यसरी ध्वस्त हुँदैछ रसुवामा कांग्रेस – फुर्पा तामाङ

देशको राजनीतिमा सबैभन्दा ठूलो दलको हैसियतमा रहेको नेपाली कांग्रेस रसुवा जिल्लामा भने तेस्रो स्थानमा छ । यो आँकडा दोस्रो संविधानसभा निर्वाचनको परिणाममा आधारित हो । यसबीच धेरै कार्यकर्ताहरू अन्य दलमा प्रवेश भइरहेको खबरले यो आँकडा अझ खस्किएको हुनसक्ने अनुमान गर्न सकिन्छ । किनभने यतिखेर जिल्लामा कांग्रेसको कुनै कार्यक्रम सञ्चालनमा छैनन् । नेकपा एमाले, माओवादी र नयाँ शक्तिले गाउँ अभियानलाई तीव्रता दिइरहेका छन् । जसले गर्दा कांग्रेस समर्थकहरू ती दलहरूमा प्रवेश भइरहेको खबर आएका छन् ।
कांग्रेसले किन जनमत तयार गर्न सकेन त ?
क. प्रशिक्षणको अभाव :कांग्रेसले आफूलाई प्रजातान्त्रिक र पुरानो दल भन्दै आएको छ । यो दाबी सत्य पनि हो । तर यो कुरा ग्रामीण तहका जनता र कार्यकर्ताले बुझेकै छैनन् । तिनीहरूले बुझ्न नसक्नुको कारण नेतृत्वले बुझाउन नसक्नुले हो । विना प्रशिक्षण पार्टी सञ्चालन गर्ने शैलीले गर्दा नयाँ कार्यकर्ता आकर्षित हुन सकिरहेका छैनन् भने पुराना सदस्य र कार्यकर्ताहरूले पार्टी परित्याग गरिरहेका छन् । उसो त कांग्रेसको गाउँ एकाइदेखि जिल्लास्तरीय नेताहरू उमेरको हिसाबले वृद्ध, वैचारिक हिसाबले पुनरताजगीको अभाव र संगठनको हिसाबले कोठे राजनीतिले गर्दा युवाहरूमा नेपाली कांग्रेसप्रति आकर्षण कम भएको देखिन्छ । सुरुकै दिनदेखि बुझेर यो पार्टीमा लागेका नेता कार्याकर्ताभन्दा पनि गाउँघरमा आफूलाई मन नपर्ने व्यक्ति अन्य दलमा भएका कारण बाध्यताले कांग्रेस बनेकाहरू धेरै छन् । जसले गर्दा कार्यकर्तामा कांग्रेसको दर्शन र सिद्धान्तबारे यथेष्ट ज्ञान देखिँदैन । दर्शन र सिद्धान्तबारे ज्ञान नहुँदा वैचारिक हिसाबले कांग्रेसमा असाध्यै कमजोर नेता–कार्यकर्ता छन् । त्यसैले जिल्लामा जनाधार क्रमशः खस्कँदै गएको हो ।
ख. निषेध र धोकेवाज राजनीतिक व्यवहार :हुन त हरेक दलमा नेतृत्व प्राप्तिका लागि अन्तरपार्टी संघर्ष हुन्छ । तर रसुवा जिल्लाको सन्दर्भमा अरु पार्टीको भन्दा कांग्रेसमा बढी नै धोकाधडी र निषेधको राजनीति हुँदै आएको पाइन्छ । विशेषगरी अधिवेशनको बेला नेतृत्वमा जानको लागि हुने अन्तरपार्टी प्रतिस्पर्धालाई पनि विपक्षी दलसँगको प्रतिस्पर्धालाई झैं लिएर गरिने राजनीतिक व्यवहार डरलाग्दो छ । यो रिस संसदीय र स्थानीय निर्वाचनका बेला उम्मेदवारको टिकट सिफारिस गर्नेदेखि टिकट प्राप्तिसम्म मात्र होइन, त्यसपछि निर्वाचनमा पनि देखिन सक्छ । अरु पार्टीका उम्मेदवारसँग चुनावी मैदानमा उत्रिँदा आफ्नो उम्मेदवारलाई नै हराउन नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरू लागिपरेको, धोका दिएको र विपक्षीलाई जिताउन पैसा लिने मात्र नभएर खर्चसमेत दिएको आरोप लाग्दै आएको छ । २०५६ सालमा डीबी लामा उम्मेदवार भएको अवस्थामा बाहेक रसुवा कांग्रेसमा यो रोग स्थायी बनेको छ ।
उदाहरणका लागि १२औं महाधिवेशनका लागि भएको जिल्ला अधिवेशनमा उपेन्द्र लम्साल सभापतिको उम्मेदवार बनेर हारेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारका लागि उनको नाम सिफारिस गरिएन । जिल्लाबाट सभापति लामाकर्पु तामाङले प्रत्यक्षतर्फको उम्मेदवारमा आफ्नो मात्र नाम सिफारिस गरेर केन्द्रमा पठाए । समानुपातिकतर्फ कसैको नाम सिफारिस गरेर पठाउन सभापतिले मानेनन् । ठूलो संघर्षबाट प्राप्त भएको समावेशी समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई एउटा प्रजातान्त्रिक दलको नेतृत्वले नै उपहास गरिदियो । निषेधको राजनीतिले गर्दा संगठन विस्तारमा कमजोरी भयो ।
ग. पैसा र मुढेबल हावी :पहिलो र दोस्रो संविधानसभा चुनावको मात्र होइन, १३औं महाधिवेशनका लागि जिल्ला अधिवेशनमा भएको खर्चलाई हेर्दा अब पैसा नहुने र बल नभएकाहरूले कांग्रेसमा बसेर राजनीति नगरे हुने रहेछ भनेर धेरैले विश्लेषण गरेका छन् । आन्तरिक चुनावमा समेत आफ्नै पार्टीका साथी–भाइबीच कुटाकुट हुन्छ । ज्यान जोगाउनै मुस्किल हुन्छ । अधिवेशनमा हार्ने पक्षको ३० लाखभन्दा बढी र जित्ने पक्षको करोडौं खर्च भएको अनुमान छ । सयौं युवालाई महिनौं गाडीमा र मोटरसाइकलमा ओसार–पसार, खाने, बस्ने र मोबाइल रिचार्जको व्यवस्था गरिदिनुपर्ने । यस्तो स्थितिमा विचार, आस्था, दर्शन र सिद्धान्तमा प्रस्ट भएको सक्षम तथा इमान्दार व्यक्ति कसरी चुनिएला ? यसरी चुनिएकाले इमान्दार भएर समाज र देशको लागि कसरी राजनीति गर्ला ? यसकारण धेरै कार्यकर्ताहरू कांग्रेसको चुनावी माहोलबाट त्रसित भई या त तटस्थ बस्न चाहन्छन् या पलायन । अनि पार्टी कसरी बलियो हुन्छ ? कमजोर पार्टीमा बलियो आस्था भएकाबाहेक को टिकिरहन सक्छ ?
घ. निष्कर्ष :रसुवा जिल्लामा कांग्रेसको भविष्य १३औं महाधिवेशनपछि थप अँध्यारोतर्फ धकेलिएको छ । मुस्किलले अधिवेशनमा एउटा पक्षले जितेको अवस्थालाई तत्काल सुधार गर्नसक्ने देखिन्न । किनभने विजय भएको समूहले १२औं महाधिवेशनदेखि नै हार्ने समूहलाई निषेधको राजनीतिक व्यवहार गर्दै आएको थियो । गत माघमा जिल्ला अधिवेशन सम्पन्न भएदेखि हालसम्म कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रममार्फत पार्टीमा चुनाव हारेका पक्षलाई समेटेर अघि बढ्ने संकेतसम्म देखिएको छैन । अर्काेतर्फ पहिलो स्थानमा रहेको एमालेका दुईजना सांसद गाउँ अधिवेशन गर्दै घरदैलो कार्यक्रम गरेर मतदाताको मन जित्ने अभियानमा देखिन्छन् । माओवादी पनि गाउँगाउँमा अधिवेशन गर्दै हिँडिरहेको छ । नयाँ शक्ति १८ गाविसमै संगठन विस्तार गरेर आक्रामक ढंगले अघि बढिरहेको देखिन्छ । कांग्रेसको दुई समूहमध्ये अधिवेशनमा जित्ने पक्ष गमक्क परेर बसेको छ । ऊ घमण्डले फुलेको छ । हार्ने समूह भने जित्ने समूह अब कसरी अघि बढ्छ ? त्यो हेरेर बसिरहेको छ । के यस्तो स्थितिमा कांग्रेसको राजनीतिक भविष्य उज्यालो भन्न सकिएला त ?