संगीतमा मौलिकता खोज्दै – सुसन लामा तामाङ

संगीतमा करिअर बनाउने सपना बोकेर काभ्रेको कोसीपारिबाट २०४७ मै सहर पसेका थिए उनी । एल्बम निकाल्न भने ६ वर्ष लाग्यो । २०५३ मा पहिलो एकल एल्बम निकालेका सुसन लामाको परिचय अहिले ‘नखानु पानी तोङ्बाको…’, ‘हिउँ पर्यो फुरुरु मैच्याङ…’, ‘हेलम्बुको बजारमा…’, ‘चम्पा तम्रो याद बोकी…’ सम्म आइपुग्दा एक हजारभन्दा बढी गीत सित जोडिसकेको छ । रोज मोक्तान, विजय लामा र अविनाश घिसिङले गाएका उपर्युक्त गीतहरूमा शब्द र संगीतको ज्यान भरेका यिनले नेपाली, तामाङ, भुटियादेखि तिब्बती गीतसम्म पनि संगीत भरेका छन् । ‘यतिबेला यिनै सुसन एकसाथ पाँचवटा फिल्मको संगीतमा व्यस्त छन् । एभन्युज टीभी र अनन्य पिक्चर्सको ब्यानरमा हालै राजधानीमा घोषणा गरिएको पाँच फिल्मका लागि यिनी धमाधम संगीत गरिरहेका छन् ।
‘पाँचैवटा फिल्म फरक विषय, भूगोल र सन्दर्भका छन्,’ उनले भने, ‘त्यही भएर संगीतमा पनि फरकपनकै साथ काम गरिरहेको छु ।’ निश्चल पौडेलको निर्देशन, छिरिङ डी शेर्पा र मणिराम पौडेल निर्माता रहेको फिल्म ‘लामाला’, ‘जोसेफ’, ‘पाप पोखरी’, ‘देवकोटा’, र ‘रिँगटा’ का लागि उनी व्यस्त बनेका हुन् । ‘रिँगटा’ भने निर्माण सकेर अमेरिकामा अवार्डेड भइसकेको छ । धर्म परिवर्तनको सन्दर्भ समेटिएको ‘जोसेफ’ मा वेस्टर्न फ्लेवरको संगीतसहित शब्द र गायनसमेत सुसन स्वयंले गरेका छन् । ‘पाप पोखरी सिन्धुपाल्चोकको पाँच पोखरीको कथा हो,’ ३५ वर्षे सुसनले भने, ‘त्यही भएर यसमा उतैको लोक मौलिकता अनुसन्धान गरेर म्युजिकमा ल्याउने कोसिस गरेको छु ।’ उनले यसमा सिन्धुपाल्चोकको हिमाली भेकमा प्रचलित ‘हम्मैलीला’ भाका र चौंरी गोठालेहरूको भाका ‘सोयला’ समेटिएको बताए ।
जनयुद्धका योद्धा र एक भिक्षुको कथा समेटिएको ‘लामाला’ मा पनि उनले मौलिक प्रयोग गरेको बताए । पदमसम्भव (गुरु रिम्पोछे) र चेङरेसी (डोल्मा) को मन्त्र गायनलाई संगीतबद्ध गरेका यिनले यो फिल्ममा काङलिङ (मान्छेको नलीखुट्टाको बाजा) सँगै हिमाली बाजा पियोङ र डामदेनको प्रयोग गरेका छन् । ‘देवकोटा’ मा भने नेपाली झ्याउरेसँगै बाहुन–क्षेत्री समाजमा प्रचलित श्लोक (बालन) प्रयोग हुने उनले बताए । ‘संगीतमा हाम्रो मौलिकता खोज्न सकियो भने संसारभर नयाँ फ्लेवर प्रवद्र्धन गर्न सकिन्छ,’ काभ्रे बिर्तादेउरालीका सुसनले सुनाए, ‘यसैमा हाम्रो संगीतको भिन्न पहिचान पनि स्थापित हुन्छ ।’
उनी स्वयं भने कुनै समय भारतको नयाँ दिल्ली पुगेका थिए, कथक नृत्य पछ्याउँदै । त्यहाँस्थित श्रीराम भारती कला केन्द्रबाट कथकमा स्नातकोत्तर गरेपछि मुलुक फिरेका यिनले ‘मितज्यू’, ‘दक्षिणा’, ‘ठुल्दाइ’, ‘सिउँदो’, ‘मनै त हो’ लगायत दर्जनबढी नेपाली फिल्ममा मुख्य सहायक नृत्य निर्देशक बने । झन्डै एक दशक साधना कला केन्द्रमा कार्यरत यिनी मिस तामाङको अफिसियल कोरियोग्राफर पनि बने लामो समय । सिक्किम सरकारबाट गार्ड अफ अनर पाएका सुसन अहिले पनि सिक्किम गभरमेन्ट पुलिस ट्रेनिङ सेन्टरका प्रशिक्षक हुन् । नृत्य शिक्षकको रूपमा थुप्रै वर्ष शिक्षण संस्थामा बिताएका यिनले ५० भन्दा बढी गीतमा कोरियोग्राफी र मोडलिङ पनि गरे । ‘अबचाहिँ अर्को एकल एल्बमको तयारीमा छु,’ उनले भने, ‘फिल्मको काम सकेपछि ।’
@नाम्साधिम ग्यामसे |