ज्वाइँ खोज्दै आमा ?

असार १, २०७३- सलमान खानको लुलिया भन्तुरसँगको विवाह हल्लाले बलिउड यति बेला तातिएको छ । अझ त्यसमा सलमान आफ्नै ‘जय हो’ कोस्टार डेजी शाहसँग नजिकिएको भन्ने प्रसंगले लुलिया त्रसित बनेको खबर पनि उत्तिकै नआएको हैन ।
बलिउड सेलेब्स पर्दामा मात्रै नभई पर्दाबाहिर पनि लभ, अफेयर्स र ब्रेकअपका कारण चर्चामा आउन माहिर छन् । रणवीर कपुरसमेत कंगना रनावतसँग हिमचिम बढाइरहेको सनसनीपूर्ण खबर पनि अर्को चासोको विषय हो । तर यहाँ चर्चा सलमान र रणवीरको नभई कुनै बेला दुवैसँग छुट्टाछुट्टै समय रिलेसनसिपमा रहेकी नायिका कट्रिना कैफको हो ।
जो रणवीरसँगको पछिल्लो ब्रेकअपपछि यतिबेला सिंगल स्टाटसमै गुपचुप छिन् । छोरीको प्रेमले सार्थकता नपाइरहँदा उनकी आमा भने ज्वाइँको खोजीमा लागेको हल्ला बाहिरिएको छ ।
बलिउड हल्लाको खानी नै मानिन्छ । हल्लासँगसँगै त्यहाँ समाचार बनाइन्छन् र सेलिब्रेटीलाई खण्डन गर्दै फुर्सद हुँदैन । कतिपय त आजित भई खण्डन गर्नेसम्मको जाँगर पनि देखाउँदैनन् ।
कट्रिनाको मागी विवाहको हल्ला पनि उनकै एउटा टयाब्लोइडलाई दिएको अन्तरवार्तापछि बनाइएको हो । उक्त अन्तरवार्तामा कट्रिनाले भनेकी छन्, ‘मेरी आमा यति बेला मेरो जीवनदेखि चिन्तित हुनुहुन्छ । उहाँलाई मेरा लागि पर्फेक्ट दुलाहा पाइएला/नपाइएला भन्ने चिन्ता ज्यादा छ ।’ आमाको चिन्तालाई सन्तानप्रतिको स्वाभाविक चिन्ता र चासोको रूपमा लिएको पनि कट्रिनाले बताइन् ।
विगतका रिलेसनसिपमा मिडिया रिपोर्टबारे प्रस्टीकरण दिँदै आजित भएको उल्लेख गर्दै उनले कट्रिनाले भविष्यमा कसैसँग सम्बन्ध विस्तार भएको खण्डमा सहज रूपमा खुलासा गर्ने पनि बताइन् ।
– एजेन्सी, नयाँदिल्ली