विदेशको कमाईले घरवारी जोडियो, परिवार विग्रियो

जेठ २१ – चारधुर जग्गा, त्यही जग्गाामा टिनको छानो भएको २ कोठे घर । नवलपरासीको कावासोती ९ वोटेनीटोलकी आइतीमाया परियारले २ पटक विदेश गएर जोडेको सम्पत्ति हो यो । दुई पटक विदेश गएर बचाएको पैसाले किनेको ४ धुर जग्गामा २ कोठे घर भन्दा अरु केहि अटेन ।
विदेशको कमाईले बारी किनेर घर त बनाउनुभयो तर उमारेर खाने ठाउँ छैन । त्यसैले अहिले दिनभरी मजदुरी नगरे विहान बेलुका हातमुख जोड्न सकिँदैन । यस्तै अवस्था थियो ७ वर्ष अघि पनि । घरमा खान लाउन र छोराछोरी पढाउन धौ–धौ भएपछि आइतीमाया परियार साउदी जानुभयो । साउदीमा रहँद घरको काम गर्नुपर्थ्यो । भाँडा माझ्ने, कपडा धुने, घर सफा गर्ने र कपडामा आइरन लगाइदिने । छिमेकीलाई ३५ हजार रुपैयाँ बुझाएर साउदी पुगेकी आइतीमायाले ३ वर्ष बस्दा २ लाख जति कमाउनुभयो ।
कुवेतमा ३ वर्ष बस्दा ३ लाख
२ लाख बोकेर घर फर्किएकी उहाँको डेढ वर्षमा सबै पैसा सकियो । अनि उहाँ फेरि कुवेततिर उड्नुभयो । कुवेतमा पनि काम सजिलै पर्यो । ‘एउटा घरमा चार जना थियौं मिलेर काम गनुपर्थ्यो एकजनाले खाना पकाउने एकजना सरसफाईको काम गर्ने एकजना कपडाकोलगायत घरमा आईपरेको काम गर्थ्यौं’ कुवेतको काम सजिलै भएको सुनाउँदै हुनुहुन्थ्यो आइतीमायाले ।
कुवेतमा ३ वर्ष बस्दा ३ लाख रुपैयाँ जम्मा भयो अनि उहाँ घर फर्किनुभयो । कुवेतको कमाईले आइतीमायाको जीवन केहि सहज जस्तै भयो । किनकी त्यही पैसाले पहिल्यैदेखिको ऋण पनि तिर्नुभयो, डेढ लाख रुपैयाँमा ४ धुर घडेरी पनि किन्नुभयो । ‘अनि बाँकी रहेको पैसाले यही घर बनाएँ’ आइतीमायाले जस्ताले छाएको दुई कोठे घरतिर देखाउँदै भन्नुभयो ।
एउटी छोरी पोइल, जेठो छोरो जोइल, कान्छो छोरो जेल
साउदी र कुवेत गएर घडेरी र घर जोडेपनि आइतीमायाको परिवार भने लथालिङग भएको छ । उहाँका १ छोरी र २ छोरा । छोरी आशाले आइतीमाया विदेशमै भएका बेला आफनै खुशीले विहे गरिन । ठुलो छोरोले पनि केटी भगाएर ल्यायो अनि ससुरालीमै बस्न थाल्यो ।
कान्छो छोरो चोरीको अभियोगमा जेल परेपछि भने आइतीमायालाई पीडा अझै थपियो । छोराछोरी आफू खुशी गरे । त्यसैले विदेश गएर कमाएको भन्दा पनि धेरै गुमाए जस्तो लागिरहेको छ । भन्नुहुन्छ ‘विदेश गएर कमाए जग्गा र घर गुमाए परिवार ।’
फेरि विदेश जान खोज्दा दलालको फन्दामा
परिवार त विग्रियो नै दिनभरी काम गर्दा पनि दैनिकी चलाउन मुस्किल पर्न थाल्यो आइतीमायालाई । मकै गोड्ने, धान रोप्ने काम गर्ने उहाँले महिनाको १५/१६ दिन काम पाउनुहुन्छ अनि दिनभरी काम गर्दाको ज्याला ४ सय । त्यसले विहान बेलुकाको छाक त टर्यो तर विरामी हुँदा उपचार खर्च जुटेन । त्यसैले विदेश जानुपर्ला भन्ने सोचिरहेकी आइतीमायालाई चितवन राधापुरमा रहेको माइतीको भाइले विदेश जान पनि सल्लाह दिए । अनि उनैले गाउँकै एजेण्टसम्म पनि लगिदिए ।
पहिलेको पासपोर्ट हस्तलिखित भएकाले काठमाडौं गएर एमआरपी पनि बनाउन पनि तिनै व्यक्तिले सहयोग गरे । तर तिनै एजेन्टले दुई पटक विदेश गएर फर्केकी आइतीमायालाई यो पटक ठगेका छन् । माइत गाउँका चिनेका व्यक्तिले विदेश पठाइदिन्छु भनेपछि उहाँले पासपोर्ट र नागरिकता त्यही व्यक्तिलाई जिम्मा लाउनुभयो तर अढाई वर्ष भइसक्दा पनि उसले न विदेश उडायो न त पासपोर्ट र नागरिकता नै फिर्ता दियो । ‘त्यति बेला त सजिलो हुने भयो भन्ने लागेको थियो’ आइतीमायाले भन्नुभयो ‘तर अहिले त समस्यामा पो परें ।’
माइतको छिमेकी भएकाले उहाँले पासपोर्ट र नागरिक लिएर फिर्ता नगर्ने एजेन्टविरुद्ध कतै उजुरी दिनुभएको छैन । ‘२/३ पटक त भने ल दिन्छु पनि भनेका थिए तर दिएका छैनन’ आइतीमाया भन्नुहुन्छ ‘अहिले त वास्ता गर्दैनन अनि फोन गर्दा फोन पनि उठाएका छैनन ।’ कतै उजुरी नगरेकी उहाँ पासपोर्ट र नागरिकता कसरी फिर्ता गर्न सकिन्छ भन्ने बुझन कावासोतीमा रहेको सुरक्षित आप्रवासन सुचना तथा परामर्श केन्द्रमा पुग्नुभएको छ । अब पनि पासपोर्ट र नागरिकता फिर्ता नदिए उजुरी दिने मनस्थितीमा पनि पुग्नुभएको छ । भन्नुहुन्छ ‘अब त ढिला भइसक्यो त्यसैले नागरिकता त लिएरै छाड्छु, दिए भने ठिकै छ दिएनन् भने उजुरी हाल्छु |
-प्रेम क्षेत्री/नवलपरासी /उज्यालोअनलाइन |