२५६० औं बुद्ध जयन्ती पुजा कार्यक्रम तथा बुद्धिष्ट सेन्टरको समुदघाटन समारोह सम्पन्न
लण्डन/देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन कार्यक्रम २१ मई २०१६ शानिबारका दिन भब्यताकासाथ सु-सम्पन्न लण्डनमा सम्पन्न भएको छ । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्म, बोधिलाभ (बुद्धत्व प्राप्ती) तथा महापरिनिर्वाण भएको पुण्य तिथी र २५६०औं बुद्ध जयन्तीको पावन अवसर पारेर फेल्थाम कम्युनिटि कलेजको स्पोर्टस हल, फेल्थाम, लन्डनमा आयोजित उक्त समुदघाटन कार्यक्रममा बिशाल बुद्ध जयन्ती पुजा पनि आयोजना गरिएको हो ।
२५६०औं बुद्ध जयन्ती विशेष पुजा संचालनका लागि नेपालबाट बेलायत आएका नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष एवं साँग्दो पालहरी, बौद्ध विधालय पोखरा गुम्बाका प्रमुख लामा श्रद्धेय पाल्देन योनजङ तामाङज्यु र देवाचन बुद्धिष्ट सेन्टरक संरक्षक लामा रिन्छेन दोर्जे लिङ्पा (धरम गुरुङ), लामा दिलबहादुर गुरुङ र लामा काजी गुरुङ लामाबाट संयुक्त रुपमा देवाचन बुद्धिष्ट सेन्टरको औपचारिक समुदघाटन कार्यक्रम सुरु हुनु अगावै विशेष पुजा पाठ संपन्न भएको हो । देवाचन बुद्धिष्ट सेन्टरका अध्यक्ष उदईबहादुर गुरुङ एमबिईको सभापतित्व र प्रमुख आतिथि संयुक्त अधिराज्य बेलायतका लागि कार्यबहाक नेपाली राजदूत महामहिम तेजबहादुर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथी हाउन्स्लोका नगर प्रमुख काउन्सिलर निसर मलिकले संयुक्त रुपमा देवाचन बुद्धिष्ट सेन्टर समुदघाटन समारोह ब्यानरको तुल लामा गुरुहरुको मंगल मन्त्र वाचनसँगै उघारेर औपचारिक समुदघाटन उदघोष गरेपछि अध्यक्ष उदईबहादुर गुरुङ एमबिई, माननीय रथ क्याडबरी एमपी र गैर आवसीय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरि औपचारिक कार्यक्रमको शुभारम्भ गरिएको थियो।
नेपाली समुदायको बाक्लो उपस्थिति रहेको कार्यक्रममा काउन्सिलर बिष्णुबहादुर गुरुङलगायत हाउन्स्लो वरपरका अन्य धेरैनै काउन्सिलरहरु पनि उपस्थित भएका थिए। यसैगरि कार्यक्रममा लण्डनस्थित केहि बेलायती हिन्दु, चाइनिज र श्रीलंकन समुदायका संघसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु र तमु समाज युकेका अध्यक्ष अर्जुनकुमार गुरुङ, तमु प्ये ल्हु संघ युकेका प्रमुख सल्लाहकार डेमबहादुर गुरुङ, यति नेपाली एसोसिएसनका अध्यक्ष उमेशराज मोक्तान, गोर्खा नेपालीज कम्युनिटी हाउन्स्लोका अध्यक्ष रामकुमार पोमु, गोर्खा जिल्ला गुरुङ समाज युकेका अध्यक्ष थमप्रसाद गुरुङ, तनहुँ नेपाली समाज युकेका अध्यक्ष लेखबहादुर गुरुङलगायत बेलायतका अन्य थुप्रै नेपाली संघसंस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु, संचारकर्मीहरूको उपस्थिति रहेको थियो।संस्थाका महासचिब श्रीमती लक्ष्मी गुरुङ र खाद्य संयोजक युवराज गरुङले संचालन गरेको कार्यक्रममा हेल्थ एण्ड सेप्टीबारे संस्थाका उपाध्यक्ष भीमबहादुर गुरुङ एमभिओले जानकारी गराएका थिए।
कार्यक्रममा अध्यक्ष उदईबहादुर गुरुङ एमबीईले स्वागत तथा धन्यवाद मन्तब्य राखेका थिए । मन्तब्य राख्ने क्रममा प्रमुख अतिथि बेलायतका लागि कार्यबाहक नेपाली राजदूत क्षेत्री, विशेष अतिथी नगरका प्रमुख काउन्सिलर निसर मलिक, माननीय रथ क्याडबरी एमपी, गैर अवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुक्षेत्र गुरुङ, तमु समाज युकेका अध्यक्ष अर्जुनकुमार गुरुङलगायत अन्य अतिथि बक्ताहरुले देवाचन बुद्धिष्ट सेन्टरको समुदघाटन कार्यक्रममा सरिक हुन पाउदा खुशी अनुभूत गरेको बताउँदै संस्थाको उत्तरोउत्तर प्रगतिको निम्ति शुभकामना दिएका थिए। बोल्ने क्रममा देवाचन बुद्धिष्ट सेन्टरको संरक्षक तथा प्रमुख लामा रिन्छेन दोर्जे लिङपाले पनि संस्थाको उदेश्य र भावि कार्ययोजनाको बारेमा विस्तृत जानकारी गराउँदै समाज सेवा, बौद्ध शिक्षा र दर्शनलाई जनमानसमा फैलाउन संस्थाको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा नेपालबाट आएका नेपाल तामाङ लामा घेदुङ संघका अध्यक्ष एवं साँग्दो पालहरी बौद्ध विद्यालय पोखरा गुम्बाका प्रमुख लामा पाल्देन योनजङ तामाङले बुद्ध जयन्ती, बुद्धको जीवनी, बुद्धको उपदेश, शिक्षा र दर्शनका बारेमा उपस्थित सबैलाई प्रवचन दिएका थिए । निशुल्क प्रवेश, निशुल्क खानापिनको ब्यबस्था गरिएको कार्यक्रममा थुप्रै शुभचिन्तकहरु, सदस्यहरु र भक्तजनहरुले स्वस्फुर्त रुपमा उदारभावबाट आर्थिक दान, भोजन दान, पेय पदार्थको दान तथा अन्य आवस्यक समाग्रीहरु दान गरि सहयोग गरेका थिए। कार्यक्रमका निम्ति आर्थिक सहयोग संकलनमा सल्लाहकार/ट्रष्टिज चित्रबहादुर गुरुङ, कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ, संरक्षक तथा प्रमुख लामा धरम गुरुङ, हाउन्स्लो नगरका पूर्ब उपमेयर तथा काउन्सिलर बिष्णु गुरुङ र आमा समूहको विशेष भूमिका रहेको थियो।आर्थिक दान सहयोग गर्नेहरुमा गोर्खा नेपलीज कम्युनिटि हाउन्स्लो र तमु समज युकेका सदस्यहरुको उल्लेख्य सहभागिता थियो। मध्यान्ह १२ बजे आरम्भ गरिएको कार्यक्रम साँझ ६ बजे सकिएको थियो।