मोरिन्हो म्यानचेष्टर युनाइटेडको प्रशिक्षक नियुक्त
जेठ १४ – इंग्लिस क्लव म्यानचेष्टर युनाइटेडले चेल्सीका पूर्व प्रशिक्षक जोसे मोरिन्होलाई प्रशिक्षक नियुक्त गरेको छ । लुइस भान गाललाई बर्खास्त गरेको म्यानचेष्टर युनाइटेडले मोरिन्होलाई सन् २०२० सम्मका लागि प्रशिक्षक नियुक्त गरेको हो ।
क्लवले शुक्रबार विज्ञप्ति निकाल्दै मोरिन्होसँग ३ वर्षे सम्झौता भएको घोषणा गरेको हो । ‘हामीलाई यो घोषणा गर्दा खुसी लागेको छ’ म्यानचेष्टर युनाइटेडले भनेको छ ‘जोसे मोरिन्हो हाम्रो नयाँ प्रशिक्षक नियुक्त भएका छन् ।’सन् २००३ देखि अहिलेसम्म प्रशिक्षकका रुपमा २ पटक च्याम्पियन्स लिग र एक पटक युइएफए कपसहित २२ वटा ट्रफी उचालेका मोरिन्हो चेल्सीबाट ६ महिनाअघि बर्खास्त भएका थिए । यो बिचमा उनले कुनै पनि सिजनमा उपाधिबाट वञ्चित हुनु परेको छैन । पोर्चुगलका ५३ वर्षे मोरिन्होसँग घरेलु क्लवसहित, इंग्ल्याण्ड, इटाली र स्पेनका क्लवमा प्रशिक्षक भएको अनुभव छ । ‘म्यानचेष्टर युनाइटेको प्रशिक्षक नियुक्त हुनु विशेष सम्मान हो’ क्लवसँगको सम्झौता पनि मोरिन्होले भने ‘यो क्लवका विश्वभर समर्थक छन् ।’
प्रतिद्वन्द्वीका रुपमा म्यानचेष्टरको घरेलु मैदानमा धेरै पटक आफ्नो टिम लिएर आएका उनले वल्ड ट्राफोर्डमा आफूले विषेश सम्मान पाएको पनि बताए । ‘यसले मेरो प्रशिक्षक जीवनमा धेरै सम्झनाहरु दिएको छ’ उनले भने ‘संयुक्त समर्थकहरुको बिचमा मैंले धेरै पटक खेल र समर्थनको आनन्द लिएको छु ।’