लामाको भेषमा लाखौं नगद सहित सुनचाँदीका गहना ठगी
फिदिम :आफुलाई अवतारी लामा बताँउने एक व्यक्तिले पाँचथर सदरमुकाम फिदिमबाट लाखौं मुल्यको सुन र नगद ठगी गरेका छन ।
जेठ ४ गते फिदिम आइपुगेका काठमाण्डौ बौद्ध घर तर तेन्जिङ लामा नाम बताउने उनले फिदिम बजारका दिपक धमला,लाक्ष्मी स्याङवो र नाँंगीन ८ का रेञ्जि शेर्पा सहित १० जना ब्यक्तिवाट २० तोला अधिक सुन तथा १० लाख रुपैंया नगद ठगी गरेका हुन ।
फिदिम बजारका होटल व्यवसायी सुरज रुम्बाका अनुसार ती लामा जेठ ४ गते फिदिम स्थित उनको होटलमा आइपुगेका थिए । करिब दुईसाता फिदिम बसेका उनले स्थानीयवाट यत्तिका नगद र सामग्री लिएर सोमवार बेपत्ता भएका हुन ।
होटलमा आएर आफुले विभिन्न स्थानमा बौद्ध गुम्बा निर्माणमा सहयोग पु¥याएको,अवतारी लामा भएकाले जस्तोसुकै बिरामीलाई उपचार गर्न सक्ने र भविष्यवाणी गर्न सक्ने बताएपछि आफैंले पनि सेर्पा समुदायका व्यक्तिहरुसँग लामासँग भेट गर्न बोलाएको रुम्बा वताँउछन ।
फिदिम आएको केहिदिन पश्चात नाँगीन गाविस गएका उनले त्यहाँका सर्वसाधारणकोलाई भेला पारेर जोखाना हेर्दा धेरै कुरा पुगेपछि स्थानीयले केहिदिन फिदिममै वसेर सेवा गर्न भनेपछि उनी त्यसका लागि मञ्जुर भएको पनि रुम्बाको भनाई छ ।ठगिएकी लक्ष्मी स्याङवोका अनुसार उनले जोखाना हेराउन जानेहरुलाई पहिले भोगेका घट्नाको बृतान्त सुनाउँदै तपाँईका घरका फलानो समस्या रहेछ, तपाँईको फलानो सदस्यको मृत्यु भइसकेको रहेछ, तपाँईको बालबच्चा पैदा भएको रहेनछ,सँगै तपाँइका साथमा यो आकारको गहना रहेछ आदी भनेर घट्ना मिलाउने गरेका थिए ।
हेराउनेहरुलाई तपाँईलाई म निःशुल्क उपचार गरिदिन्छु,त्यस्का लागि तपाँईको घरमा रहेको गहना ल्याएर थानमा राख्नुपर्छ,त्यसपछि म पुजा गरिदिन्छु भन्दै सुन ल्याउन लगाउने गरेका थिए ।
“जोखानामा धेरै कुरा मिलेपछि साक्षात लामा जस्तो लागेर चारआना दरका २ वटा सिक्रि र साढेदुई तोलाको चुरो चढाएकी थिँए, सवै लिएर भागेछन ।”–मंगलवार साँझ जिल्ला प्रहरी कार्यालयमा जाहेरी लिएर पुगेकी उनले भनिन ।
ठगिमा परेका नाँगीन ८ का रिञ्जि सेर्पाका अनुसार लामाले फिदिममा बौद्ध गुम्बा निर्माणका लागि सहयोग गर्ने भन्दै स्थानीयलाई भेला गराएर एसबिआई बैंकमा खाता समेत खोल्न लगाएका छन ।
“फिदिममा यन्तेन नर्बुलिङ गुम्बा बनाउनुपर्छ, उक्त गुम्बाका लागि म तीनलाख रुपैंया सहयोग गर्छु, आज बिदेशवाट मानिसहरु आँउदैछन,उनीहरुलाई पनि सहयोग गर्न लगाँउनुपर्छ उनीहरुलाई रिसिभ गर्न बिर्तामोड जानुपर्छ भनेपछि म पनि सँगै गए,बिर्तामोड पुगेपछि हामीलाई दमक स्थित ओएचसिएचआर को कार्यालयमा बिदेशीहरु वसेका छन । तपाँईहरु रिसिभ गरेर आउनुहोस अनिसँगै फर्कौला भनेर हामीलाई दमक पठाए, दमक पुगेर फोन गर्दा उनले बिदेशीको भनेर दिएको बिदेशीको फोन नम्वर स्विच अफ थियो,त्यसपछि उनको नम्बरमा सम्पर्क गर्दा त्यो पनि स्विच अफ भन्यो,त्यसपछि बिर्तामोड फर्केर उनी बसेको होटलमा सोध्दा उनी त्यस अगावै कपडा फेरेर त्यहाँवाट भागिसकेको थाहा भयो ।” –रिञ्जिले बेलिविस्तार सुनाए ।
जेठ ४ गते फिदिम आइपुगेका उनी १७ गते सोमवार यसरी भागेको बताइएको छ । फिदिममा रहँदा उनले आफुमा भएको अलौकिक शक्ति नष्ट हुने भन्दै फोटो खिच्न समेत दिएका थिएनन । लामाको भेषमा आफुहरुलाई ठगी गरेको भन्दै मंगलवार पीडितहरुले प्रहरीमा जाहेरी दिएका छन । प्रहरी नायव उपरिक्षक कृष्णप्रसाद कोइरालाले घट्नाको छानबीन शुरु गरेको बताए ।