‘पानीजहाजको उद्घाटन पनि यही ओलीले गर्छ’
बजेटबारे छलफल गर्न संसद भवन बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम र बजेटमार्फत आएका लोकप्रिय कार्यक्रमका कारण प्रतिपक्षले विरोध गर्ने ठाउँ नपाएको दाबी गरे ।
‘प्रतिपक्षले के मा विरोध गर्ने ? खालि कृत्रिम विरोध मात्रै हो,’ उनले भने, ‘संसदीय दलमा होस् कि प्रधानमन्त्री पदमा, मलाई भोट नहाल्नेलाई पनि किन हालिनछु भनेर बाडुल्ली लाग्छ भनेकै थिएँ, अहिले त्यही भएको छ ।’
हावाबाट बिजुलीदेखि पाइपलाइनबाटै ग्यास वितरणका योजना सार्वजनिक गरेका प्रधानमन्त्री ओलीले पछिल्लो पटक पानीजहाज खरिदलाई प्रतिष्ठाको विषय बनाएका छन् । ‘त्यत्तिका भूपरिवेष्टित राष्ट्रले सञ्चालन गरिरहेको पानीजहाज हामीले किन किन्न नहुने ?’ उनको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘पानीजहाजको उद्घाटन यही केपी ओलीले गर्छ । मिल्ने भए म तपाईंहरू सबैलाई (उद्घाटनमा) लैजाँन्थे ।’ पानीजहाज खरिदका लागि रकम नभए उधारोमा भए पनि किन्ने उनले बताए ।
महत्त्वाकांक्षाबिना कोही पनि सगरमाथा चढ्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिबारे आफ्ना अभिव्यक्तिलाई लिएर भइरहेको सार्वजनिक आलोचनाको कटाक्ष गरे ।