सिमित देशले मात्र ओलम्पिकमा किन धेरै पदक जित्छन् ? – दिवाकरलाल अमात्य
जुनबेला ओलम्पिक र एसियन गेम्स जस्ता खेलकुदका महाकुम्भ नजिकिन थाल्छन्, त्यसबेला विभिन्न राष्ट्रहरूले हामी यसपटकको ओलम्पिकमा यतिवटा स्वर्ण पदक जित्न सक्छौं भनी पूर्वानुमान लगाउन थाल्छन् । ओलम्पिकमा विश्वका दुई सयभन्दा बढी देशले सहभागिता जनाउँदै आएका छन् । तर, सबै राष्ट्रले ओलम्पिक खेलमा समावेश सबै खेलमा सहभागिता जनाउँदैनन् । खेलकुदका केही पावर हाउस राष्ट्रहरू किन सधैं पदक तालिकामा सुरुदेखि दस स्थानमै आउँछन् ? यो एउटा विचारनीय प्रश्न हो ।
खेलकुदका विभिन्न देशका विद्वानहरू, पण्डित र अनुसन्धान विज्ञहरूले ओलम्पिकमा कुन राष्ट्रले कति पदक जित्छ भनी विभिन्न सूत्र र आधार प्रतिपादन गरेको पाइन्छ । केही खेलकुद विज्ञहरूले सन् १९६० देखि १९९६ सम्मको ओलम्पिक खेलहरू बढी पदक जित्ने आधारहरूमा त्यस देशको जनसंख्या, आर्थिक विकास र खेलकुदका पूर्वाधार अनि त्यस देशको खेलकुद संस्कृति रहेको भविष्यवाणी गरेका छन् । केही विद्वानले खेलकुदमा सामाजिक गतिशीलता र गरिबी न्यूनीकरण गरेको खण्डमा ओलम्पिकमा पदक जित्ने सम्भावना बढी हुने विचार व्यक्त गरेको पाइन्छ । तैपनि यी कुनै पनि सिद्धान्त शतप्रतिशत ठीक हँुदैनन् ।
विश्वको जनसंख्याको तुलनामा भारतको जनसंख्या छैटौंको एक खण्ड भए पनि पदक जित्ने सम्भावना न्यून छ । उदाहरणका लागि, सन् २००४ को ग्रिस ओलम्पिकमा भारतले एउटा मात्र पदक जित्न सफल भएको थियो । जबकि टर्की र थाइल्यान्ड जस्ता देशहरू जसको जनसंख्या भारतको तुलनामा क्रमशः दश गुणा कम र ५ प्रतिशत मात्र भए पनि दस र आठ गुणा बढी पदक जित्न सफल भएको पाइन्छ । जनसंख्याको अर्को एउटा रोचक प्रसंग यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । अस्ट्रेलियाले प्रति दसलाख जनसंख्याको २.४५ वटा पदक जितेको थियो भने क्युबाले प्रति दसलाख जनसंख्याको २.३९ वटा पदक जितेको पाइन्छ । यस मानेमा नेपालले पनि जनसंख्याको आधारमा केही पदक जित्नुपर्ने हो, तर हाम्रो देशले पदक नजित्नुका धेरै कारण छन् ।
हाम्रो देशका बहुसंख्यक युवालाई खेलकुद प्रतियोगितामा सहभागिता जनाउन आर्थिक क्षमता र अवसरै प्राप्त हुँदैनन् । उदाहरणका लागि, ललितपुर जिल्लाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हेरे हुन्छ । लेले भन्ने गाउँका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाउँदैनन्, कारण सदरमुकामसम्म आएर प्रतियोगितामा सहभागिता हुन बसभाडा, खाजा खर्च र लुगाजुत्ताको जोहो गर्न स्कुलसँग पैसै हुँदैन । राजधानीको सुगम गाउँको हालत यस्तो छ भने दुर्गम जिल्लाका विद्यालयका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन नसक्नुका कथा–व्यथा कस्तो होला ?
सरकारी तथ्यांकअनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा देशभरिका करिब पचहत्तर हजार विद्यार्थीहरू सहभागी हुन्छन् । तर के उनीहरूमध्ये केन्द्रसम्मको प्रतियोगितामा च्याम्पियन हुने र ओलम्पिकसम्म पुग्ने कुनै ग्यारेन्टी दिन कसैले सक्छ ? पचहत्तर हजार विद्यार्थीमध्ये कति प्रतिशत विद्यार्थीहरू ओलम्पिकसम्म पुग्ने क्षमतावान राख्न सक्छन् सक्दैनन्, कसैले समीक्षा गरेको पाइँदैन । दुर्गमका विद्यार्थीहरूको कुपोषणयुक्त बाल्यकालले पनि ओलम्पिकसम्म सहभागिता जनाउने निर्धारण हुन्छ । धेरै विद्यार्थीलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामबारे सूचना नै हुँदैन, जसका कारण क्षमतावान बहुसंख्यक विद्यार्थीहरू प्रतियोगितामा सहभागिताबाट वञ्चित हुन पुग्छन् ।
सूचनाकै कारण ओलम्पिकमा कसरी सफलता प्राप्त गर्न सकिँदो रहेछ भन्ने एउटा रोचक उदाहरण हेरौं । जमैका भन्नासाथ उसान बोल्टको देश भन्ने बुझिन्छ । त्यस देशको जनसंख्या करिब २७ लाख मात्रै छ । उक्त देशको जीडीपी ३९ सय अमेरिकी डलर मात्रै छ, जुन विश्वको सरदर (४७४३ डलर) भन्दा कमै छ ।
सन् १९९२ मा जमैकामा प्रतिहजार जनसंख्याका लागि चार सय ३० वटा रेडियो रहेछ, जबकि विश्वको सरदर दुई सय ५८ वटा रेडियो थियो । पोर्चुगल जमैकाभन्दा धनी (१४,७६१ डलर जीडीपी) भए पनि प्रतिहजार जनसंख्याको लागि मात्र दुई सय २९ वटा रेडियो मात्रै छन् । जमैकामा सूचना प्रणाली राम्रो भएकै कारण गएको चार ओलम्पिकमा सो देशले क्रमशः चार, ६, सात र पाँच स्वर्ण पदक प्राप्त गर्न सफल भएको हो ।
ओलम्पिकमा पदक जित्ने प्रमुख कारक तत्व उक्त देशको जीडीपी राष्ट्रिय आय भए पनि यो सम्पूर्ण कथा भने होइन । जुन देशले ओलम्पिक खेल आयोजना गर्दछ, सो देशले भविष्यवाणी गरेको भन्दा १ दशमलव ८ प्रतिशत बढी पदक जित्ने गरेको प्रमाण पाइन्छ ।
ओलम्पिक खेलमा पदक जित्न धेरै पक्षलेले काम गरेको हुन्छ । कुनै देशमा खेलकुदका पूर्वाधारहरू कति छन् ? सो देशमा कति प्रतिशत जनता खेलकुदमा सक्रिय संलग्न छन् ? त्यहाँको युनिभर्सिटीहरूले आफ्ना खेलाडीको बलियो र कमजोर पक्षबारे कस्तो अनुसन्धान गरेको छ ? प्रशिक्षकहरूको स्तर, देशभित्रैका खेलकुद प्रतियोगिताहरूको सञ्चालन कसरी भइरहेको छ ? लगायतका पक्षले खेलकुदमा निर्णायक भूमिका खेलेको पाइन्छ ।
(अमात्य खेलकुद अनुसन्धान विज्ञ हुन्)