बंगलादेशले नेपाललाई दियो १० लाख किलो चामल अनुदान

असार १२, २०७३- बंगलादेश सरकारले नेपाललाई दोस्रो पटक १० हजार मेट्रिक टन (१० लाख किलो) चामल अनुदान उपलब्ध गराएको छ । जस अनुसार पहिलो चरणमा भित्रिएको २ सय ५० टन चामल आज सरकारका प्रतिनिधिलाई बंगलादेशी प्रतिनिधिले हस्तान्तरण गरे ।
बंगलादेश सरकारका अधिकारीहरु मोहम्मद महकुवुल हक र मोहम्मद वाकीकुल इस्लामले सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटा र नेपाल खाद्य संस्थान मेचीका प्रमुख मर्कन्डेप्रसाद जैसवाललाई चामल हस्तान्तरण गरे ।
सरकारको मन्त्री परिषदले निर्णय गरेका कारण चामलको कुनै भन्सार महसुल, भ्याट र अन्य कर नलाग्ने मेची भन्सार प्रमुख भीमप्रसाद अधिकारीले जनाए । ‘सहयोगको चामल भएकाले भन्सार शूल्क नलिने निर्देशन छ,’ अधिकारीले भने ।
व्यापार, वाणिज्य प्रवद्र्धन तथा संस्कृति मन्त्रालयका प्रथम सचिव महकुवुल हकले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको निर्देशनपछि सरकारले नेपाललाई अनुदानमा चामल उपलव्ध गराएको बताए । गत वर्षको १२ वैशाखको महाभुकम्प लगत्तै बंगलादेशले विपत्ती टार्न १० हजार मेट्रिक टन चामल उपलब्ध गराएको थियो ।
‘नेपालका लागि छिमेकीको सानो सहयोग हो,’ हकले भने, ‘नेपाललाई सदैव सहयोग गर्ने पक्षमा बंगलादेश सरकार छ ।’
गत वर्ष पठाएको चालम लामो समयसम्म झापाका गोदाममा सडाएर राखिएको थियो । संचारमाध्यमहरुले समाचार प्रकाशित गरेपछि सरकारले महिनौंदेखि सडेका केही हजार मेट्रिक टन चामल भूकम्प प्रभावित क्षेत्रमा र केही हजार टन भोकमारी ग्रस्त कर्णालीका जिल्लाहरुमा पठाएको थियो । केही चामल सरकारले खाद्य संस्थान मार्फत विक्री समेत गरेको थियो ।
नेपाल खाद्य संस्थान मेचीका प्रमुख मर्कन्डेप्रसाद जैसवालले बंगलादेशबाट आउन लागेको चामल भण्डारणका लागि झापामा रहेका खाद्यका सबै गोदाम खाली गरिसकिएको बताए ।
‘१३ सय क्वीन्टल चामल मात्रै गोदाममा बाँकी छ,’ जैसवालले भने । उनका अनुसार भद्रपुरका २, विर्तामोडका ५ र भन्सार परिसरका केही गोदाममा चामल भन्डारन गरिने छ । उनले यसपटक चाँडै चामल सम्बन्धित क्षेत्रमा पठाइने बताए । ‘यसपटक गोदाममा कुहाएर, सडाएर राखिने छैन’, जैसवालले भने,‘सवै चामल आइसकेपछि केन्द्रमा तत्काल पठाउँछौं ।’@इकान्तिपुर |