नयाँ शक्तिलाई कहाँबाट अाउँछ खर्च ? थाह पाउनुहोस्…

जेष्ठ २८, २०७३- प्रमुख अतिथि होइन, प्रमुख वक्ता । इन्चार्ज होइन, उत्प्रेरक । बन्दसत्र होइन, छलफल सत्र । लेखा समिति होइन, लोकपाल । भ्रातृ संगठन होइन, पेसागत संगठन । वाल–पेन्टिङ होइन, अखबार–टिभीमा विज्ञापन । माइकिङ होइन, मल्टिप्लेक्स हलमा भर्चुअल सम्बोधन । सदस्यता टिकट होइन, अनलाइन दरखास्त । अपिल होइन, संयोजक बाबुराम भट्टराईले दस्तखत गरेका ५ लाख चिठी । अर्थात् नयाँ शक्ति ।
कतिपय नितान्त फरक, कतिपय भने उस्तै अर्थ लाग्ने गतिविधिसहित नयाँ शक्ति नेपाल आइतबार दशरथ रंगशालामा स्थापना घोषणा सभा गर्दै छ । देशभरिका प्रतिनिधि काठमाडौं आउन थालेका छन् । २४ देशबाट सभाका लागि प्रतिनिधि आउँदै गरेको नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषद् सदस्य निर्मल भट्टराईले जानकारी दिए । ‘उनीहरू सबै आफ्नै खर्चमा आउँदै छन्,’ भट्टराईले दाबी गरे, ‘डा. भट्टराईकै अगाडि शपथ लिएर संस्थापक सदस्य बन्न पाइने अवसर हो, आफ्नै खर्चमा आएर भए पनि कोही त्यो अवसर गुमाउन चाहँदैन ।’
नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषद् नेताहरूले अनलाइनको माध्यमबाट सदस्यता आवेदन भर्नेको संख्या देशभित्रबाट ३५ हजार र विदेशबाट ६० हजार पुगिसकेको दाबी समेत गरेको छ । नेपाली कागजमा प्रिन्ट भएको लिखित सदस्यता २ लाखप्रति जिल्लाजिल्लामा पठाइएको, त्यो फर्केर आउन बाँकी रहेको अर्का केन्द्रीय परिषद् सदय रुद्र भट्टले जानकारी दिए । आइतबारदेखि सुरु हुने घोषणा सभामा १ लाख संस्थापक सदस्य जुट्ने, तिनीहरूमध्येबाट केन्द्रीय समिति संख्या ९९ वा १ सय ५१ मध्ये कुनै एक विकल्प रोजिने भट्टले जानकारी दिए ।
घोषणा सभाबाट बाबुराम भट्टराई नै संयोजक चुनिएर आउने, तर आगामी एक वर्षसम्म कुनै पदाधिकारी चयन नहुने केन्द्रीय परिषद् सदस्य भट्टराईले बताए । ‘अर्को वर्ष हुने महाधिवेशनबाट मात्रै पदाधिकारी निर्वाचित हुनेछन्, अहिलेलाई हामी सबै अभियन्ता हौं,’ उनले जनाए । नयाँ शक्तिले पार्टी संगठन विस्तारको नयाँ रणनीति समेत बनाएको छ । त्यसअन्तर्गत हरेक व्यक्तिका नाममा सम्बोधन गरिएको ५ लाख चिठी पठाउने तयारी गरेको, त्यसमा संयोजक भटराईले हस्ताक्षर गर्ने जानकारी समेत पार्टीले दिएको छ । नयाँ शक्तिले यसै सभामार्फत आर्थिक कार्यभार सम्हाल्ने गरी लोकपाल समूह समेत घोषणा हुने नयाँ शक्तिसम्बद्ध नेताहरूले बताएका छन् । कुल केन्द्रीय सदस्यको एक तिहाइ संख्याको सचिवालय बनाउने संयोजक भट्टराईले तयारी थालिसकेका छन् ।
हाल कम्युनिस्ट, गैरकम्युनिस्ट पार्टीहरूले महाधिवेशन उद्घाटनपछि गर्दै आएको बन्दसत्रलाई नयाँ शक्तिले स्टालिनकालीन शैलीको भएको भन्दै अब छलफल सत्र गर्ने दाबी गरेको छ । जिल्लाजिल्लामा आफ्नै दलको कार्यक्रममा जाँदा आफैं प्रमुख अतिथि भएर माला लगाउँदै जाने, मञ्चमा अरूभन्दा भिन्नै देखिने गरी बस्ने चलन तोड्ने योजना समेत नयाँ शक्तिको छ । नयाँ शक्तिले पार्टी प्रचारप्रसारका लागि अत्यन्तै खर्चालु रणनीति बनाउँदै गरेका बेला दलको आर्थिक स्रोत कहाँबाट आयो भनी प्रश्न समेत सामाजिक सञ्जालतिर उठ्न थालेको छ । दलका नेताहरूले भने स्वैच्छिक चन्दाबाट सहयोग रकम आएको बताउँदै आएका छन् ।
आइतबार हुने पार्टी घोषणा सभामा सहभागी हुन नयाँ शक्तिले सबै ठूला–साना दललाई निम्तो पठाइसकेको छ । सञ्चारकर्मी, मानवअधिकारवादी, नागरिक अगुवासमेत आमन्त्रित छन् । काठमाडौंका सिनेमा हलमा बाबुराम भट्टराईले मोडलिङ गरेको विज्ञापन सिनेमाअघि देखाउन थालिएको छ । त्यहाँ उनको भिडियो र स्केच अंकित ‘समृद्धि सम्भव छ हाम्रै पालामा’ भन्ने सन्देश उल्लेख छ । संविधानसभाभित्र राजनीतिक संवाद तथा सहमति समिति सभापति रहेका पूर्वप्रधानमन्त्री भट्टराईले संविधान जारी भएको ६ दिनपछि गत वर्ष असोज ९ गते माओवादी पार्टी तथा सांसद पद परित्याग गर्दै नयाँ शक्ति घोषणा गरेका थिए ।@ ekantiour