नयाँ शक्तिलाई २ वर्षमा एक नम्बर शक्ति बनाउने भट्टराईको उद्घोष

काठमाडौं, जेठ ३० – नयाँ शक्ति नेपाल पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले आफ्नो पार्टी २ वर्ष भित्रमा एक नम्बर शक्ति बन्ने दावी गर्नुभएको छ ।
नयाँ शक्ति नेपालको घोषणा सभालाई संवोधन गर्दै भट्टराईले २ वर्ष भित्रमा हुने स्थानीय, प्रादेशिक र संसदीय चुनावमा एक नम्बर शक्ति बन्ने सोच राखेको बताउनुभयो । नयाँ शक्ति नेपाल कुनै पार्टीको भाग खोस्न र कसैका कार्यकर्ता तान्न गठन नभएको स्पष्ट पार्दै उहाँले सकरात्मक सोच र एजेन्डा अघि सारेर एजेन्डाको राजनीति गर्ने बताउनुभयो । आफू भन्दा पहिला बोलेका नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले नयाँ शक्तिले एमाले बाहेकका दललाई धक्का दिने भनेको सन्दर्भ उल्लेख गर्दै भट्टराईले भन्नुभयो ‘नयाँ शक्तिले कर्सको भाग खोस्दैन ।’
भट्टराईले नयाँ शक्तिले आफू पनि तल नपर्ने र अरुलाई पनि तल नपार्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो ‘कुखुर झैं खोस्रदैनौं, चिल झैं आकाशमा कावा खान्छौं ।’ पूर्खाले राष्ट्रियताको जग हालेको र लोकतान्त्रिक कालमा घर बनेको भन्दै अब विकासको छानो हाल्नु पर्ने र नयाँ शक्ति त्यसतर्फ लाग्ने भट्टराईले बताउनुभयो । ‘सदस्यहरुलाई सपथ गराएर संसारमा कहिँ पनि यस्तो पार्टी गठन भएको छैन’ पार्टीको घोषणासँगै सदस्यहरुलाई सपथ गराएका भट्टराईले भन्नुभयो ‘यस हिसाबमा हामीले इतिहास कायम गरेका छौं । अब यसको जगमा टेकेर अघि बढ्नु पर्छ ।’