हेडलाईन

भोजपुर सेवा समाज इजरायलको छैठौ साधारणसभाबाट अध्यक्षमा सुमिन पाख्रिन तामाङ चयन         इजरायलमा २८ औ विश्व आदिवासी दिवस भव्यताको साथ मनाउने         इजरायलमा हरितालिका तिज मेघा महोत्सव २०७९ सांस्कृतिक कार्यक्रम हुदै         नेपाल मगर संघ शाखा इजरायलको अध्यक्षमा सुर्य बहादुर राना मगर चयन         प्रवासी नेपाली मंच इजरायलको अध्यक्षतामा ज्योती शर्मा चयन         इजरायलमा मङ्गोलियन हार्ट ब्याण्ड सहित लाइभ कन्सर्ट हुदै         ह्योल्मो समाज इजरायलको १६ औं बार्षिकोत्सव तथा नवौं साधारण सभा हुदै         इजरायलमा गठबन्धन सरकार ढल्यो, लापिड कामचलाउ प्रधानमन्त्री बन्ने         नेपाल आदिवासी जनजाति महासंघ इजरायलको अध्यक्षमा नानीमाया योन्जन तामाङ चयन         मातृभाषाको विकल्पमा ऐच्छिक विषय गणित, कम्प्युटर राखिएकोमा हटाउन माग         राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा राजकुमारी श्रेष्ठ चयन         प्रवासी नेपाली मंच इजरायलको दोश्रो अधिबेशन हुदै         इजरायलमा सिसेक्पा तङनाम ५०८२ सांगीतिक धमका कार्यक्रम हुदै         किराँत राई यायोख्खा इजरायलको अध्यक्षमा दिप कुमार थुलुङ् राई चयन         नेपाली समाज इजरायलको ऐतिहासिक तेस्रो स्थापना दिवस मनाउदै        

इतिहासमा कतै नलेखिएको : १८५० सालको तामाङ विद्रोह

nuwakot-tamang-mela

नुवाकोटमा भैरवी जात्राको स्थान महत्वपूर्ण छ । यो जात्रा चैत्र शुक्ल चतुदर्शीका दिनदेखि सुरु हुन्छ । जात्राका क्रममा चैत्र शुक्ल पूर्णिमाको दिन भैरवी देवीलाई खटमा राखी शहर परिक्रमा गराइन्छ । साततले दरबारमा धमिनीको सिन्दुर जात्रा गरिन्छ । यस्तै देवीको खटलाई धामी धमिनीसहित देवीघाट लगिन्छ । प्रतिपदाको दिन भोगबली गरिन्छ । भोलिपल्ट चैत्रकृष्ण द्वित्तीयाको दिन देवीको खट र धामी–धमिनीलाई देवीथानमा ल्याई सिन्दुर जात्रा गरी तलेजुमा लगिन्छ । अष्टमीको दिन लिंगो ढालेपछि जात्रा सकिन्छ ।

यस जात्राको राजकीय महत्वलाई स्पष्ट पार्ने केही ऐतिहासिक पत्रहरु शंकरमान राजवंशीले पुरातत्व विभागको मुखपत्र ‘प्राचीन नेपाल’ (संख्या ३ : पृष्ठ २७, २८ र २९) मा प्रकाशमा ल्याएका छन् । ती पत्रहरुले भैरवी जात्राको राजकीय महत्व र यसको प्राचीनतालाई स्पष्ट पार्छन् ।
पृथ्वीनारायण शाहले आफ्नो राज्यविस्तार अभियानअन्तरगत सबैभन्दा पहिले विक्रम सम्वत १८०१ असोज १५ गते नुवाकोट जिते । गोरखा राज्यमा गाभिनुअघि नुवाकोट कान्तिपुर राज्यको अधिनमा थियो । नुवाकोटमै रहेको भैरवी देवीलाई मल्ल राजाहरुले राजकीय महत्व दिएका थिए । यस देवीको जात्रामा मल्ल राजाका भाई छोराबाट पूजा संकल्प हुने गथ्र्यो । नुवाकोट आफ्नो अधिनमा पारिसकेपछि राजाकै नातेदारहरुबाट पूजा संकल्प गराउन पृथ्वीनारायण शाहले शाही ठकुरीहरुलाई नुवाकोट दरबारमा द्वारेको जागिर दिएका थिए । विक्रम सम्वत १८२५ वैशाख ६ गते बिहीबार पूजा संकल्प र त्यसका लागि जिम्मेवारी प्रदान गर्दै पृथ्वीनारायण शाहले जारी गरेको लालमोहरको मुख्य ब्यहोरा यस्तो छ :

आगे नैजराम मेदासी साहीके अघि नुवाकोटका देवी जात्रा र दसैंमा नेपाली राजाका भाइछोराले पूजाविधि संकल्प गर्नुपर्दोरहेछ. त्यसनिमित्त ञाहा वडा जोसीलाई हेराउँदा तुम्रो नाउँमा जुर्‍यो अब उप्रान्त तहाँका —१—का जात्रामा दसैंमा —२— षड्ग जात्रामा हामीले गर्नुपर्ने पूजाविधि संकल्प तिमिले गर्नु। तिम्रा शेषपछि तिम्रा सन्तानले गर्नु.

पृथ्वीनारायण शाहकी जेठी आमा रानी चन्द्रप्रभावति खाँची ठकुराईकी राजकन्या हुन् । जीवनको उत्तराद्र्धमा नरभुपाल शाह राजकाजमा उदासिन भई एउटा सुसारे केटो लिएर बन—बन घुमिहिड्न थालेपछि चन्द्रप्रभावतिले गोरखाको राजकाज सम्हाल्नुका साथै पृथ्वीनारायण शाहलाई राजपाठ सिकाएकी थिइन् । पृथ्वीनारायण शाहमा चन्द्रप्रभावतिको ठूलो प्रभाव थियो । नुवाकोट दरबारको जागिर पाउने नैजराम मेदासी शाही खाँचीकै हुनुपर्ने अनुमान राजवंशीले गरेका छन् ।

भैरवी जात्रामा धामीको काम गर्ने जिम्मा यहाँका डंगोलहरुले पाएका छन् । उनीहरुको यो जिम्मा पुस्तौनी हो । विक्रम सम्वत १८३१ आषाढ सुदि १० रोज २ मा पृथ्वीनारायण शाहले ग्यानदेउ (ज्ञानदेव) धामीलाई पूजाआजाका लागि लालमोहर दिएका थिए । यस्तै १८३२ चैत्र वदि ४ रोज ७मा प्रतापसिंह शाहले उनै ज्ञानदेवलाई भैरवीसम्बन्धी पजनीको अख्तियार दिएको लालमोहर महेशराज पन्तले पूर्णिमाको पूर्णाङ्क ७५ (पृष्ठ १७)मा ‘प्रतापसिंह शाहले ज्ञानदेव धामीलाई नुवाकोट–भैरवीसम्बन्धी पजनीको अख्तियार दिई गरिदिएको अहिलेसम्म प्रकाशमा नआएको पत्र’ शिर्षकमा प्रकाशित गरेका छन् । उनैको सन्तानले आजसम्म धामीको काम गर्दै आएका छन् ।

खट तान्ने तामाङ

भैरवी जात्रामा खट तान्ने र बोक्ने जिम्मेवारी लच्याङका तामाङहरुले सम्हाल्दै आएका छन् । भैरवी जात्रा आफैमा पुरानो हो । यसको एउटा हिस्सा प्राप्त तामाङहरुको पनि यस राजकीय अनुष्ठानमा महत्वपूर्ण भूमिका रहेको स्पष्ट हुन्छ ।

लच्याङको पुरानो र खास नाम ‘लछ्याङ’ हो । प्राचीनकालमा यहाँ लछ्य डोल्मो देवी उत्पति भएको स्थानीय जनश्रुति छ । यहीँबाट तिब्बतीहरुले लछ्य डोल्माको प्रतिमूर्ति तिब्बत लगेको पनि जनश्रुति पाइन्छ । ती तिब्बतीहरुले चेङ्रेसी अर्थात अवलोकेश्वरको मूति यहीँ छाडेका थिए । यही प्राचीन थलो लच्याङका तामाङहरु भैरवी जात्रामा खट बोक्छन्, लिंगोको ब्यवस्था गर्छन् । हरेक वर्ष १२ वटा चोयाको घुम, ६० रुपैयाँ र बोका शेराफाँटका भैरवी धामीलाई बुझाउनुपर्छ । भैरवी रथका लागि जाँड राख्ने र सात सय केजीको भारी बोक्ने काम पनि लच्याङका तामाङहरुले गर्नुपर्छ । यो दायित्व पृथ्वीनारायण शाहले आफूहरुलाई सुम्पिएको उनीहरुको मान्यता रहदै आएको छ ।

स्थानीय जनश्रुतिअनुसार यहाँ गोले राजा स्थानीय प्रशासक थिए, पृथ्वीनारायण शाहको हाताम नुवाकोट पर्नुभन्दाअघि । गोले राजा र रानी गोरखालीहरुको छलकपटबाट मारिए । गोले राजाको १२ गाउँको जिम्मा थियो । प्रत्येक गाउँबाट पाँच जनाको दरले १२ गाउँबाट ६० जना भैरवीको रथ तान्न जानुपर्ने आदेश पृथ्वीनारायण शाहबाट भएको जनश्रुति यहाँ रहेको छ ।

लच्याङमा तामाङ विद्रोह

राजा रणबहादुर शाहको पालामा लच्याङका तामाङहरुले निक्कै ठूलो विद्रोह गरेका थिए । यहाँ राज्यका तर्फबाट नरसंहार मच्चाइएको थियो । यस्तो घटना विक्रम सम्वत १८५० को जेठ महिनाको पहिलो साता र साउन महिना दोस्रो साता (१० गते) गरी दुई पटक भएको थियो । यस घटनामा हजारौ तामाङ बलिदान भएको तत्कालिन राजा रणबहादुर शाह स्वयम्को अभिब्यक्तिले नै पुष्टि गर्छ ।

यस डरलाग्दो घटना खुल्ने दुई ऐतिहासिक पत्र संशोधन मण्डलको प्रकाशन ‘पूर्णिमा’ले प्रकाशमा ल्याएको छ । ‘पूर्णिमा’को पूर्णाङ्क ६४ (पृष्ठ १,२ र ३)मा दिनेशराज पन्तले ‘श्री ५ रणबहादुर शाहले कालु पाँडेलाई वि.सं. १८५०मा लेखेको अप्रकाशित पत्र’ शिर्षकमा र महेशराज पन्तले पूर्णाङ्क ७५ (पृष्ठ १८) मा ‘विद्रोहपछि वि.सं. १८५०मा लच्याङ मुर्मीलाई थामिदिई गरिदिएको अहिलेसम्म प्रकाशमा नआएको पत्र’ शिर्षकमा ऐतिहासिक पत्र छापेर लच्याङको तामाङ विद्रोह र नरसंहारबारे प्रकाश पारेका छन् ।

यसरी लच्याङमा विद्रोह गर्दा काटिएकाहरुको सन्तानको घरबारी थामिदिएको लालमोहर त्यहाँका मुर्मी (तामाङ)हरुको नाममा रणबहादुर शाहले १८५० साल श्रावणशुदि २ रोज ४ मा मुकाम कान्तिपुरबाट जारी गरे । रणजीत पाँडेमार्फत् त्यहाँ पठाइएको पत्रको ब्यहोरा यस्तो छ :

श्री दुर्गाज्यू १
श्री भैरवि

स्वस्ति श्रीमन्हाराजाधिराज कस्य रुक्का……..

आगे. लच्याङका मुःर्वि प्रजापति. तिमीहरुका गाउंका उपध्राया.कुल् पस्ता तेस् हुल्मुल्मा जो साञिधुवा हुन् काटिया. उन्का. कविलालाई. आफ्ना आफ्ना जग्गामा बस भनि फिराइ बक्स्यैको छ. तिहमेरुको घरवारि. षेत. षोरिया. जो रह्याको आल्माल्. भागिगयाका जो छौ. आफ्ना घरबारिमा आई बस. धामिका मार्फत…..को टहल परापूर्वको रित गर. ईति संम्वत १८५० साल श्रावणशुदि २ रोज ४ मुकाम कांतिपुर. शुभम्

हजार तामाङको एकै चिहान

विक्रम सम्वत् १८५० अर्थात आजभन्दा दुई सय २३ वर्षअघि एक हजार जनसंख्या सानो होइन । त्यो बेलाको विद्रोहमा एक हजार जनाभन्दा बढि तामाङ काटिनु पर्‍यो । रणबहादुर शाहले कालु पाँडेलाई लेखेका एक पत्रमा यो प्रसँग स्पष्टसँग उल्लेख हुन पुगेछ । यो पत्र पाउने कालु पाँडे पृथ्वीनारायण शाहको समयका प्रशिद्ध सेनापति नभई अर्को कालु पाँडे हुन् । त्यसबेलाको विद्रोहमा निक्कै ठूलो थियो ।
जेठ महिना लाग्दैमा एक दुई जना तामाङले आफूलाई अवतारी हुँ भन्दै नालदुम (नगरकोट) पश्चिम र बेत्रावतिपूर्वका मानिसलाई भारनागल्यामा भेला गराए । उनीहरुसँग साँगाचोकमा लामाले विमति जनाएका कारण तिनको हत्या भयो । यो खबर पाएर त्यो विद्रोह दवाउन सरकारले दुई पल्टन सैनिक पठायो । केही तामाङलाई काटियो ।

फेरि त्यसको दुई महिनामा तामाङहरुले निक्कै ठूलो विद्रोह गरे । साउन १० गते शिखरबेसी, ताँवेसतार, नर्जा र कविलासका तामाङ भेला भए । उनीहरुले लुट मच्चाउन थालेको खबर सरकारलाई भयो । यो खबरपछि फौज पठाई एक हजार जनाको ज्यान लिने काम भयो । यो हत्याकाण्डमा गाउँका मिझार गौरुंका जहान परिवारलाई पनि काटिएको थियो । मिझार भनेको गाउँको जिम्मावाल ब्यक्ति हुन् । लिम्बूलाई किपट थाम्न सुब्बा दिएजस्तै तामाङलाई मिझार पद दिइन्थ्यो ।

त्यो समय विद्रोहको आधार धार्मिक हुन्थ्यो । लच्याङका तामाङहरुले पनि धार्मिक आधार लिएर विद्रोह गरेका थिए । जंगबहादुर राणाको समयमा विद्रोह गर्ने सुपति गुरुङ तथा लखन थापाले पनि धार्मिक आधार नै लिएको पाइन्छ ।

लच्याङको त्यो डरलाग्दो हत्याकाण्डको प्रसँग खुल्ने गरी तत्कालिन राजा रणबहादुर शाहले कालु पाँडेलाई पठाएको पत्रको सार यस्तो छ :

श्रीज्वाला १

स्वस्ति श्री गिरिराजचक्रमुडामणि नरनारायणेत्यादिविविधविरुदावलि विराजमानमानोन्नत श्रीमन्महाराजाधिराज श्रीश्रीश्रीमहाराजे रणबहादुरसाहबहादुरसम्सेर्जङ्गदेवानाम सदा समर विजयिनाम………….
स्वस्तिश्री राजभारासामर्थ श्रीकालु पांडेके सलामपूर्वक पत्र मिदम्……………………………

उप्रांत लाग्दै जेठमा १।२ मुर्मि प्रजाले औतारि हौं भनि नालदुम पश्चीम वेत्रावति पूर्वका प्रजा वटुलि भारनागल्यामा भेला भएछन्. इन्सँग नमिलन्या सांगाचोकका लामालाई मार्‍या भन्या षवर आयो र २ कंपनि पठाउंदा केहि काटिया. केहि भाग्याका थिया. फेरि साउनका १० जादा सिकव्र्यासी तांवेसतार नर्जा कविलास भोंट्या भेला भै घर पोलि लुट गर्‍यो भन्या खबर आयो. र फौज पठाई हजार मुर्मि साफ भया. गाउंल्याका कविला आफ्ना आफ्ना घरबारि राषि मिजार गौरुंका कवीला मासिया. देसको साहास पाईकन गर्‍याको रहेनछ. ई प्रजाका जाना मिलो छ्यागियाका रह्याछन्. सोहिमाफिक तंवि गरिउं……………………………………………..
ईति सम्वत १८५० साल मिती श्रावणशुदि ३ रोज ६. मोकाम कांतिपुर राजधानी शुभम्

यसरी राज्यबाट तामाङहरुमा नरसंहार मच्चाइयो । यो सामान्य विद्रोह थिएन । तर यति ठूलो घटना वा भइकन पनि इतिहासका पानामा यो प्रसंग त्यति उल्लेख भएको पाइँदैन । @ esamata






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2022: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution