विदेशबाट फर्केर घर जाँदा दुलहा झैं श्रीमतीसित बोल्न लाज लाग्यो

गाउँमा सरकारी मास्टरको जागिर खाइरहेको थिएँ । जागिर छाडेर विदेश नजाने सल्लाह दिनुहुन्थ्यो हजुरआमा, बुबाआमा र दाजुहरु । साथीभाइ र विद्यालयका स्टाफहरुले पनि त्यसै भन्थे । तर कसैको कुरा नसुनी म विदेश हिँडे ।
हिँड्ने बेलामा श्रीमती घरमा थिइनन् । सुत्केरी बस्न माइती गएकी थिइन् । मंसिर महिनामा म परदेश हिडेको हुँ । विदेश आएको १० वर्षपछि म घर फर्किएँ । परदेश हिँड्दा जन्मिएकी छोरी चार कक्षामा पढ्ने भएकी रहिछन् । ठूली छोरी त म जत्तिकै हुन लागेकी । श्रीमतीसित भर्खर विहे भएर बोल्न लाज मानेका दुलाहादुलही जस्तो लाग्यो ।
बुवाआमा धेरै वृद्धवृद्धा हुनुभएछ । कपाल सेतै फूलेछ । खेतबारीको काम र भैंसी पाल्न छोड्नु भएछ । हजुरआमालाई देख्दा त भक्कानो फूट्यो । मलाई चिन्नु भएन । त्यती धेरै माया गर्ने हजुरआमाले नचिन्दा सारै दुःख लाग्यो । घरको भित्ता वा अरुको सहारामा भित्रबाहिर गर्नुहुँदो रहेछ । खानपिन र बोलीचाली बच्चाको जस्तो थियो । बिस्तारै कुरा गरेपछी मलाई चिन्नुभो र धेरै कुरा गर्नुभयो ।
सानो बुवाआमा पनि धेरै वृद्धवृद्धा हुनुभएछ । टोलतिर घुम्न जाँदा सिँगान पुछ्ने बच्चाहरु काखमा नानी खेलाउँदै थिए । जवान युवा प्रायजसो विदेश पलायन भएछन् । धेरैजसो घरमा बुढाबुढी र बालबच्चा मात्रै थिए । गाउँ घुम्दा एकदुई बाहेक अरु सहपाठी कसैलाई भेटिन । नयाँ बुहारी र बच्चाहरु कसैलाई चिन्दैन थें ।
खेतबारी बाँझै थिए । तर सबैका हातमा मोवाइल देखिन्थ्यो । घरमा टिभी राखेका थिए । अहिले हरेकका घरमा विजुली आइपुगेछ । निस्दी खोलामा पौडेर वारपार गर्नुपर्थ्यो । अहिले झोलुङ्गे पुल बनेछ । केलादीमा गाडी गुड्ने पक्की पुल बनेछ । कहिलेकाहीँ ट्याक्टर र मोटरसाइकल गुड्ने घर अगाडीको बाटोमा जिपले मान्छे ओसारपसार गर्न थालेछन् ।
गाउँमै बस्नेहरु केहीले आम्दानीको बाटो कृषिलाई बनाएका थिए । थोरैतिनो कमाएकाहरु रामपुर, बुटवल र नवलपरासीतिर घर घडेरी जोड्दै थिए । मेरो दाजुहरु पनि घरबारी बेचेर शहरतिर बसाईं सर्नुभएछ ।
रामपुर बजारमा पनि एटिएम सुविधा भएका बैंकहरु खुलेछन् । विभिन्न संकायका कलेज खुलेछन् । अस्पताल बनेछन् । कालोपत्रे मोटरबाटो बनाइएछ । जे देखे पनि नौलो लाग्ने । किन किन मलाई हरेक कुराले अल्मल्याइरहेको थियो । कुनै चिज खोजेर नभेटे जस्तो भैरहेको थियो ।
मलाई छोटो समयमा धेरै ठाउँ घुम्नुथ्यो । तर सम्भव भएन । फर्कने दिन नजिकिएकाले बुटवल आएर केही दिन बसैं । अनि हिडें बिरानो देशमा भारी मन लिएर । @उज्यालोअनलाइन |
-भगवान घिमिरे । पाल्पा, हाल दोहा कतार ।