नयाँ शक्तिको चुनौती
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नेतृत्वमा आइतबार ‘नयाँ शक्ति नेपाल’ नामको नयाँ पार्टीको औपचारिक घोषणा भएको छ । मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तित्वको सक्रियता र नेतृत्वमा नयाँ राजनीतिक दल जे–जसरी सार्वजनिक गरिएको छ, त्यसले समाजमा वैकल्पिक राजनीतिक शक्तिका विषयमा एक किसिमको बहस सुरु गरिदिएको छ । नेपालमा पुराना दलहरू विभाजित हुँदै नयाँ दल गठन हुने/गर्ने क्रम आफैंमा नयाँ होइन । अझ यस्ता धेरैजसो अभ्यासहरू प्राय: विफलतामा टुंगिएको पृष्ठभूमिमा भट्टराईले अलि भिन्न ढंगबाट पार्टीको घोषणा गरेका छन् । मिडियादेखि सार्वजनिक सञ्जालसम्मको व्यापक प्रचारात्मक प्रयोगलाई प्राथमिकता दिएका छन् । यति भए पनि आफूलाई साँच्चै ‘नयाँ’ देखाउने र ‘शक्ति’ का रूपमा साबित गर्नुपर्ने चुनौतीबाट उनी गुज्रनै पर्ने हुन्छ ।
भट्टराई मुख्यत: के–कस्तो वैचारिक आधार र कार्यक्रमसहित कसरी अघि बढ्छन् भन्नेमै उनको दलको सफलता या असफलता निर्भर हुनेछ । लोकतान्त्रिक राजनीतिक धारको नेपाली कांग्रेसले र वामपन्थी राजनीतिको नेकपा एमाले र नेकपा माओवादी केन्द्रजस्ता राजनीतिक शक्तिहरूले प्रतिनिधित्व गर्दै आएको सन्दर्भमा पूर्वमाओवादी नेता भट्टराईले आफ्नो पार्टीको पहिचान कसरी भिन्न गराउने छन् भन्ने पनि प्रतीक्षाको विषय बनेको छ । फेरि उनको पार्टीमा पूर्वमाओवादीदेखि जातीय राजनीतिमा लागेका र पूर्वप्रशासकलगायत भिन्नभिन्न पृष्ठभूमि र विचारधाराका व्यक्तिहरू छन् । भट्टराईले समाजका विभिन्न क्षेत्रको साथ लिएर नयाँ शक्तिलाई जनतामाझ स्थापित गर्ने जुन महत्वाकांक्षा लिएका छन्, त्यो आफैंमा जोखिम र चुनौतीपूर्ण कार्य हो । त्यसमाथि कुनै पनि पार्टीको भविष्य त्यस पार्टीले लिने सिद्धान्त, नीति, नारा र कार्यक्रमले निर्धारण गर्छ । भट्टराईले नेतृत्व गरेको पार्टीको वैचारिक प्रस्थापना के–कति प्रस्ट हुनेछ भन्ने कुरा पनि पार्टी स्थापित हुने एउटा मानक हो ।
हिजोसम्म माक्र्सवादी, लेनिनवादी र माओवादी सिद्धान्त अँगालेर साम्यवादी राजनीति गरेका भट्टराईले अहिले जतिसुकै उदारवादी प्रमाणित गर्न खोजे पनि उनलाई विगतले पछ्याउन छाड्ने छैन । उनले आफूसमेतको नेतृत्वमा सञ्चालित दसवर्षे सशस्त्र संघर्षको औचित्यमाथि पाइला–पाइलामा उठ्ने प्रश्नको जवाफ दिने मात्र होइन, त्यसको पुष्टि गरिरहनुपर्ने हुन्छ । भट्टराई स्वयंले माक्र्सवादसमेत छाडिसकेको घोषणा गरे पनि उनले विगतमा चलाएको ‘जनयुद्ध’ को भने पक्षपोषण गर्दै आएका छन् । उनले जे–जति मात्रामा सशस्त्र संघर्षको औचित्य प्रमाणित गर्न सक्छन्, त्यति नै मात्रामा माओवादी कार्यकर्तालाई आफ्नो समूहतर्फ आकर्षित गर्नसक्ने ठानेका हुनसक्छन् । तर, माओवादी केन्द्रदेखि अन्य धेरैथरी साना–ठूला माओवादी पार्टीहरू रहेको सन्दर्भमा विगतमा आफ्नो गुटमा रहेका बाहेक माओवादी कार्यकर्ताको ठूलो संख्यालाई आकर्षित गर्न सहज छैन । अर्कोतर्फ, ठूलो मात्रामा गैरमाओवादी जमातलाई आफ्नो पार्टीतर्फ आकर्षित नगरेसम्म राजनीतिक रूपले स्थापित हुन गाह्रो छ । एकातिर सशस्त्र संघर्षको औचित्य प्रमाणित गर्दा गैरमाओवादी जमात आकर्षित नहुने र सशस्त्र संघर्षको औचित्य पुष्टि नगर्दा माओवादी जमात आकर्षित नहुने विरोधाभासमा भट्टराई उभिएका छन् । हो, यही विरोधाभास उनका निम्ति प्रमुख चुनौती बन्नेछ ।
भट्टराईको पार्टीमा जे–जस्तो पृष्ठभूमिबाट नेता/कार्यकर्ताहरू आएका छन्, त्यसको व्यवस्थापन पनि उत्तिकै चुनौतीपूर्ण छ । विभिन्न राजनीतिक पृष्ठभूमिबाट मात्र होइन, अराजनीतिक क्षेत्रबाट आएका व्यक्तिले समेत नेतृत्व तहमा जुन महत्वाकांक्षा राखेका छन्, त्यसको व्यवस्थापन आफैंमा कठिन कार्य हो ।
त्यसमाथि यस्ता फरक–फरक नेता कार्यकर्ताको चिन्तन र कार्यशैलीलाई पार्टीको वैचारिक–राजनीतिक कार्यसूचीसँग जोड्नु उत्तिकै दुरुह हुनेछ । उनीहरूमध्ये धेरैजसो भट्टराईकै व्यक्तित्व र क्षमतालाई हेरेर नयाँ शक्तिमा समाहित भएका हुन् । भट्टराईले लिएको समृद्धिको नाराले पनि युवा जमातलाई केही हदसम्म आकर्षित गर्न सक्छ । खासगरी मुलुकलाई अब चाहिएको विकास हो भन्ने जुन आम बुझाइ छ, त्यही मनोविज्ञानलाई भट्टराईले समात्न खोजेका छन् । नत्र उनी यसअघि अर्थमन्त्री र प्रधानमन्त्रीजस्तो कार्यकारी भूमिका निर्वाह गरिसकेका परीक्षित नेता नै हुन् । तथापि ‘केही गर्न खोज्ने’ नेताका रूपमा जोगाएको छवि र विगतमा पार्टी प्रमुखको नेतृत्वदायी भूमिकामा नरहेको पृष्ठभूमिमा उनलाई काम गरेर देखाउने अवसर भने छ । त्यसमा उनी खरो उत्रन सक्छन् या सक्दैनन्, त्यो उनको नेतृत्व र उनको दलको कार्यशैलीबाटै चाँडै प्रस्ट हुनेछ |
-कान्तिपुर / सम्पादकीय