फिल्म निर्माणमा लागेका अभिनेत्री

काठमाडौं । अभिनयसँगै चलचित्र निर्माणमा अभिनेत्रीहरुको रुची बढ्दै गएको देखिन्छ । फिल्म निर्माणमा हात हाल्ने अभिनेत्रीहरुमा रेखा थापा सबैभन्दा बढी सफल देखिन्छिन् भने कतिपय पूर्णरुपमा असफल पनि भएका छन्। अभिनयसँगै निर्माणमा समेत हात हालेका केही अभिनेत्रीहरु ः
करिश्मा मानन्धर
सदाबहार सुन्दरी नायिका करिश्मा मानन्धरले गएको वर्ष चलचित्र फागू निर्माण गरिन् । शिल्पा पोखरेललाई मूख्य भूमिकामा लिएर सम्झना उप्रेती रौनियारलाई निर्देशनको जिम्मा लगाइन करिश्माले । फिल्मको गीतसंगीतले जति चर्चा पाएपनि फिल्मले आशातित व्यापार गर्न सकेन । ढुकढुकीमार्फत करिश्माले फिल्म निर्माणमा हात हालेकी थिइन् । ढुकढुकीको सफलताबाट हौसिएकी करिश्माले बाबुसाहेब बनाइन् ।
बाबुसाहेबले व्यापार नगरेपछि करिश्माले सिने उद्योग मात्रै होइन नेपाल नै छाडिन् । केही बर्ष अमेरिका बसेर फर्केकी करिश्माले नेपाल फर्किएर फेरि चलचित्रमा अभिनय थालिन् । त्यसको केही बर्षमा उनले फेरि निर्माणमै हात हालिन् फागूमार्फत । तर, फागुले पनि करिश्मालाई निर्मात्रीको रुपमा असफल सावित गरिदियो । अहिले नयाँशक्ति पार्टीमा आबद्ध करिश्माले छिट्टै फिल्मको निर्देशन गर्ने तथा पुस्तक लेख्ने तयारी गरिरहेको बताउँदै आएकी छिन् ।
रेखा थापा
फिल्म निर्माण कसैलाई फापेको छ भने त्यो हो रेखा थापालाई । निर्माता श्रीमान छवि ओझासँग सम्बन्धबिच्छेद भएपछि उनले काली निर्माण गरिन् । कालीले कमाल गर्यो । रेखाले हिम्मतवाली बनाइन् । हिम्मतवालीले कालीको व्यापार टप्यो । रामप्यारी बनाईन् । रामप्यारीले रेखालाई झन धेरै दर्शकको प्यारी बनाईदियो । छविसँग हुँदा अभिनयमार्फत दर्शकको मन जितेकी रेखाले अब एक्लै अभिनय, निर्देशन र निर्माणमार्फत दमदार व्यापार बढाइरहेकी छिन् ।
कलिउड क्विन रेखा अहिले पलाँसको सुटिङमा ब्यस्त छिन् । सामाजिक कामसँगै फिल्मी करिअरलाई अगाडि बढाइरहेकी रेखा यसबर्ष अरुकै ३ वटा फिल्ममा व्यस्त हुनेछिन् । वर्षको अन्त्यतिर उनले आफ्नो फिल्म थाल्नेछिन् । रेखा अब नारी प्रधान मात्र चलचित्र निर्माण मात्र होइन समाजका अन्य विषयलाई पनि उठाउन चाहन्छिन् ।
रोयल कथामा चलचित्र निर्माण गर्ने उनको धोको छ । यसका लागि कुशल निर्देशकको पनि उनलाई खाँचो छ । रेखाले आफूले निर्माण गरिरहेको चलचित्रको शैली पनि थोरै परिवर्तन गर्न चाहेको बताएकी छिन् ।
सुस्मिता केसी
अभिनेत्री सुस्मिता केसीलाई पनि फिल्म निर्माण फापेको देखिन्छ । अहिले उनैले निर्माण गरेको चलचित्र म ति तिम्रै हुँको चर्चा छ । नयाँ कलाकारलाई लिएर बनाएको फिल्ममा उनले पनि दमदार अभिनय गरेकी छिन् । फिल्म ७ गते रिलिज हुनेछ तर गीतसंगीतले भने स्रोता, दर्शकको मन जितिसकेको देखिन्छ ।
अभिनेत्री सुस्मिताको श्रीमान निर्माता, निर्देशक तथा अभिनेता भुवन केसीसँगको बैवाहिक सम्बन्ध लामो समय टिकेन । तर, भुवन र सुस्मिताले छुट्टिएर बसे पनि छोरा अनमोल केसीलाई भने उनको करिअरमा भरपूर साथ दिएका छन् । अनमोलले पनि बुवाको निर्माण रहेको ड्रिम्स खेलेर करोडौँ कमाईदिएका छन् भने आमालाई आफ्नो नाम दिएर फिल्म निर्माणमा सहयोग गरेका छन् ।
सुस्मिताले यसअघि नै करोडपति, नेपाली बाबु, म तिमी बिना मरिहाल्छु जस्ता सफल चलचित्र निर्माण गरिसकेकी छिन् । म त तिम्रै हुँले पनि यसअघिका फिल्मले जस्तै सफलता पाए सुस्मिता निर्मात्रीको रुपमा सिने उद्योगमा रहीरहने पक्का छ ।
नम्रता श्रेष्ठ
नायिका नम्रता श्रेष्ठले सोल सिस्टर बनाईन् । सोल सिस्टरको जति मिडियामा चर्चा भयो हलमा त्यति प्रशंसा बटुल्न सकेन । तर फिल्मसँगै होटल रेष्टुरेण्ट व्यवसायमा पनि हात हालेकी नम्रता यस फिल्मको असफलताले त्यति निराश छैनन् ।
व्यापार ब्यवसायमा रुची भएकी नम्रता आफूले खेल्ने फिल्ममा धेरथोर लगानी गरिरहन्छिन् । उनले अभिनय गरेका फिल्महरुमा नम्रताको थोरै भएपनि शेयर हुन्छ नै । पछिल्लो समय नम्रता अभिनित चलचित्रहरुले राम्रो ब्यापार गरिरहेको छ । यसप्रकार नम्रतालाई पनि अन्य कलाकारको तूलनामा बढी नै फाईदा भईरहेको अनुमान लगाउन सकिन्छ ।
ऋचा शर्मा
नयिका ऋचा शर्मा र उनका तत्कालिन प्रेमी बिनय श्रेष्ठले भिजा गर्ल बनाए । भिजा गर्लले युवापुस्तामा राम्रो चर्चा पायो तर व्यापार भने फ्लप रह्यो । भिजा गर्लको निर्माणले ऋचा र बिनयबीचको सम्बन्ध पनि टुटाएको भनिन्छ । ७ वर्ष प्रेम सम्बन्धमा रहेका ऋचा र बिनयको सम्बन्धमा फिल्मले नराम्रो व्यापार गरेपछि खटपट भएको बताईन्छ ।
त्यसयता बिनयले रेशम फिलिली निर्माण गरे भने ऋचाले अन्य फिल्ममा लगानी गर्ने आँट गरिनन् । ऋचा अभिनयमार्फत नै चर्चा र सफलतामा छिन् भने बिनयले अन्य फिल्ममा अनुहार देखाएका छैनन् ।
ऋचा सिंह ठकुरी
नायिका ऋचा सिंह ठकुरी पनि यस बर्षदेखि निर्मात्रीको रुपमा उदाएकी छिन् । अष्ट्रेलियामा बस्ने गजेन्द्रराज थापासँग विवाह गरेपछि सिने उद्योगबाट केही टाढा रहेकी यी नायिकाले यसबर्ष भने निर्मात्री बनेर उदाएकी हुन् । आफ्नै श्रीमानको निर्देशन रहेको सुपर गोर्खेको अहिले लगभग सुटिङ सक्किइसकेको छ ।
काठमाडौं, धरान, विराटनगरलगायतका ठाउँमा सुटिङ गरिएको सिनेमामा ऋचासँगै उनका श्रीमान गजेन्द्र, सचिन केसी, निराजन लुईँटेल लगायत शीर्ष भुमीकामा छन् । उनलाई चलचित्र निर्माण कतिको फाप्ला त्यो भने फिल्मले गर्ने ब्यापारले नै निर्धारण गर्नेछ ।
पूजा शर्मा
प्रेमगीतकी नायिका पूजा शर्माले एक उदियमान अभिनेत्री भएको संकेत दिएकी छिन् । २०७२ सालमा उनी अभिनित प्रेमगीत चर्चाको शिखरमा रह्यो भने ब्यापार पनि उत्तिकै गर्यो । सुर्दशन थापा निर्देशित फिल्मले पूजाको करिअर संभावना अझ फराकिलो बनाइदियो । यसअघि मधुमास, थ्री लभर्स, चङ्खे सङ्खे पङ्खेलगायतका फिल्म खेलेकी पूजाले ती सिनेमामा पनि उत्कृष्ट अभिनय गरेकी थिइन् ।
म्युजिक भिडियो हुँदै अभिनयमा आएकी पूजा अब भने निर्माणमा हात हाल्ने दाउमा छिन् । फिल्मको स्टोरीलाइन बनिसके पनि उनले कलाकार भने सार्वजनिक गरेकी छैनन् । निर्देशक सुर्दशन थापासँगै मिलेर बनाईने फिल्ममा उनी आर्यन सिग्देल या अनमोल केसी राख्न चाहन्छिन् । तर अनमोलले चलचित्र कृका लागि २० लाख रुपैयाँ पारिश्रमिक लिएर अबको एक बर्ष अन्य फिल्ममा नदेखिने बताइसकेका छन् ।
-उज्यालाेबाट