‘हेलो नेपाल’ – प्रिया रानी लामा तामाङ (भिजे)

वर्षअघि धरानमा सम्पन्न मिस पूर्वाञ्चलमा फस्ट रनर्सअपको उपाधि जितेपछि मोडलिङमा सक्रिय प्रिया रानी लामा यतिबेला भिडियो जक्की (भिजे) का रूपमा स्थापित हुने क्रममा छिन् । प्रिया रानी नेपाल वान च्यानलबाट प्रसारण हुने विभिन्न चारवटा कार्यक्रममार्फत दर्शकमाझ पुगिरहेकी छिन् । उनी प्रत्येक साँझ ५ बजेदेखि प्रत्यक्ष प्रसारण हुने सांगीतिक कार्यक्रम ‘हेलो नेपाल’ मा प्राय: हरेक दिन नै प्रस्तुत भैरहेकी छिन् । दर्शकहरूसँग प्रत्यक्ष कुराकानी गर्दै उनीहरूकै रोजाइका नेपाली गीतका म्युजिक भिडियो प्रसारण हुने यो कार्यक्रमले आफूलाई दर्शकको नजिक पुर्याएको प्रिया रानीको बुझाइ छ ।
त्यसबाहेक उनी प्रत्येक आइतबार साँझ ६:३० बजेदेखि प्रसारण हुने चलचित्र क्षेत्रसँग सम्बन्धित कार्यक्रम ‘कलिउड स्क्रिन’ मार्फत दर्शकमाझ पुगिरहेकी छिन् । लामाले सञ्चालन गर्ने चलचित्रसम्बन्धी दोस्रो कार्यक्रम ‘सलाम कलिउड’ पनि दर्शकले मन पराएका छन् । त्यसबाहेक सोमबार राति ९:३० बजे प्रसारण हुने ‘फेसन मन्त्र’ कार्यक्रममार्फत उनी फेसन ट्ेरन्डका बारेमा चर्चा गर्छिन् । मिस नेपाल–२०१५ मा समेत प्रतिस्पर्धा गरेकी ५ फिट ६ इन्च अग्ली प्रियारानीलाई साप्ताहिककाको तीन प्रश्न :
टेलिभिजनमा कत्तिको रमाउनुभएको छ ?
टेलिभिजनमा कार्यक्रम प्रस्तुत गर्ने मेरो स्कुले जीवनदेखिकै रहर, चाहना तथा उदेश्य भएकाले म अहिले यो क्षेत्रमा इन्जोए गरिरहेकी छु ।
चार वटामध्ये कुन कार्यक्रमबाट बढी प्रतिक्रिया पाउनुभएको छ ?
‘हेलो नेपाल’ मा दर्शकसँग प्रत्यक्ष भेटघाट हुने भएकाले यसमा प्रशस्त प्रतिक्रिया पाउँछु । नेपालबाहिर खासगरी भारतमा बसोबास गर्ने नेपालीभाषी दर्शकहरूबाट धेरै राम्रा प्रतिक्रिया पाइरहेकी छु ।
अबको योजना के छ ?
म्युजिक भिडियोमा पनि सक्रिय छु । अहिले गरिरहेका कार्यक्रमलाई अझ स्तरीय बनाउँदै म्युजिक भिडियोको अभिनयलाई पनि निरन्तरता दिइरहनेछु ।
@kantipur weekly