मगध र बुद्ध धर्मसँग मगरहरूको भाषागत सम्बन्ध

बुद्ध धर्म संसारकै सबैभन्दा पुरानो धर्म हो । अहिले विश्वमा मुख्य रुपमा चार प्रमुख धर्म रहेका छन् । जनसंख्याको हिसाबमा विश्वको दोश्रो ठूलो धर्म बुद्ध धर्म हो । जनसंख्याको दृष्टिले इसाई धर्म ठूलो भएता पनि इसाई धर्मभन्दा बुद्ध धर्म ६ सय वर्ष पुरानो धर्म हो भने इस्लाम धर्मभन्दा १२ सय वर्ष पुरानो धर्म हो ।
इसाको दुई सय वर्ष पहिले अशोक महाराजले सयौ “मग्ग” जातिलाई धर्मदूतको रुपमा प्रसिया, ग्रीक, इजिप्ट, उत्तरी अफ्रिकासम्म पठाएर बुद्ध धर्मको व्यापक प्रचार गर्नुभएको थियो। यसै कारण पश्चिमा मुलुकमा बुद्ध धर्मको राम्रो प्रभाव थियो ।
बुद्धकालमा एउटा धार्मिक धर्म र विधि थियो जसलाई वैदिक धर्म भनिन्थ्यो । पाँचौं शताब्दीभन्दा पहिले हिन्दू धर्म चिनाउने कुनै वास्तुकला पाइँदैन। हिन्दूहरूले भनेअनुरुप देवनागरी लिपिलाई नै प्राचीन मान्ने हो भने अशोक स्तम्भमा लेखिएको ““भर्मिये रिक्की“” (ब्राह्मी लिपि) मा रहेको लिपिभन्दा पुरानो हुनुपर्ने हो । तर हिन्दू धर्मको सबैभन्दा पुरानो ग्रन्थ “रुद्र दमन” संस्कृत भाषामा भएता पनि लिपि भने ब्राह्मी लिपि (भर्मिये रिक्की) मै लेखिएको छ।
तिनै “मग्ग” जाति (आजका मगर) ले लिपि, साहित्य संसारमा सबैभन्दा पहिले विकास गरेका थिए। तिनै “मग्ग” मगधीहरू बुद्ध धर्म अनुयायी थिए जसले आफूलाई लिपि, सहित्य सिर्जनामा अब्बल बनाए । आज तिनै मग्गका सन्तान मगरहरूमा ती सबै नरहेता पनि विभिन्न कुराहरू भाषागत रुपमा, सांस्कृतिक रुपमा, परम्परागत रुपमा अहिलेका मगरहरूले जोगाएर राखेका छन ।
तत्कालीन जम्बुदीपमा मुख्य रुपमा मगधी र संस्कृत चलनचल्तीका भाषा थिए । मगधी भाषा मग्ग जातिले बोल्ने भाषा बसाइँ सराइ र समयसँगै परिवर्तन हुँदै गयो । त्यही कारणले हुनुपर्छ अहिले पनि मगधी (पालि) भाषामा मगर भाषा धेरै मिल्न गएको छ । जसरी हिन्दू र मुसलमान शासहरुको आक्रमणले बुद्ध धर्म भारतबाट लोप भयो त्यसरी नै तत्कालीन मगधी (पालि) भाषालाई पनि जनमानसबाट लोप गराइयो ।
आठौं र नवौं शताव्दीमा हिन्दू शासहरुहरूले बुद्ध धर्ममाथि आक्रमण गरे । त्यसै क्रममा बुद्ध विहारहरू नष्ट गरिए भने कतिपय बुद्ध विहारलाई हिन्दूको मन्दिरको रुपमा परिवर्तन गरिए । त्यही समयमा केडारिक बुद्ध विहारलाई हिन्दू मन्दिरमा परिवर्तन गरियो जो अहिले हिन्दूहरूको प्रसिद्ध मन्दिर केदारनाथ बनेको छ । त्यतिबेला तत्कालीन भाषालाई पनि नष्ट गरियो । उनीहरू कतिसम्म हिंस्रक भए भने आफ्नो शासन जोगाउन जे गर्न पनि पछि तयार भए । उदाहरणका लागि नेपालकै म्याग्दी, पर्वत, बाग्लुङ, गुल्मी, अर्घाखाँचीका मगरहरुलाई लिन सकिन्छ । यी ठाउँका मगरहरुले मगर भाषा बोलेमा दण्ड तिर्नुपर्ने कानुन हिन्दू शासकले लागू गरेकाले ती ठाउँबाट मगर भाषा लोप हुन गयो ।
भगवती शब्द पालि भाषाको “भगवा (भगवता (भगवतो (भगवती” बाट बनेको हो । यसको अर्थ हुन्छ “तस्मिं भगवती बर्ह्मिय/चारियं चराम” अर्थात उहाँ भगवान् मेत्त/मुदिता/उपेक्खा/करुणाले सम्पन्न हुनुहुन्छ । तर यो शब्दलाई हिन्दूहरूले परिवर्तन गरेर गलत रुपमा प्रयोग गरे।
यसरी मगर समाजमा रहेको बौद्ध परम्परालाई हिन्दू शासकले जबर्जस्ती रुपमा परिवर्तन गराएका थिए । तर पनि मगर समाजमा हिन्दू धर्म एउटा कर्मकाण्ड चलाउने माध्यम मात्र बन्यो । यसले मगर समाजमा रहेको सांस्कृतिक परम्परालाई खासै असर पार्न सकेन । हिन्दू शासकहरुले मगर समाजमा आफ्नो मातृभाषा बोल्नमा बन्देज लगाए पनि रोक्न भने सकेनन् । अहिले मगर जातिमा तीन किसिमका भाषा प्रयोगमा रहेको पाइन्छ । प्राचीन “मग्ग” लिच्छवि जातिले बोल्ने भाषा नै मगधी भाषा थियो । त्यस समयको मगधी भाषा नै अहिलेको पालि भाषा हो । अझै पनि मगरले बोल्ने भाषा र पालि भाषामा शब्दहरू मिल्छन् ।
भाषा समयअनुसार हरेक १० कोष पर पुगेपछि परिवर्तन हुन्छ । मगर भाषामा पनि अरु भाषा मिसिन पुग्यो । यसमा खस नेपाली भाषा धेरै घुलमिल हुन पुग्यो जसले गर्दा मगर भाषामा परिवर्तन हुन गयो । मगरको पहिचान ओझेलमा परेता पनि हाम्रो पहिचान, विरासत आजभन्दा २५ सय वर्ष पहिलेदेखिको थियो भन्ने कुरा लिखित प्रमाण हामीसँग जीवितै छन् । संसारको पुरानो धर्मग्रन्थ बुद्ध धर्मग्रन्थ तत्कालीन मग्ग जातिले विकास गरेको लिपि “बर्ह्मिय रिक्की” पछि ब्राहमी लिपि बन्न पुग्यो ।
पालि भाषासँग मेल हुने मगर शब्द
१, नालंदा (विश्वको सबैभन्दा पुरानो विश्वविद्यालय “नालंदा” विश्वविद्यालयको नामंकरण मगर भाषामै गरिएको थियो भन्ने स्पष्ट हुन्छ । किनभने “नालंद” शब्दको अर्थ पालि भाषा र मगर भाषामा एउटै हुन्छ । पालि भाषाका दुईटा शब्द “नालन” र “लद्धा” मिलेर नलनंलद्धा भएर “नालंद” बनेको हो । यसको अर्थ कमलको फूल भेटियो, रखियो हुन्छ । “नालन” अर्थात कमलको फूल, “लद्धा” अर्थात भेटियो, राखियो हुन्छ। बुद्ध धर्ममा कमलको फूललाई शिक्षाको प्रतीक मानिन्छ । मगर भाषामा पनि दुईटा शब्द मिलेर बनेको छ । “नालन” अर्थात कमलको फूल र “डा, दा” अर्थात राख्यो, राखियो हुन्छ ।
उक्त विश्वविद्यालय शुरुमा बुद्ध धर्ममा अग्रश्रवक सारीपुत्र र मौदगल्यान भिक्षुको जन्मस्थनमा इसाको तेश्रो शताब्दीमा भिक्षु कुमारजिवले नालंद विहारको नाममा स्थापना गर्नुभएको थियो । शिक्षाको केन्द्र स्थापना गरियो भन्ने अर्थमा नालंद विहार नामकरण गरी उक्त विहारको स्थापना भएको थियो । यो विहार इसाको पाचौं शताब्दीमा आइपुग्दा महाविहारको रुपमा विकसित भइसकेको थियो । इसाको पाचौं शताब्दीमा सम्राट कुमार गुप्तको समयमा यस नालंद महाविहारलाई नालंद महाविद्यालयको रुपमा स्थापना गरियो । यसलाई संसारको पहिलो महाविद्यालयको रुपमा मानिन्छ।
यस विश्वविद्यालयमा मुख्य रुपमा बुद्ध धर्म दर्शनका साथै अन्य १४ वटा शास्त्रमा अध्यापन गराइन्थ्यो । यहाँ खगोल शास्त्र, ज्योतिष शास्त्र, जीवविज्ञानजस्ता विषयमा अध्यापन हुन्थ्यो । यहाँ अध्ययनको लागि चीन, जापान, कोरिया, श्रीलङ्का, तिब्बत, इन्डोनेशिया, श्याम, ग्रीकबाट आउने गर्थे । प्रसिद्ध चिनियाँ यात्री हुयान सांग, फाहि यान पनि अध्ययनका लागि यहाँ आइपुगेका थिए । त्यतिबेला यहाँको आचार्य भिक्षु शिलभद्र थिए हुयान सांग यात्रा विवरणअनुसार । यहाँ अध्ययनको लागि सबै सम्प्रदायको लागि ढोका खुल्ला थियो, कुनै किसिमको रोकतोक थिएन । यहाँ बसेर अध्ययन गर्न भिक्षु जीवनमा बसेर भिक्षु विनयको कडा पालन गर्नुपर्दथ्यो ।
यही नालंद महाविद्यालयमा हिन्दू धर्मका प्रवर्तक शंकराचार्यका गुरुले पनि अध्ययन गरेका थिए । त्यस बेलाको समाजमा हिन्दू धर्ममा आस्था राख्नेहरू घट्दै गएको थियो । त्यसकै बदला लिने सोचले हिन्दू ब्राम्हणले षड्यन्त्रपूर्वक त्यहाँ अध्ययन गर्ने बहानामा शंकराचार्यलाई पठाएका थिए । यसै कारण नालंद विश्वविद्यालय पहिलोपल्ट हिन्दूहरूको आक्रमणको शिकार बन्यो।
२, बुद्ध धर्ममा सबैभन्दा उतम तीर्थस्थाल लुम्बिनी हो, जहाँ भगवान बुद्ध जन्मनुभएको थियो । उक्त स्थानको नाम पनि मग्ग (मगर) भाषाबाटै रहन गएको हुनुपर्छ । मग्गहरूको भाषामा लुम्बिनीलाई “लुंबेनी” भन्ने गरिन्थ्यो । दुईटा शब्द “लुङ” अर्थात समथर, सुन्दर र “बेनी” अर्थात संगमस्थल मिलेर “लुंबेनी” बन्न पुगेको हो । पालि भाषामा “लुंम्विनी“, “रुम्विनी” भन्ने गरिन्थ्यो । पालि भाषाको “लुंम्वाना” शब्दबाट बनेको हो, अर्थात समथर, सुन्दर, जंगल, संगम स्थल भन्ने हुन्छ ।
उक्त समयमा त्यस ठाउँमा सबै भेला हुने सगम स्थल, सुन्दर बगैंचा थियो, जसले गर्दा “लुंम्विनी” नाम रहन पुगेको हो । प्रसिद्ध चिनियाँ यात्री हुयान सांगले आफ्नो यात्रा विवरणमा “लाम्वानी (लाफानी (लांवानी” उल्लेख गरेको पाइन्छ । संस्कृत भाषामा “लावन्य” शब्दबाट बनेको हो पनि भन्ने गरिन्छ ।
उच्चारणमा समान्तार अर्थ दिने खालका छन पालि भाषा “लुंम्विनी (रुम्विनी“, मग्ग (मगर) भाषा “लुंबेनी/लुङ्बेनी” । यी शब्दको अर्थ र उच्चारण एउटै हुनुले पनि मगर भाषाबाटै नाम रहन गएको हुनुपर्छ ।
पालि भाषा र मगर भाषाका केही शब्दको तुलना गरेर यी दुई भाषाबीच समानता देख्न सकिन्छ ।
पालि (मगधी) मगर(ढुट) नेपाली
इमं इलाङ यहाँ
देम डेम भनेर
पुजेम पुजट्न पूजा गर्नु, सेवा गर्नु, गुणगान
देवानं देउङ देवता
वक्क वक्का ओकल्नु, मुखबाट निकाल्नु
भगवान बुद्धको पुर्खा “वक्क” सूर्यवंशी थिए । बुद्ध भगवानको पुर्खा “वक्क”ले बोल्दा मुखबाट अनौठो किसिमले तेज, प्रकाश निस्कने भएकोले “वक्क” सुर्यवंशी भनिएको थियो । “मग्ग” (मगर)जातिको पुर्खा पनि “वक्क” सुर्यवंशी नै थिए । “वक्क” सुर्यवंशीकै दुई भाइ सन्तान हुन शाक्य र मग्ग (मगर) ।
पालि (मगधी) मगर(ढुट) नेपाली
“सुत्त सुत्ता धागो
यानित यानिहत लिनु, दिनु, प्राप्त गर्नु
याम याम वेला ,समय, पहर
मासं मैनां महिना
मत्तं मत्तै मात्रै
आस्स आस्स/ आस्के ऊ, उसलाई
कुत्तो कुटौ कहाँबाट
मनं मनाङ लगभग
वद्देय वद्डेके थप्नु, बढाउनु
वहन्ती वहुर्नी धुनु, पखाल्नु
“ब्रह्मिय”, “ब्राह्मी” (“ब्रहमियो“ (अर्थात चार गुण मेत्ता : मुदिता : करुना : उपेक्खा भएको मानिस हुन्छ भने मग्ग (मगर) भाषामा भर्मी : भर्मीको : भर्मिय भन्ने हुन्छ।
पालि (मगधी) मगर(ढुट) नेपाली
चे चे यदि
जन जन समूह
जीवय जीवाक्कं बाँच्नु, बचाउनु
ठान थान स्थान
त्वं न्व तिम्रो, तेरो
भार भार बोझ, भारी
माघातो मासाटो नमार
सुत्तं “सेनाङ“ (सेम्या) सुनेको
अलं ओलाङ पुग्यो, भयो
यसरी पालि शब्दकोश र मग्ग (मगर) शब्दकोशलाई तुलना गर्दा यस्ता शब्द अनगिन्ती पाउन सक्छौं । यसले के स्पष्ट गर्दछ भने बुद्धकालीन मग्ग (मगर) जातिले बोल्ने मगधी भाषा (पालि भाषा) चलनचल्तीको भाषा थियो |
-भिक्षु मगर / @ esamat.com