चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ मार्फत बुद्धजन्मबारे भ्रम चिर्ने प्रयास

काठमाडौँ । नेपाल–अमेरिका ओहोरदोहोर गरिरहने एक नेपाली युवकले अमेरिकाको पुस्तकालयमा एउटा कुरा भेट्यो ।त्यहाँको पुस्तकमा लेखिएको थियो, “गौतमबुद्ध भारतको उत्तरतिरको एक ठाउँ लुम्बिनीमा जन्मिएका हुन् ।” त्यसपछि ऊ अमेरिकालगायत जति पनि ठाउँमा पुग्यो यही लेखिएको र बुझिएको पाइयो । त्यसपछि उसले एउटा अठोट गर्यो, “म बुद्ध नेपाल जन्मिएका हुन् भनेर प्रमाणित गरेरै छाड्छु ।”
ती युवक हुन् रमित ढुङ्गाना । उहाँको सो अठोट केही हदसम्म पूरा भइसकेको छ । नेपाली चलचित्र उद्योगका परिचित नायक तथा निर्माता ढुङ्गानाको चलचित्र ‘बुद्ध बर्न इन नेपाल’ प्रदर्शनमा आएको शुक्रबार दोस्रो हप्ता टेक्दैछ । ‘भगवान् बुद्ध भारतमा होइन नेपालमा जन्मिएका हुन्’, भन्ने सन्देश विश्वभर फैलाउने उद्देश्यले निर्माण गरिएको चलचित्र ढुङ्गानाको जीवन भोगाइसँग झन्डै मिल्दोजुल्दो छ ।
काठमाडौँमा जन्मे हुर्केको खानदानी तर आदर्श परिवारको एक अपरिपक्व युवक (कृष्णराम चापागाईं)लाई अमेरिका जाने भुत चढ्छ । अन्ततः उ पढ्नका लागि भनेर अमेरिका पुग्छ । परिवारको इच्छाविपरीत गएको उसले पढाइ खर्च धान्न तल्लो स्तरको काम गर्नुपर्छ । एकदिन कलेजमा हुने ‘प्रेजेन्टेसन’मा त्यहाँका सबै शिक्षक र विद्यार्थीले बुद्ध भारतमा जन्मिएका हुन् भन्ने कुरा किताब देखाएर प्रमाणसहित पेस गर्छन् । विदेश बसाइँबाट थोरै समयमा परिपक्व हुँदै राष्ट्रियता बुझेको युवकले अन्ततः विभिन्न प्रमाण पेस गर्दै त्यो गलत भ्रमलाई चिर्न सफल हुन्छ ।
हेर्दा वास्तविकझैँ लाग्ने चलचित्रले बुद्धसम्बन्धी भ्रम चिर्ने त छँदैछ । त्यसबाहेक ‘घर (देश) छोडेपछि मान्छे परिपक्व मात्र हुँदैन देशलाई माया गर्ने पनि हुन्छ’ भन्ने सन्देश यसले दिएको छ ।
ज्ञानेन्द्र देउजाको लेखन तथा निर्देशनमा बनेको चलचित्रको मुख्य भूमिका अर्थात् कृष्णराम चापागार्इंको भूमिकामा ढुङ्गाना स्वयम्ले अभिनय गर्नुभएको छ । माया–प्रितीका प्रसङ्गसमेत समेटिएको चलचित्रमा अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा, अमित ढुङ्गानालगायत केही अमेरिकी कलाकारले समेत अभिनय गरेका छन् । चलचित्रमा बाबु आमाको भूमिकालाई शाह र शर्माले पूर्ण न्याय गरेका छन् । ढुङ्गानाको अभिनय पनि चरित्रअनुसारकै छ ।
करिब रु दुई करोडको लगानीमा चलचित्र निर्माण गरिएको बताएका ढुङ्गानाले आफूले व्यावसायिकताको लागि चलचित्र नबनाएको स्पष्ट गर्नुभयो । “मैले पैसा कमाउँला भनेर चलचित्र बनाएकै होइन, मेरो उद्देश्य बुद्ध नेपालमा जन्मिएका रहेछन् भन्ने प्रमाण विश्वसामु प्रस्तुत गर्नु नै हो ।
चलचित्रलाई सबैले मनपराएबाट खुसी देखिएका उहाँले भन्नुभयो, “पहिले यो चलचित्र निर्माण गर्दा एक्लै थिए अहिले धेरैको साथ पाएको छु, त्यसमा पनि आनन्द दाइ (पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल)को पूर्ण साथ पाएको छु ।” मन्त्री पोखरेलकै पहलमा अहिले यो चलचित्र नेपालको राजदूतावास रहेका प्रत्येक देशमा प्रदर्शन गर्न त्यहाँस्थित नेपाली अधिकारीसँग पत्राचार भइरहेको ढुङ्गानाले जानकारी दिनुभयो ।
चलचित्र हेर्न हलसम्म गएका अधिकांश दर्शकले चलचित्रले राट्रियताको सम्बद्र्धन गरेको बताए । त्यसमध्ये एक हुनुहुन्थ्यो बौद्ध गुरु कर्म तान्पाई ग्याल्टेन । उहाँले भन्नुभयो, “म यो चलचित्रबाट धेरै प्रभावित भएँ । यसले नेपालको गौरव माथि पु¥याएको छ ।”
चलचित्र हेर्न आएका हङ्गेरीका नागरिक गोबोर हुस्जारले भने, “विश्वभरका जति पनि मानिसले यो चलचित्र हेर्छन् उनीहरुले बुद्ध नेपालमा जन्मिएका रहेछन् भन्ने थाहा पाउँछन् ।”
लुम्बिनी, काठमाडौँसँगै अमेरिकामा समेत छायाङ्कन गरिएको चलचित्र बुद्ध जयन्ती तथा बौद्ध सम्मेलनको अवसर पारेर गत बिहीबार पहिलोपटक प्रदर्शन गरिएको हो ।