आमा छोरीलाई कुटपिट तथा यौन दुव्र्यवहार गर्ने पक्राउ
खोटाङ, वैशाख २८ गते। होटलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीलाई कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा होटल सञ्चालकसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
दिक्तेलस्थित होटल शुभदिनमा काम गर्दै आएकी महिला र उनकी तीन वर्षीया छोरीलाई कुटपिट तथा यौन दुव्र्यवहार गरेको आरोपमा होटल सञ्चालक हरिप्रसाद आचार्य, प्रबन्ध निर्देशक दिलनारायण रिजालका छोरा कविराज रिजाल, श्रीमती कोपिलादेवी रिजाल र कामदार तिलक कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका हरिप्रसाद, कविराज र तिलकविरुद्ध मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइसकिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । कोपिलादेवीलाई भने सोधपुछका लागि नियन्त्रणमा लिइएको छ ।
मिलापत्रपछि पीडकविरुद्ध उजुरी नपर्दा अनुसन्धान थाल्न अप्ठ्यारो भएको प्रहरीले बताएपछि राष्ट्रिय मानव अधिकार आयोगको लिखित निर्देशनपछि उनीहरुलाई सोमबार राति पक्राउ गरिएको हो ।
आमाछोरीमाथि भएको दुव्र्यवहारको घटना सार्वजनिक भएको हप्ता दिनपछि वैशाख २३ गते बिहीबार मिलापत्र गराएर पीडितलाई थप पीडित बनाइएको भन्दै आयोगको निर्देशनमा आयोगको टोली र प्रहरीले संयुक्त रुपमा आमाछोरीलाई उद्धार गरेको थियो । होटलमा काम गर्ने आमाछोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यवहारका घटनालाई मिलापत्रमा टुङ्ग्याउने प्रयास भएपछि आयोगको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले दोषीमाथि कारबाही प्रक्रिया अघि बढाएको हो ।
मिलापत्र गराएर सोमबार राजधानी काठमाडौँ पठाउन लागिएको जानकारी पाएपछि प्रहरीलाई उद्धार गर्न आयोगले निर्देशन दिएको थियो । पीडितलाई अहिले जिल्ला प्रहरी कार्यालय खोटाङमा महिला प्रहरीको संरक्षणमा राखिएको छ ।
उद्धारपछि प्रहरी संरक्षणमा पु¥याइएका महिलाले दबाबमा मिलापत्र गराइएको भन्दै आरोपितविरुद्ध उजुरी दिएको प्रहरीले जनाएको छ । कुटपिट र यौन दुव्र्यवहारका घटनामा मिलापत्र गरेको तीन दिनपछि आयोगको निर्देशनमा आयोगकै टोली र प्रहरीले पीडितलाई उद्धार गरेर जिल्ला प्रहरी कार्यालयको संरक्षणमा लगिएको हो ।
घाउजाँच केश फारमका लागि पीडित महिलाले वैशाख २१ गते प्रहरीलाई दिएको निवेदनमा होटलमा काम सुरु गरेको महिना दिनदेखि नै हरिप्रसादले दुव्र्यवहार गर्न खोजेको उल्लेख गरिएको छ । रासस