काठमाडौंको विकासमा तामाङहरूको रगत र पसिना बगेको छ – क्यथ्रिन मार्च

२०७२ वैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पबाट सवै भन्दा बढी प्रभावित भएका तामाङ समुदायको बारेमा थप अध्ययन गर्न अहिले नेपाल आएको छु । र नुवाकोट जिल्लाको भूकम्पबाट क्षतिग्रस्त विभिन्न भेगका तामाङवस्तीमा जाँदैछु । नेपाल भूकम्पीय जोखिममा रहेकोले भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्ने सुझाव विज्ञहरूले धेरै समय अगाडिदेखि दिएको भएपनि बेवास्ता गर्दा ठूलो क्षति भएको छ । अब मैले भूकम्प प्रतिरोधात्मक घर निर्माणका लागि स्थानीय बासिन्दाहरूलाई विज्ञहरू लगेर तालिम दिने योजना पनि बनाएको छु । नुवाकोटको काउले, फिकुरी, मनकामना, भल्छे, ठूलोगाउँ र डाडाँगाउँमा भूकम्प प्रतिरोधी घर बनाउने तालिम प्रदान गर्ने लक्ष्य मैले राखेकी छु ।
म तामाङ गाउँमा तामाङको स्यामा अर्थात् भेषभुषा लगाएर त्रिशुली बजार जाँदा सबै जनाले हेलाको दृष्टिले ‘भोटे आयो-भोटे आयो’ भन्थे । अर्कोतिर त्यतिबेला बुझेका तामाङहरू पनि म तामाङ हुँ भन्न लजाउँथे । केही पढे लेखेका तामाङहरूले लामा, घले जस्ता थर लेखेर आफूलाई चिनाउँथे । तर अहिले विस्तारै तामाङ समुदायमा जनचेतना र ‘म तामाङ हुँ’ भन्ने भावनाले प्रोत्साहित भएको पाएको छु ।
म २०३२ सालमा नुवाकोट जिल्लाको मनकामना गाविस वडा नं २ स्थित फिकुरे डाँडाको माने गाउँमा अनुसन्धानको लागि पुगेकी थिए । त्यस भेगका तामाङ दाजुभाईहरू अहिले वैदेशिक रोजगारीका सिलसिलामा युएई, कतार, साउदी अरब र मलेसियामा धेरै छन् । मैले अनुसन्धान गर्ने क्रममा त्यस्तो थिएन । माने गाउँमा एक/दुई जना बाहेक कोही पनि आफ्नो गाउँ छाडेर विदेश गएका थिएनन् । आफ्नो आर्थिक अवस्था मजबुत बनाउन र अवसरको खोजी गर्दै अन्य झैं तामाङ दाजुभाई तथा दिदीबहिनीहरू पनि अहिले संसारका विभिन्न मुलुकमा पुगेका छन् । विदेश जाने क्रमसँगै तामाङ समुदायको भाषा, धर्म, संस्कृति र रीतिरिवाज बिर्सिदै गएको मैले महसुस गरेकी छु । आफ्नो बाध्यताले संसारको जुनसुकै भागमा पुगेपनि आफू जन्मेको ठाउँ, भाषा, धर्म र संस्कृति हामीले कदापी भुल्नु हुँदैन ।
खास भन्ने हो भने मेरो अनुसन्धान तामाङ समाजभित्र महिला र पुरूषबीचको समानता बारे नै हो । लामो समयसम्म माने गाउँमै रहेर मैले तामाङ समाजभित्र महिला र पुरूषबीचको समानताबारे गहिरिएर अध्ययन गरें । मेरो आफ्नो अनुभव र अनुसन्धानले विदेशका महिला र पुरुषभन्दा पनि तामाङ समाजमा महिला र पुरूषबीचको समानता पाएकी छु । जस्तै उदाहरणको लागि छोरा मान्छेले अंश पाउने, छोरीले जोहो पाउने, घरमा पुजा गर्नुपर्यो भने मिलेर गर्ने धेरै यस्ता उदाहरणहरू छन् । तामाङ समाजभित्र हरेक कार्य गर्दा पुरूष र महिला मिलेर गरेको पाएको छु ।
तर, अहिले पुरूषहरू विदेश जान थालेपछि कहिँकतै यसको नकारात्मक प्रभाव पर्ने त होइन भन्ने कुरामा पनि म चिन्तित छु । गाउँमा खेतीपाती गर्दा पुरूषले गोरू जोत्ने, महिलाले घरायसी काम गरेर सहयोग गर्ने चलन थियो । अहिले पुरूषहरू विदेश जान्छ, महिलाले परिवार सम्हाल्छ । श्रीमान र श्रीमती बाध्यताले एक अर्काबीच टाढा भए पनि सम्बन्ध भने सधैं राम्रो हुनुपर्छ ।
३५ वर्षको अनुभवमा मैले संकलन, अध्ययन-अनुसन्धान गरेका सामग्री, गीत, संगीत, इतिहास, समाज र संस्कृति सबैलाई संग्रहित गरेर सूचनाको दुनियाँमा वेबसाइट निर्माण गर्ने तयारीमा रहेकी छु । जसले गर्दा नयाँ युवापिढीलाई तामाङ समाजका सम्पूर्ण पाटोलाई अध्ययन गर्न सजिलो हुनेछ भन्ने विश्वास लिएको छु । माने गाउँको तामाङ गाउँमा अनुसन्धान गर्ने मेरा श्रीमान डेविड हाल्वर्ग तामाङ समुदायको पहिलो अनुसन्धानकर्ता हुनुहुन्छ । २०३२ सालमा मेरा श्रीमानले तामाङको बारेमा अनुसन्धान गर्दा मैले शेर्पा गाउँमा अनुसन्धान गर्दै थिए । म पनि उहाँकै प्रेरणाले एक वर्षजति तामाङ समुदायको अध्ययन गरेपछि मात्र बुहारीको रूपमा माने गाउँमा भित्रिएकी हुँ । मलाई स्थानीय तामाङहरूले माया गरेर उर्चावती नाम र डिम्दुङ थर राखिदिएका थिए भने मेरा पतिलाई नाम उर्चा लामा र हिमरूङ थर राखिदिएका थिए । त्यतिबेला गाउँघरका स्थानीयले दिएको नाम र थरलाई माया सम्झिएर आज पनि तामाङमाझ यहि परिचय दिन्छु । त्यतिबेला गाउँघरका स्थानीयले मलाई बुहारी आई अर्थात् चाङ खाजी भन्छन् । गाउँका स्थानीयहरूले मलाई यसरी सम्बोधन गर्दा साह्रै खुसी लाग्छ ।
वास्तवमा भन्ने हो भने गाउँमा विगतको दाँजोमा निकै विकास भएका छन् । अहिले शिक्षा, स्वास्थ्य तथा विकासका पूर्वाधारहरू क्रमिक रूपमा भइरहेका छन् । मैले अनुसन्धान गर्दा एक गाग्री पानीको लागि कम्तिमा ४५ मिनेटको दूरीमा जानुपर्थ्यो । यस्तै त्यतिबेला पढ्नुपर्छ भन्ने ज्ञान कसैलाई थिएन । एक दुई जना बाहेक विद्धालय जाने हुँदैनथे । त्यसमा पनि महिलाको त कुरै छाडौं । तर, अहिले सातदोबाटोमा पुरूषभन्दा महिला विद्धालय जानेको संख्या बढी छ । गाउँघरमा खेतीपाती गरेर आफ्नो जीवन निर्वाह गर्न नसकेपछि यहाँका तामाङ दाजुभाईहरूमा विदेश जानुपर्ने बाध्यता छ । यस गाउँको जनसंख्या मध्ये ३० प्रतिशत विदेश गएको तथ्यांक मैले लिएको छु ।
कोर्नेलमा अध्यापन गराउँदा मैले विद्धार्थीहरूलाई तामाङहरू राजधानी वरिपरि भएर पनि पछाडि परेको कुरा बताउँदा विद्धार्थीहरू राजधानी वरिपरि भएर पनि किन त्यतिविघ्न पछाडि परेको भन्ने प्रश्न बारम्बार गर्छन् । किनभने त्यतिबेला उपत्यका वरिपरि रहेका तामाङहरूले नै काठमाडौंलाई बनाएका हुन् । चाहे राणाका दरबार निर्माण गर्दा होस्, चाहे उनीहरूको सुविधाका लागि ल्याइएको गाडी बोक्न होस्, या हरेक कार्यमा, तामाङहरूलाई प्रयोग गरेको देखिन्छ । आज पूरातात्विक र पर्यटकीय हिसाबले राजधानीको महत्व जुन हिसाबले बढेको छ त्यो बनाउनुमा तामाङ दाजुभाईहरूको रगत र पसिना परेको छ । त्यतिबेलाका शाह, राणा, थापाहरूलाई तामाङहरूको दुःखले सुख दिएको हो ।
म तामाङ गाउँमा तामाङको स्यामा अर्थात् भेषभुषा लगाएर त्रिशुली बजार जाँदा सबै जनाले हेलाको दृष्टिले ‘भोटे आयो-भोटे आयो’ भन्थे ।
अर्कोतिर त्यतिबेला बुझेका तामाङहरू पनि म तामाङ हुँ भन्न लजाउँथे । केही पढे लेखेका तामाङहरूले लामा, घले जस्ता थर लेखेर आफूलाई चिनाउँथे । तर अहिले विस्तारै तामाङ समुदायमा जनचेतना र ‘म तामाङ हुँ’ भन्ने भावनाले प्रोत्साहित भएको पाएको छु । तामाङका चाडपर्वमा सबै जना मिलेर तामाङ भेषभुषा लगाई संस्कृति बचाएको भेट्दा मेरो मन आनन्दित हुन्छ । संसारभरिको अध्ययनलाई हेर्ने हो भने सबैभन्दा बढी मेहेनती, अरूलाई माया गर्ने र सहयोग गर्ने समुदायमा तामाङ समुदाय भन्दा अरू कुनै समुदाय पनि भेटिएको छैन । @ समावेशी डट कम |