दरबार हत्याकाण्ड सम्बन्धमा टिप्पणी – प्राध्यापक कृष्ण खनाल

प्राध्यापक कृष्ण खनाल, राजनीतिक विश्लेषक
तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका सदस्यहरूको हत्या भएको १५ वर्ष पूरा भएको छ । यो दुर्घटना पुरानो हुँदै गए पनि यसले नेपाली समाजलाई तरंगित पार्न छाडेको छैन । यो हत्याकाण्ड कसरी भयो, किन भयो भन्ने विषयमा गरिएका अनुसन्धान अपूरा भएको मानिएकाले यसप्रति आममानिसको धारणा र चासो तीव्र भएको हो । यसमा एकातर्फ आमचासो त छँदैछ, अर्कातर्फ यसले राजनीति र सामाजिक जीवनमा पारेको प्रभाव पनि आश्चर्यलाग्दो छ । राजनीतिक विश्लेषकहरू नेपालमा दरबार हत्याकाण्ड नभएको भए नेपाली राजनीति अहिलेको डिस्कोर्समा हिँड्ने नै थिएन भन्ने मान्छन् । कतिपयले अहिले देखिएका अधिकांश राजनीतिक खेलाडी सतहमै नआउने विश्लेषण गर्छन् । के यो कुरा साँचो हो ? साप्ताहिकले चर्चित राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालसँग यस्तै प्रश्न सोधेको थियो । खनाल यस्ता विश्लेषक हुन्, जसले दरबार हत्याकाण्डपछि नेपाल बिस्तारै गणतन्त्रमा गएको आलेख बारम्बार लेखेका थिए । राजनीतिमा चासो राख्नेहरू उनका टिप्पणी गम्भीरतापूर्वक पढ्छन् । खनाल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्छन् ।
दरबार हत्याकाण्ड नभएको भए नेपालमा गणतन्त्र आउँदैनथ्यो भन्ने धारणा राख्नेहरूको संख्या ठूलो छ । तपाईं यो कुरा मान्नुहुन्छ ?
मैले मान्ने–नमान्नेभन्दा पनि यो प्रश्न नै गलत छ । सत्य कुरा के हो भने इतिहासमा यदि–तर जस्ता शब्द राखेर कुनै पनि विश्लेषण गरिँदैन, गर्न मिल्दैन । बरु दरबार हत्याकाण्डका कारण गणतन्त्र आउन कति सहयोग भयो भनेर विश्लेषण गर्न सकिन्छ । यो कुराबाट भने तथ्यको नजिक पुग्न मद्दत मिल्छ ।
त्यसो भए दरबार हत्याकाण्डले देशमा गणतन्त्र ल्याउन कत्तिको सहयोग गर्यो ?
दरबार हत्याकाण्डले देशमा गणतन्त्र आउन ठूलो भूमिका खेलेको हो । अथवा यसो भनौं, राजतन्त्र जानुमा जनताको भन्दा राजतन्त्रका सदस्यको बढी हात छ । पहिलो कुरा त उक्त काण्डमा राजा वीरेन्द्र र उनका सबै उत्तराधिकारीको ज्यान गयो । यसले उत्तराधिकारीको संकट पैदा गरिदियो । दोस्रो, जो उत्तराधिकारी छानिए, उनीमाथि नै दरबार हत्याकाण्डमा हात हुनसक्छ भनेर आममानिसले शंका गरिदिए । तेस्रो, ज्ञानेन्द्रपछिका उत्तराधिकारीलाई आमजनताले रुचाउँदैनथे । उनलाई युवराजधिराज तोकेपछि जनता भित्रभित्रै आक्रोशित भए । चौथो, ज्ञानेन्द्रले राजनीतिक दलको सहयोग नलिई एकलौटी रूपमा राज्य चलाउने प्रयास गरे । यसबाट चारैतिर आन्दोलनको वातावरण बन्यो । पाँचौं, राजनीतिक दलले आन्दोलनलाई उचाइमा पुर्याउन दरबार हत्याकाण्डलाई पनि मुद्दा बनाइदिए । यी सबै कारणले गणतन्त्रको वातावरण बन्दै गयो ।
२०५२ सालदेखि गणतन्त्रकै लागि लडेको माओवादीको जनयुद्धको नाम लिनुभएन नि ?
कुनै पनि कम्युनिस्टको राजनीतिक दर्शन गणतन्त्र हुनु स्वभाविक हो । त्यसमाथि माओवादीजस्तो राजनीतिक दलले गणतन्त्रको नारा दिएर जनयुद्ध सुरु गर्नु अनौठो होइन तर दरबार हत्याकाण्ड हुँदा एकतर्फ उनीहरू गणतन्त्रको नारा दिइरहेका थिए भने अर्कातर्फ धीरेन्द्रको सहयोग लिएर तत्कालीन राजा वीरेन्द्रसँग हातेमालो गरिरहेका थिए । त्यसैले माओवादीका कारण गणतन्त्र आयो भन्ने कुरामा म सहमत छैन । यसको अर्थ गणतन्त्र आउनुमा माओवादीको हात छँदै थिएन भन्ने होइन । यति मात्र हो कि मुख्य कारण माओवादी होइनन् । यो कुरा दरबार हत्याकाण्डपछि उनीहरूले दिएको स्टेटमेन्ट हेर्दा पनि थाहा हुन्छ । उनीहरूले दरबार हत्याकाण्डलाई ‘दोस्रो कोतपर्व’ बताए । यो भनाइको आशय दरबारसँग हामी मिल्न खोजेको देखेर वीरेन्द्रको वंशनास गराइयो भन्ने हो । अझ प्रचण्डले त राजा वीरेन्द्रसँग कार्यगत एकता भएको सम्म उल्लेख गरे । तथ्यहरूले पनि यही बताउँछ ।
१५ वर्ष पछाडि फर्किएर हेर्दा दरबार हत्याकाण्ड हुनुको कारण के–के देख्नुहुन्छ ?
सर्वसाधारणको जीवनमा आमाको ठूलो महत्व हुन्छ । आमाले जन्म दिएपछि दूध ख्वाउँछन्, माया दिन्छन् । उनीहरूबीच एउटा गम्भीर स्नेहको बन्धन बाँधिन्छ । दरबारमा त्यस्तो हुँदैन । उनीहरूलाई धाई आमाले दूध ख्वाउँछिन् । अर्की आमाले खानपिनदेखि सबै कुराको हेरचाह गरिदिन्छिन् । बालक बुझ्ने हुँदासम्म उसले जन्मदिने आमालाई चिनेको समेत हुँदैन । पछि चिनापर्ची गराइन्छ । चिनापर्ची पनि बुवा महाराज, मुमा महारानीका रूपमा । सुरुदेखि नै औपचारिक सम्बन्ध हुन्छ । यो एउटा कुरा भयो ।
दोस्रो कुरा, मान्छेलाई रिस उठ्छ, ईष्र्या लाग्छ र अनेक भावना मनमा आउँछ । त्यस्तो बेला अगाडि दाउराको चिर्पट छ भने त्यही चिर्पटले हिर्काउँछ । यस्तै घटनामा कतिपयको मृत्यु पनि हुन्छ । राजपरिवारको हातमा बन्दुक हुन्छ । रिसको बेला उसले बन्दुक चलाउँछ । दीपेन्द्रसँग सामान्य हतियार थिएन, स्वचालित मेसिनगन थियो । त्यसमाथि मात्तिएको अवस्थामा उनले आफ्ना औपचारिक सम्बन्ध मात्र भएका र आफूले खोजेको काम गर्न नदिने बाबा–आमामाथि रिस पोख्नु सामान्य थियो । त्यो रिस स्वचालित मेसिनगनद्वारा पोखियो । यस्तो परिवारमा संसारभरि नै यस्ता घटना घटेका छन् । आज पछाडि फर्केर हेर्दा दरबार हत्याकाण्डको यी दुई कारण देख्छु ।
कुनै षड्यन्त्र वा अरूद्वारा घटाइएको घटना हो भन्ने मान्नुहुन्न ?
बिल्कुलै मान्दिन । न यो अर्को कोतपर्व हो न त यसमा अरू कुनै बाह्य कारण नै जिम्मेवार छ । नितान्त पारिवारिक टसल्स र त्यसले निम्त्याएको विद्रोह हो ।
तर, मानिसले यसलाई षड्यन्त्र माने । बाँच्न सफल परिवारका अन्य सदस्यमाथि शंका गरे । यस विषयमा तपाईंको कुनै टिप्पणी छ ?
परिस्थितिले शंकाको वातावरण बनायो । राजपरिवार जनताभन्दा माथि छ, हामीभित्रको कुरामा अरुले चासो राख्नु नाजायज हो भन्ने भावनाले काम गर्यो । त्यत्रो हत्याकाण्ड भएपछि पनि मृतकको पोस्टमार्टम गरिएन । जनताले खोजेजस्तो छानबिन भएन । छानबिन समिति पनि झारा टार्ने हिसाबले गठन गरियो । त्यो समितिले वैज्ञानिक किसिमले छानबिन नै गर्न सकेन । मैले त्यसको रिपोर्ट पढ्ने मौका पाएको थिएँ । त्यो पढ्दा केवल बयानहरूको कलेक्सन जस्तो मात्र लाग्छ । हत्या भएका परिवारको कतिपय सम्पती आफैंले राख्ने काम पनि गरियो । यसले शंकामाथि शंका थप्ने काम गर्यो ।
लेखक तथा प्राध्यापकका नाताले तपाईंले उतिबेला गणतन्त्रको वकालत गर्नुभएको थियो, किन ?
इतिहास अध्ययन गर्ने सबैलाई के थाहा छ भने रणबहादुर शाहकै पालामा नेपालको राजवंशमा विचलन आइसकेको थियो । राजेन्द्र शाहले मधेसकी एक जना विधुवा बाहुनीलाई दरबार ल्याएका थिए । तिनै बाहुनीबाट जन्मिएका गिर्वाणलाई पालो मिचेर राजा बनाइयो । विवाहसमेत नगरिएकी विधवा महिलाबाट जन्मिएको बालकलाई राजा घोषणा गरिएको सबैलाई थाहा छ । त्यसपछि राजतन्त्रमा अनेक विचलन आयो । मजस्ता प्रजातान्त्रिक व्यक्तिलाई लोकतन्त्र र राजतन्त्र सँगै जान नसक्ने कुरा बोध हुन थालिसकेको थियो । यहि बोधका कारण मैले त्यो बेला गणतन्त्रको पक्षमा आवाज उठाएको हुँ । त्यसपछि त गणतन्त्रको लहर नै आउन थालिहाल्यो नि ।
तर, आज आएर आम जनतामा धेरै छोटे राजाहरूको तुलनामा राजतन्त्र नै ठीक थियो भन्ने महसुस हुन थालेको छ । यसमा तपाईंको धारणा के छ ?
म विद्यार्थी थिएँ । मेरो हजुरबुवा पञ्चायती व्यवस्थाको काम कुरा हेर्दा यो पञ्चायती व्यवस्थाभन्दा राणातन्त्र नै ठीक थियो भन्नुहुन्थ्यो । उहाँले पञ्चायतलाई गाली गर्नुको अर्थ फेरि राणाशासन ल्याउनुपर्छ भन्ने भावना थिएन । त्यसैगरी धेरैले बहुदलभन्दा पञ्चायती व्यवस्था ठीक भनेको सुनिन्थ्यो तर उहाँहरूले फेरि पञ्चायती व्यवस्था फर्काउनुपर्छ भनेर वकालत गर्नुभएको होइन । अहिले गणतन्त्रमा छोटे राजाहरूको क्रियाकलाप हेर्दा राजतन्त्रको प्रशंसा हुनु स्वभाविक हो । यसलाई राजतन्त्र फर्काउने चाहना हो भनेर बुझ्नु हुँदैन । कुरा के मात्र हो भने यो गणतन्त्रमा नेताहरूले जुन चरित्र देखाउनुपथ्र्याे, त्यो देखाउन नसकेको आक्रोश मात्र हो ।
तैपनि गणतन्त्र आएर आमजनतालाई के फरक पर्यो र ? आमजनताले यसैका लागि गणतन्त्र ल्याएका हुन् र ?
आन्दोलनमा जनसहभागिता बढाउन राजनीतिक दलले अनेकन सपना देखाउने चलन छ । २०६२–०६३ को आन्दोलनमा पनि त्यही भएको हो । वास्तवमा गणतन्त्र आएर सामान्य जनतालाई केही फरक पर्दैन । न त राजतन्त्र आएर उनीहरूलाई फाइदा हुन्छ । विकास–निर्माणको काममा कुनै पनि तन्त्रले फरक पार्दैन तर राजतन्त्र नहुँदा हिजो भैंसी चराउने यादवको छोरा देशको उपल्लो निकायमा पुगे । भोजपुरको साधारण घरमा जन्मिएकी एक जना महिला अहिले त्यहाँ पुगिन् । यसले देश सबैको हो र सामान्य मानिस पनि उसको क्षमता र कार्यदक्षताले उपल्लो स्थानमा पुग्न सक्छन् भन्ने कुरा इंगित गर्छ । यो देश सबैको हो भन्ने प्रतीक कुराको हो । लोकतन्त्र र गणतन्त्रले सबैलाई बराबर हक–अधिकार दिन्छ भन्ने संकेत हो । जन्मदै कोही श्री ५ हुने र कोही नागरिकसमेत नहुने अवस्था छैन भन्न खोजिएको हो । अर्को कुरा, गणतन्त्रमा नेताका सन्तानलाई पाल्नु पर्दैन । जबकि राजतन्त्रमा राजपरिवारका सबै सदस्यलाई पालन पोषण गर्ने मात्र होइन, उनीहरूलाई समेत अनेक औपचारिक सम्बोधन गर्नुपर्ने हुन्छ । गणतन्त्रले यी सबै कुराबाट मुक्ति दिएको छ ।