ट्रेड युनियन चुनावको विरोध र बचाउ

कर्मचारीहरुको ट्रेड युनियनको चुनावले कर्मचारीतन्त्रमा दलीय राजनीति झन् संस्थागत गरेको भन्दै चर्को आलोचना भइरहँदा मुख्य दलका नेताहरुले त्यसको बचाउ गरेका छन्।
विभिन्न चिरामा बाँडिएका कर्मचारीहरुको एउटा ट्रेड युनियन बन्नु सकारात्मक भएकोमा उनीहरुले जोड दिएका छन्।बुधबारको चुनावमा प्रमुख सत्तारुढ एमालेनिकट कर्मचारी संगठन पहिलो, नेपाली कांग्रेस सम्बद्ध संगठन दोश्रो र माओवादीनिकट संगठन तेश्रो भएका मतपरिणाम सार्वजनिक भएपछि खासगरी एमालेका नेताहरुले सामाजिक सञ्जालहरुमार्फत आफूनिकट संगठनलाई बधाइ र शुभकामना दिएका छन्।
एमाले महासचिव इश्वर पोखरेल कर्मचारीको ट्रेड युनियन चुनावले कर्मचारीतन्त्रमा राजनीति संस्थागत भएको मान्न तयार छैनन्।
बधाइ ‘स्वाभाविक’
उनी भन्छन्, “यो राजनीतिकरण होइन, कानुनसम्मत दर्ता भएका संगठनहरुबीच प्रतिस्पर्धा भयो, हामीनिकट संगठनले बर्चस्व कायम गर्यो, हामीले बधाइ दिनु स्वाभाविक हो।”
कर्मचारीतन्त्रलाई राजनीतिक हस्तक्षेपले पंगु बनाइदिएको भन्ने प्रशासनविद्को दृष्टिकोणप्रति राजनीतिकर्मीले बारम्बार सहमति जनाउने गर्छन् ।
नेपाली कांग्रेसका नेता बालकृष्ण खाँड त्यस्तो राजनीतिकरण बन्द गर्न नै कर्मचारीहरुको साझा ट्रेड युनियनको धारणा ल्याइएको बताउँछन् ।
उनले अहिलेको चुनावका आधारमा कर्मचारीतन्त्रमा दलीय प्रभाव अन्त्य गर्न चुनाव परिष्कृत गर्दै लग्नुपर्ने बताउँछन्।
‘दुर्भाग्यपूर्ण’
कर्मचारीहरुको पेशागत हकहितका लागि हुनुपर्नेमा बुधबार सम्पन्न चुनावमा दलीय प्रभाव बलियो रुपमा कायम रहेको देखिनु दुर्भाग्यपूर्ण ठान्छन् कर्मचारी सम्बन्धी थुप्रै अनुसन्धानहरु गरेका प्रशासनविद् डा मधुनिधि तिवारी।
उनी भन्छन्, “जनताका लागि सेवा दिनुपर्ने हो, त्यो नभएर आफ्नो समुहका पार्टीका मानिसलाई प्रोत्साहन दिने काम गर्नुहुन्नथ्यो, यो त राजनीतिकरण होइन पार्टीकरण भयो।”
नेपालमा भएका विभिन्न राजनीतिक आन्दोलनहरुमा सहभागिता जनाउँदा जनाउँदै कर्मचारीतन्त्रमा विभिन्न राजनीतिक दलनिकट संगठनहरुले आकार लिँदै गएको बताइन्छ।
त्यस्ता कर्मचारी संगठनहरु पेशागत भन्दा आफूनिकट दलका स्वार्थ प्रेरित काम कारवाही गर्ने हतियारका रुपमा प्रयोग हुन थालेको भन्दै चर्को आलोचना हुँदै आएको छ।
जनताका करमा चल्ने कर्मचारी तन्त्र निष्पक्ष र तटस्थ हुनुपर्ने बताइन्छ।त्यसैले राजनीतिक दलनिकट रहने गरेका त्यस्ता संगठन खारेज गर्नुपर्ने भन्ने माग उठ्दै आएको छ।तर दलनिकट संगठनकै नाममा मत माग्नु र कर्मचारी ट्रेड युनियन आफूहरुबीच बाँडचुँड गर्ने संस्था बनाइएको भन्दै पूर्व प्रशासकहरु एवं प्रशासनविद्हरुले तीब्र आलोचना गरेका छन्। – बीबीसी