, नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा एमबीबीएस एमडी गरेकालाई सजायबाट उन्मुक्ति दिने भनेको हैन । उनीहरुले छल गर्या हुन् । उनीहरुले नक्कली प्रमाणपत्र पेश गरेर त्यसका आधारमा मेडिकल शिक्षा लिएका हुन् । उनीहरुले त्यसको कानुनतः सजाय भोग्नैपर्छ । तर मिडिया र प्रहरीले प्रस्तुत गरे जस्तो एसएलसी र प्लसटुका प्रमाणपत्र नक्कली भयो भन्दैमा सक्कली एमबीबीएस र एमडी गरेका डाक्टरहरुले बिरामी हेर्दा सबै बिरामी मार्छन् । अप्रेसन गर्दा सधैं गल्ती गर्छन् र यस्ता लापरवाही गर्ने, जीउज्यानसँग खेलबाड गर्ने, मान्छे मार्नसक्ने नक्कली डाक्टरहरु खुल्लमखुल्ला छन् भनेर भन्नु चैं सरासर गलत हो । यसले बिरामी डाक्टरबिच बाँकी भएको अलि–अलि विश्वासलाई नि समाप्त गरिदिन्छ ।
यसले बिरामीहरुलाई मात्र हैन, डाक्टरहरुलाई पनि समस्या दिन्छ । डाक्टर र बिरामीको सम्बन्ध विश्वासमा अडेको हुन्छ । आफूलाई देखाउन आएको बिरामीले पहिलो प्रश्न नै ‘तपाई सक्कली नि नक्कली ?’ भनेर सोध्यो भने त्यो सम्बन्धको विश्वास त्यही समाप्त हुन्छ । रोग निको हुने कारणमध्ये एउटा विश्वास हो । अझ ‘डाक्टरले जाँच्नुभयो औषधि पनि दिनुभएको छ र निको हुन्छु’ भन्ने सकारात्मक सोचले पनि बिराम निको हुने सघाउने हुन्छ ।
यस्तो अवस्थामा डाक्टरले के देखाएर आफू सक्कली भनेर प्रमाणित गर्ने र बिरामीलाई विश्वास दिलाउने ? प्रमाणत्र नै देखाए पनि ती सक्कली नै हुन् भन्ने के प्रमाण हुन्छ र ? फेरि कती जनालाई आफू सक्कली हुँ भनेर सम्झाइरहने ? बडो समस्याको अवस्था आयो ।
सीआइबी र एनएमसीले के गर्नुपर्छ त ?
यसै नि विश्वासको खडेरी परेको बेलामा डाक्टर–बिरामीबीचको सम्बन्धलाई यति हल्का रुपमा लिन हुन्नथ्यो । कुन डाक्टर सक्कली कुन नक्कली भनेर छुट्ट्याउने काम बिरामीको होइन । यदी सबै बिरामीले डाक्टरलाई यसरी सोधेर सक्कली छुट्ट्याउनु पर्ने, डाक्टरले सबै बिरामीलाई आफू सक्कली भएको प्रमाण पेश गरिरहनुपर्ने हो भने नेपाल मेडिकल काउन्सिल भन्ने संस्थाको के काम ? हुन त यही विश्वासलाई मजबुत बनाउनलाई यो क्षेत्रको सफाइ अभियान शुरु गरिएको हो । तर यो अभियान नसकिएसम्म वा भनौं सीआइबीले “अब नेपालमा नक्कली प्रमाणपत्रधारी वा नक्कली डाक्टरहरु छैनन् । सबै सक्कली हुन्’ भनेर घोषणा नगरेसम्म यो दुविधा र दोधारको अवस्था रहिरहने हो त ? त्यतिन्जेल बिरामीले आफ्नै मगजले भ्याएसम्म “यो सक्कली होला यो नक्कली होला’ भनेर आफैंले निर्णय गर्ने हो त ? त्यतिन्जेलसम्म डाक्टरहरुले पनि ‘तपाई सक्कली कि नक्कली डाक्टर ?’ भन्ने शंकालु प्रश्नको प्रहार विरामीको शब्द र नजरमा भेटिरहने हो त ? कहिलेसम्म सकिन्छ त यो अभियान ? कहिले दिन्छ त सीआइबीले नेपाली मेडिकल क्षेत्रलाई ‘क्लिन चिट’ ?
छिट्टै सकिन्छ भने त ठिकै हो तर यो यदि लामो समय चल्यो भने यसले नेपालकै मेडिकल क्षेत्रलाई दीर्घकालिन असर गर्छ । बिरामीहरु सकेसम्म नेपाल बाहिर देखाउन जाने प्रचलन झन् बढेर जान्छ, जुन बिरामी, डाक्टर र देशकै लागि नराम्रो कुरा हो । लापरवाहीको आरोप लाग्ने, अस्पताल तोडफोड हुने, क्षतिपूर्ति माग्ने चलन झन बढेर जान्छ । जसले अन्ततः विश्वासको खाडल झन् गहिरो बनाएर लान्छ ।
एउटा उपाय भनेको सीआइबीले सक्कली डाक्टरहरुलाई एउटा ‘क्लिन’ प्रमाणपत्र दिन शुरु गर्नुपर्यो वा उसको वेबसाइट वा कतै भरपर्दो स्थानमा सबै प्रमाण सक्कली भएका डाक्टरहरुको नाम ‘यिनिहरु सक्कली हुन् है’ भनेर एउटा लिस्टमा निकाल्नुपर्यो । जुन हेरेर जनता वा बिरामीले आफूले जँचाएको डाक्टर सक्कली हो कि हैन भनेर आफैंले छुट्ट्याउन सकुन् । हुन त यसले गर्दा लिस्टमा नाम नपरेका डाक्टरहरुलाई अफ्ठ्यारो पर्न सक्छ । पछि अदालतबाट ‘क्लिन चिट’ पाएर सक्कली भनेर आएपछि पहिलेको लिस्टमा नाम नआएर गुमेको साख फिर्ता पाउन गार्हो हुन्छ ।
अर्को र मलाई मन परेको उपाय भनेको चाहिँ सीआइबी र एनएमसी दुवैले यो अभियान समाप्त नभएसम्म शंकाको घेरामा परेका डाक्टरहरुलाई “तपाई यो अनुसन्धानमा शंकामा पर्नु भएको छ, तपाईंको प्रमाणपत्र नक्कली हुनसक्ने भन्ने प्रमाणहरु फेला परेका छन् । त्यसैले अदालतबाट यो प्रमाणित नभएसम्म तपाईंले आफ्नो मेडिकल प्राक्टिस बन्द गर्दिनुहोला, अन्यथा कार्वाही गरिनेछ’ भन्ने खालको पत्र लेख्नुपर्यो ।
शंकामा भएका सबैले प्राक्टिस बन्द गरे नगरेको हेरेर यकिन भएपछी सीआइबी र एनएमसीले “नक्कली प्रमाणपत्र हुनसक्ने सबै डाक्टरहरुलाई हामीले प्रमाणित नभएसम्मका लागि बिरामी हेर्नबाट रोक लगाएका छौं, अहिले मेडिकल प्राक्टिस गरिरहनुभएका सबै डाक्टरहरु सक्कली हुन् तपाईंहरु ढुक्क भएर जचाउन सक्नुहुन्छ’ भन्ने खालको सार्वजनिक सूचना निकाल्नुपर्यो । तब मात्र सर्वसाधारण जनताले आफू बिरामी हुँदा ढुक्क भएर जँचाउन सक्छन् । ढुक्क भएर आफ्नो उपचार गराउन सक्छन्न् । साथै सबै प्रमाणपत्र सक्कली भएका डाक्टरहरुले पनि निर्धक्क भएर आफ्नो काम गर्न सक्छन् । अनुसन्धानलाई पूरा गराउन अलि समय लाग्ने जस्तो देखिएमा यत्तिको जिम्मेवारीको काम गर्दिए सीआइबी र एनएमसीलाई अरु धन्यवाद दिन सकिन्थ्यो होला ।