चितवनको जनजातीलाई सात दिने नेतृत्व विकास तथा उद्घोषण तालिम

रत्ननगर । पूर्वी चितवनको कालिका नगरपालिका ७ सुर्यपुरमा आयोजना गरिएको सात दिने नेतृत्व विकास तथा उद्घोषण तालिम आज सकिएको छ । नेपाल आदिवासी जनजाती महासंघ गाउँ समन्वय परिषद् साविक जुटपानीले आयोजना गरेको सो तालिममा २५ जनाको सहभागिता रहेको थियो । कालिका नगरपालिकाको सहयोगमा सञ्चालित तालिममा पत्रकारहरु शिशिर सिंखडा, राधेश्याम खतिवडा, सन्तकुमार चौधरी र रामु आचार्यले सहजीकरण गरेका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि कालिका नगरपालिकाका कार्यकारी अधिकृत गोविन्द सिग्देलले सहभागिहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । तालिम समापन कार्यक्रमको अबसरमा सो नगरपालिकाका २२ जना बृद्धा एवम् अपाङगलाई सम्मान गरिएको थियो । कार्यक्रममा नेपाली काँग्रेसका राजु श्रेष्ठ, नेकपा एमालेका केशव लामा, माओवादी केन्द्रका धन लामा, आदिवासी जनजाती महासंघका जिल्ला सदस्य साउने वोटे लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।