बुद्ध जयन्ती कार्यक्रममा तामाङ समाज यूएईको २ लाख २२ हजार बिधालयलाई सहयोग घोषणा

सनिल घिसिङ तामाङ , ४ जुन २०१६ | तामाङ समाज यूएई अबुधाबी क्षेत्रीय समितिद्धारा आयोजित २५६० औं बुद्ध जयन्ती समारोह हिजो अबुधाबीमा भब्यताका साथ सम्पन्न भएको छ ।
यूएईका बिभिन्न शहरहरूबाट आएका बौद्ध धर्मावलम्बीहरूको बाक्लो उपस्थिति रहेको कार्यक्रमलाई लामा गुरू कोङचोक डेलेकद्धारा बौद्ध परम्परा अनुसार मोलम पुजा-पाठ, बौद्ध ज्ञान तथा खादाको महत्व सम्बन्धि प्रवचन दिई शुरू गर्नुभएको थियो । कार्यक्रममा उपस्थित तीर्थालुहरूले भगवान गौतम बुद्धको मुर्तिमा पुजा गर्दै बिश्व शान्ति तथा मानब कल्याणका लागि प्रार्थना गरेका थिए ।
औपचारिक समारोहको सभापतिमा तामाङ समाज यूएई अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष शुक्रबीर रूम्बा, प्रमुख अतिथिमा नेपाल आदिबासी जनजाति महासंघ यूएईका अध्यक्ष डि.आर गरूङ, बिशेष अतिथिमा समाजसेबी कमल तामाङ त्यस्तै अर्को बिशेष अतिथिमा तामाङ समाज यूएईका केन्द्रिय अध्यक्ष महेश मोक्तान, अतिथिहरूमा जनसम्पर्क मन्च यूएईका महामन्त्री तथा समाजसेबी बिमल पाख्रिन, यूएईमा रियल ईस्टेट बिज्नेस संचालिका सिमरन क्षेत्री लगायत तामाङ समाज यूएईका केन्द्रिय कार्यसमितिका पदाधिकारीहरू, बिभिन्न क्षेत्रीय समितिका प्रमुखहरू र भुतपूर्ब पदाधिकारीहरू अतिथिका रूपमा उपस्थिति रहेको कार्यक्रममा आमन्त्रित अतिथिहरूले बौद्ध ज्ञान र भगबान गौतम बुद्धको उपदेशहरूको चर्चा गरेका थिए । धार्मिक पुजा-पाठ तथा प्रार्थना सभा, धार्मिक प्रवचन र मन्तब्यहरू समापन भए लगतै उपस्थित पाहुनाहरू लगायत दर्शकहरूका लागि दिवा-भोजको ब्यबस्था गरेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा तामाङ समाज यूएईका केन्द्रिय महासचिब सनिल घिसिङ लामाले तामाङ समाज यूएई र सपोर्ट माई स्कूल कार्यक्रमका सम्बन्धमा प्रोजेक्टर मार्फट प्रस्तुति देखाएका थिए । यसै क्रममा तामाङ समाज यूएईले २०१५ मा गरेको उल्लेखनीय कार्यहरू, उपचार सहयोग, मानबीय उद्धार, आर्थिक सहयोग, यूएई तथा नेपालमा बिभिन्न रोगहरूबाट ग्रसित बिरामी तामाङ दाजुभाई तथा दिदीबहिनीहरूको उद्धार तथा उपचार सहयोग र महाभुकम्प उद्धार तथा राहत सहयोग स्वरूप २०१५ सालमा ११ लाख, २५ हजार, ३ सय ४७ रूपैया सहयोग भएको बिस्तृत बिबरणहरू पेश गरेको थियो । त्यस्तै सपोर्ट माई स्कूल सहयोग कार्यक्रम अन्तर्गत भुकम्प पिडित बिधालयहरूबाट प्राप्त निबेदनहरूको आधारमा श्री सातकन्या प्राथमिक बिधालय थाङपालकोट – ०८, चिलाउने, सिन्धुपाल्चोकलाई सपोर्ट माई स्कूल २०१५ बापत १ लाख, ११ हजार, १ सय ११ रूपैया र श्री दुप्चेश्वरी निम्न माध्यमिक बिधालय सरमथली – ०६, रसुवालाई सपोर्ट माई स्कूल २०१६ बापत १ लाख, ११ हजार, १ सय ११ रूपैया सहयोग गरिने समाजका केन्द्रिय अध्यक्ष महेश मोक्तानले कार्यक्रममा उद्घोष गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा तामाङ समाज यूएईका सदस्यहरूले तामाङ गीत तथा नृत्यहरू प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई मनोरन्जन गराएका थिए । कार्यक्रमलाई तामाङ समाज यूएई अबुधाबी क्षेत्रीय समितिका सचिब दिल्लीराम तामाङले संचालन गर्नुभएको थियो ।