बोधिचित्त दाना जोगाउन गार्हो , लुट्ने क्रम बढ्दो …

असार १०, २०७३- एक समूहले अघिल्लो साता सिसाखानी ३ नागबेलीमा करिब ८० लाख बराबरको बोधिचित्तको दाना लुटेर लग्यो । वीरबहादुर लामाको बारीमा फलेको दाना लुटिएपछि नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्तासमेत रहेका रामकृष्ण मैनाली, श्याकृष्ण मैनाली र प्रेम लामालगायत विरुद्ध किटानी जाहेरी परेको छ ।
बहुमूल्य बोधिचित्तको कारोबार र मूल्य आकाशिएसँगै यसमा आपराधिक समूह र गतिविधि पनि बढ्न थालेको छ । यसको बिक्री वितरण, संरक्षण र रकम असुलीमा पनि आपराधिक समूह सक्रिय छन् । एक तथ्यांकअनुसार तिमाल क्षेत्रको बोल्देफेदिचे, ठूलोपर्सेल, चापाखोरी, पोखरी नारायणस्थान, संस्युखर्क, मेच्छे, मेथिनकोट, कानपुरलगायत गाविसमा मात्रै ३ अर्ब जतिको बोधिचित्तको दानाको कारोबार हुन्छ । एउटै व्यक्तिले डेढ करोडसम्मको कारोबार गर्छन् । कारोबार बढेसँगै ती गाविसमा सुरक्षा चुनौती पनि थपिएको छ ।
रूखमा पहरा दिनका लागि दैनिक १ हजारदेखि १५ सयसम्म भत्ता दिएर युवा समूह परिचालन गर्नुपर्ने अवस्था आएको किसानले बताए । उनीहरूको काम दाना र रूखको संरक्षण र नयाँ व्यापारीलाई प्रवेश नदिनु हो । यसको कारोबारमा संलग्नहरूले आपराधिक समूहको बलमा सिन्डिकेट कायम गरेका छन् । शिखर आम्बोटेमा पनि दुई समूहबीच चलेको विवाद अहिले प्रहरीसम्म पुगेको छ । मेच्छेका एक व्यापारीले ८ लाखमा किन्ने गरी कागज गरेको दाना अर्का व्यापारीले आफूलाई सोही मूल्यमा बेच्नुपर्ने अडान राखेपछि विवाद भएको हो ।
दानाको कारोबारमा संलग्न ठूलोपर्सेलका वाङजु लामाले कारोबारमा सुरक्षा चुनौती रहेको स्विकार्दै आपराधिक समूहको संलग्नताको खण्डन गरे । ‘सिसाखानीमा भएको घटनामा यसको कारोबारमा सुरक्षा चुनौती भएको देखायो,’ उनले भने, ‘आफूले लगानी गरेको सामान संरक्षण गर्न मान्छे राख्नु स्वाभाविक हो ।’ उनले चोरिने डरले आफन्तलाई दैनिक भत्ता दिएर कुर्न राख्ने गरेको दाबी गरे ।
प्रहरीले सुरक्षा चुनौती महसुस गरेर थप जनशक्ति परिचालन गरेको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी नविनकुमार राईका अनुसार तिमाल, खहरेपाँगु, मंगलटार र आसपास क्षेत्रमा २५ प्रहरी परिचालन गरिएका छन् । उनीहरूले नियमित गस्ती र शंकास्पद गतिविधिको निरीक्षण गरिरहेका छन् । @ इकान्तिपुर |