नेकपा (क्रान्तिकारी माओवादी) फुटको सङ्घारमा,थापा समुह एमाओवादी संग एकताको नजिक
काठमाडौँ, वैशाख २८ गते । नेकपा (क्रान्तिकारी माओवादी) फुटको सङ्घारमा पुगेको छ ।पार्टीका सङ्गठन विभाग प्रमुख रामबहादुर थापाको नेतृत्वमा उहाँको समूहको आज छुट्टै केन्द्रीय समितिको बैठक राखिएको हो ।
थापा समूहमा रहेका माओवादी प्रवक्ता पम्फा भुसालले पार्टीको नेवा राज्य कार्यालय, कुपण्डोलमा बैठक सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले एकीकृत नेकपा एमाअोवादी सँग एकताको आधारका विषयमा निर्णय लिने छ ।
पार्टी अध्यक्ष मोहन वैद्य, उपाध्यक्ष सिपी गजुरेल लगायतले नेता एमाओवादी सँग एकता प्रक्रियामा जान रुचि नदेखाएपछि थापाको नेतृत्वमा एकताका लागि छुट्टै तयारी गरिएको हो । दुवै समूहले आफ्नो पक्षमा बहुमत रहेको जिकिर गर्दै आएकामा आजको बैठकले त्यसलाई स्पष्ट पार्नेछ ।